‘ओ सजन’ बाट चलचित्रमा कमब्याक गर्दै पल शाह, निर्माताले बोर्डबाट लिए निर्माण इजाजत

काठमाडौँ । नाबालिग बलात्कारको आरोपमा हाल जिल्ला कारागार तनहुँमा रहेका अभिनेता पल शाहको मुख्य भूमिका रहने गरी चलचित्र ‘ओ सजन’ चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । राया फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रले विकास बोर्डबाट निर्माण इजाजत लिएको हो ।

उक्त इजाजतमा चलचित्रको लेखन एवं निर्देशकमा शिवम अधिकारीको नाम उल्लेख छ । पलका साथमा कविता राय र आर.एल.लामा मोक्तान मुख्य कलाकारका रूपमा रहनेछन् । पल र कविताले थारु गीत ‘ओ सजन’ र ‘ओ सजन २’मा सहकार्य गरेका थिए । सोही गीतको नाम सापटी लिएर चलचित्र निर्माण हुन लागेको हो ।

चलचित्र निर्माण गर्दा लाग्ने प्रस्तावित अवधि ३ वर्ष उल्लेख गरिएको छ । चलचित्रको कुल अनुमानित लागत १ करोड रुपैयाँ तोकिएको छ । पलविरुद्ध एक नाबालिग गायिकाले बलात्कारको उजुरी दिएकी थिइन् । तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै अढाई वर्षको जेल सजाय सुनाइसकेको छ ।

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । तनहुँ जिल्ला अदालतमा चाहिँ आगामी माघ ३ गतेलाई पेशी तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *