नेपाल मेडिकल कलेजमा बेथिति बढेको भन्दै स्थानीयद्वारा प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको आत्तरखेलमा अवस्थित नेपाल मेडिकल कलेजकाे अस्पतालमा बेथिति बढेको भन्दै शुक्रबार स्थानीयले प्रदर्शन गरेका छन् । उपचारमा लापरबाही गरेको, प्रशिक्षार्थी डाक्टरको हातबाट बिरामीको उपचार गराउँदा मृत्यु हुने गरेको, राज्य र स्थानीय सरकारले ज्येष्ठ नागरिकलाई उपचारमा दिएको छुट नदिएको, अस्पतालले सार्वजनिक जग्गा र खोल्सा मिचेर संरचना बनाएको, अन्डरग्राउन्ड पार्किङ रहेको स्थानमा प्रयोगशाला निर्माण गरी सेवाग्राहीसँग चर्को पार्किङ शुल्क उठाएको जस्ता विषयको विरोध गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् । अस्पतालको आधिकारिक ट्रेड युनियनका निवर्तमान अध्यक्ष किरण केसीले यसै विषयलाई लिएर राजीनामा दिइसकेका छन् ।

केसी भन्छन्, ‘अस्पतालकै तलब खाएर यसका बेथिति र लापरबाहीविरुद्ध बोल्न नसकेकोले, आम सेवाग्राहीको आवाज जनतासम्म पुर्‍याउन राजीनामा दिएर आन्दोलनमा उत्रिएको हुँ ।’

केसीका अनुसार उपचारमा लापरबाही भएर बिरामीको मृत्यु भएको आफूले टुलुटुलु हेरेर बस्नु भन्दा राजीनामा दिएर बेथितिविरुद्ध आवाज उठाउँछु । यसबारे गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल भन्छन्, ‘नगरपालिकाले स्थानीय बसोबास गरेका ज्येष्ठ नागरिकलाई उपचारमा ७० प्रतिशत छुट दिँदै आएको छ । यो सुविधा भने स्थानीयवासीले मात्र प्राप्त गर्छन् र गर्दै आएका छन् ।’

यसका लागि ज्येष्ठ नागरिक परिचयपत्र वा नागरिकताको आधारमा नगरपालिकाले सिफारिस गर्ने गरेको छ । तर विरोधमा उत्रिएका स्थानीयले राज्यले ज्येष्ठ नागरिकलाई दिएको ५० प्रतिशत छुट सबैले पाउनु पर्ने माग गरेका छन् ।

स्थानीय वा गैह्र स्थानीयभन्दा पनि राज्यको सुविधा उपभोग गर्न पाउनु ज्येष्ठ नागरिकको अधिकार हो । तर नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले ज्येष्ठ नागरिकको त्यो अधिकार नदिएको उनीहरूको आरोप छ । साथै त्यहाँ अस्पताल प्रशासनबाट विरोधमा उत्रिएकाहरू माथि गुन्डा परिचालन गरेको उनीहरूले आरोप लगाउँदै आएका छन् ।

साथै पार्किङ निःशुल्क हुनुपर्ने, अस्पताल भवनले नक्सापास नगरी बनाएको संरचना भत्काउनु पर्ने, मिचिएको सार्वजनिक जग्गा फिर्ता हुनु पर्ने जस्ता माग पनि स्थानीयको छ ।

तस्बिरहरू 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *