कांग्रेसले विश्वासको मत दिनु र मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुको कारण के ?

काठमाडौँ । प्रधानमन्त्रीको पदको लोभमा फसेर पाँच दलीय सत्ता गठबन्धनलाई त्यागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझ त्योभन्दा ठुलो गठबन्धनको गञ्जागोलमा फसेका छन् । सात दलीय अर्को गठबन्धन बनाएर १० पुसमा प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म उनले मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् ।

हुन त उनलाई प्रधानमन्त्रीमा विश्वासको मत दिन २६ पुसमा उनले भनेजस्तै ‘सिंगो संसद् हाउस’ नै खडा भयो । तर प्रधानमन्त्री भएको १९ दिनसम्ममा पनि न उनको मन्त्रीमण्डलले पूर्णता पाउन सक्यो न त शपथ खाएका ४ मन्त्रीले नै हालसम्म जिम्मेवारी पाउन सकेका छन् ।

नेपाली कांग्रेसले भाग खाेजेपछि मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको कतिपयको तर्क छ । अर्कातिर बलियो प्रतिपक्षीको भूमिकामा रहन्छौँ भनेर भन्दै हिँडेको उसले तेस्रो ठुलो दलमा अध्यक्षलाई प्रधानमन्त्री बनाउन सहयोग गरेपछि नेपालको राजनीति अस्थिरतातर्फ जाने हो कि भन्ने चिन्ता सर्वत्र छाउन थालेको छ । अनेक किसिमका समीकरणहरू निर्माण गर्ने र भत्काउने, सरकार बनाउने र गिराउने खेल फेरि मौलाउने हो कि भन्ने चिन्ता देखिन थालेको छ ।

राजनीतिक विश्लेषकहरू कांग्रेसले विश्वासको मत दिनु नै गठबन्धनमा भागबन्डा नमिल्नु भएको बताउँछन् । विश्लेषकहरू यो सरकार राष्ट्रिय सहमतिको जस्तो देखिए पनि सरकार अस्थिर हुने सरकार हुने तर्क गर्छन् । कांग्रेसले विश्वासको मत दिनु नै कांग्रेसले भाग खोज्नु भएको उनीहरूको भनाइ छ । यसले मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको उनीहरू बताउँछन् ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले हाल सरकारलाई विश्वासको मत दिने सबै दल मन्त्री हुन खोजेको स्पष्ट देखिएको बताए । उनले प्रचण्डले खोलेको आफ्नो ट्रयाकमा आफैँ फस्ने बताए । मकालुखबरसँग कुरा गर्दै उनले भने, ‘प्रचण्डजीले सबैलाई चित्त बुझाउने स्थिति छैन । किनकि सीमित मन्त्रालयहरू छन् । उहाँ आफूले खनेको ट्रयाकमा आफैँ पर्ने सम्भावना प्रबल छ । उहाँले आफूलाई समर्थन दिन दौडधुप गरेर शक्तिशाली बन्न खोज्नुभयो, तर अब सबैलाई समेटेर लान समस्या छ । यो कारण मन्त्रीमण्डल गठन गर्ने गाह्रो भएको छ ।’

कांग्रेसले पनि भाग खोजेको स्पष्ट देखिएका कारण प्रचण्डलाई मिलाउन सकस परेको उनले बताए । ‘कांग्रेसको दाबी भएको कुरा स्पष्ट रूपमा देखिन्छ,’ उनले भने, ‘कांग्रेसले प्रतिपक्षमा बस्छु भनेर कहाँ आधिकारिक घोषणा गरेको छ र ? खै त विज्ञप्ति ? खै त सबै नेताको एकात्मकता ? उनीहरू व्यक्ति व्यक्तिले बोलेको कुरा मात्र हो । खास भन्नुपर्दा कांग्रेसले पद खोजेर भित्रभित्रै बार्गेनिङ गरेको स्पष्ट देखिन्छ ।’

यो सरकारले दह्रो हुने सम्भावना कम रहेको र राष्ट्रिय विपत्तिको सरकार जस्तो देखिएको विश्लेषण गरे । ‘यो सरकार त प्रतिपक्षी बिनाको सरकार भयो,’ उनले भने, ‘यसले दह्रो काम गर्ला भन्ने छाँट छैन । जग नै कमजोर भयो । राष्ट्रिय विपत्तिको सरकार जस्तो देखिन्छ । प्रचण्डजी नबुझेको, नदेखेको होइन । उहाँले गर्न खोज्दा पनि यहाँ अवरोध आउने छन् । किनकि एउटा दुई वटा नभएर निर्वाचन जित्ने सबै दल नै सरकारमा गएको जस्तो देखियो ।’

उनले राजनीतिक अस्थिरता देखिएको समेत तर्क गरे । भने, ‘राजनीतिक अस्थिरबाट अझ अस्थिरतिर गयो । को कतिबेला सत्ता बाहिर र भित्र हुने हो टुङ्गो छैन ।’

अर्का राजनीतिक विश्लेषक सीके लालले कांग्रेसले दाहाललाई विश्वासको मत दिनु पदको आश गर्नु नै भएको तर्क गरेका छन् । उनले सरकार स्थिर नहुने चिन्ता उत्तिकै रहेको बताए । मकालुखबरसँग उनले भने, ‘यो सरकारको ताल हेर्दा धरे कुरा बुझिहालियो नि । कांग्रेसले दाहाललाई विश्वासको मत दिनु केही पदको लोप गर्नु नै हो । धेरै बोलिराख्नु पर्दैन । सरकारले मन्त्रीमण्डल विस्तार गर्ने गरिरहेको ढिलाइ र कठिनाइबाट नै यो कुरा थाहा हुन्छ । प्रचण्डजीलाई हामीले दुई पटक हेरेका छौँ । यो पटक तीन हुन्छ । तर उनलाई यो पटक सहज छैन ।’

संविधानविद् विपिन अधिकारीले कांग्रेस न सत्ता पक्ष न प्रतिपक्ष भएको बताए । कांग्रेसले संविधानले परिकल्पना गरेको जस्तो प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको उनले बताए ।

‘मत विभाजनमा सत्ता पट्टी उभिने हो कि विपक्षमा, दुई वटा मात्र विकल्प हुन्छन्,’ उनले भने, ‘संविधानमा प्रतिपक्ष विनाको सरकारको परिकल्पना गरिएको छैन । अहिलेको तरिका हेर्दा संसद्मा कोही पनि प्रतिपक्षमा नहुने अवस्था देखियो । संविधानको आशय यो होइन । संविधानमा सरकार निर्माणको प्रक्रिया हेर्दा सर्वसहमतीको सरकार, सहमतिको सरकार र प्रतिपक्षबिनाको सरकार परिकल्पना गरिएको छैन । यसरी हेर्दा कांग्रेसले संविधानको उद्देश्य पूरा गर्न सकेन । यसो गर्नु भन्दा त कांग्रेसले तपाईँहरूसँग स्पष्ट बहुमत छ, हामी भोटमा भाग लिँदैनौँ भएको भए वेश हुन्थ्यो । संसद्मा म आवश्यकता अनुसार दुवै पार्टीको हो भन्न मिल्दैन । कि देब्रे लाग्ने हो, कि दाहिने लाग्ने हो । यो कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह नै गर्न सकेन बरु तटस्थ बसेको भए हुन्थ्यो ।’ सत्ताका लागि कांग्रेस लोभी देखिएको उनको तर्क छ ।

यो पनि : मन्त्रीमण्डल विस्तारमा किन ढिलाइ, के कांग्रेसले भाग खोजेको हो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *