राप्रपाको भागमा ऊर्जा, पर्यटन र सहरी विकास : ऊर्जामन्त्री बन्ने लिङदेनकाे इच्छा

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले तीनवटा मन्त्रालय पाउने सम्भावना देखिएको छ । हालसम्मको भागवण्डामा राप्रपाले उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, पर्यटन मन्त्रालय र सहरी विकास मन्त्रालय पाउने बताइएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने राप्रपाले घोषणा गरिसकेको छ । स्रोतका अनुसार अध्यक्ष लिङ्देन उपप्रधान तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री बन्दै छन् ।

स्रोतले भन्यो, ‘हालसम्मको सल्लाहामा कुनै नाटकीय परिवर्तन भएन भने लिङ्देनलाई उपप्रधानमन्त्रीसँगै ऊर्जा मन्त्रालयको जिम्मेवारी तोकिने छ । हाम्रो भागमा तीन मन्त्रालय गरेका छन् ।’

लिङ्देनको नेतृत्वमा सरकारमा जाने राप्रपाबाट अर्का मन्त्री हुने लाइनमा ज्ञानेन्द्र शाही पनि छन् । स्रोतका अनुसार शाहीले पर्यटन मन्त्रालय पाउने सम्भावना छ ।

स्रोतले भन्यो, ‘यो पटक अवसर नपाएका तथा प्रत्यक्ष निर्वाचनमा निर्वाचित भएका माननीयहरुलाई राप्रपाले अवसर दिन्छ । ज्ञानेन्द्र शाहीको सम्भावना छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपाले समर्थन गरेर विश्वासको मतसमेत दिइसकेको छ । गत ११ पुसमा विस्तार भएको मन्त्रिपरिषद्मा राप्रपा नेपालले सरकारलाई समर्थन गरे पनि भाग लिएको छैन । सुरुमै मन्त्री बनेका एमाले ३ र जनमत पार्टीका १ जना मन्त्रीको हालसम्म जिम्मेवारी तोकिएको छैन ।

अहिलेको मन्त्रिपरिषद् ८ सदस्यीय छ । संवैधानिक व्यवस्था अनुसार ३ राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *