अर्थतन्त्र सुधारको प्रमुख आधार कृषि क्षेत्र हुनुपर्छ : राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना

काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले अहिलेको आर्थिक अवस्था सुधारका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड को १५ औँ वार्षिक साधारण सभामा बोल्नुहुँदै अध्यक्ष तिमल्सिनाले कृषि र पशुपालनलाई आर्थिक रुपान्तरणसँग जोड्न सके मात्र देशको वर्तमान आर्थिक अवस्था सुधार गर्न सकिने बताएका छन् ।

उनले अर्थतन्त्र सुधारका लागि सरकार, सहकारी र निजी क्षेत्रलाई तीनखम्बे नीतिका रूपमा स्वीकार गरिसकेकोले अब आर्थिक समृद्धि मार्फत ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारसहित समग्र देशको आर्थिक अवस्था सुधारमा कृषिलाई उच्च महत्वकासाथ सरकारले अगाडि बढाएको बताए ।

नेपाल कृषि प्रदान देश भए पनि कृषिको आयत प्रतिस्थापन हुन नसक्नुको कारण पहिल्याउँदै सुधारका कामहरूलाई सकारले पनि उच्च महत्त्वका साथ अगाडि बढाउने बताए ।

कार्यक्रममा सहकारी महासंघका पूर्व अध्यक्ष एवम् पूर्व मन्त्री केशव बडालले ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि खेलेको भूमिका प्रशंसा गर्न लायक रहेको बताए । उनले अहिले पनि कृषि र पशुपालनमा युवाहरूलाई आकर्षित गर्न नसकिरहेको अवस्थालाई ध्यानमा राखेर नेपाल कृषि सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए ।

नेपालमा सहकारी आन्दोलनलाई उत्पादन र उत्पादकत्व बढाउने कार्यमा साना किसानहरूले महत्त्वपूर्ण योगदान दिन सकेको भन्दै बडालले सरकारले किसानका लागि आवश्यक पर्ने सबै ऐन नियम र कानुनहरू निर्माण गरिइदिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी अभियानलाई माथि उठाउन नेपाल कृषि सहकारी केन्द्रीय संघले खेलेको भूमिका प्रति आभार प्रकट गरे । उनले दक्षिण एसियाकै उदाहरणीय संस्थाका रूपमा केन्द्रीय संघले काम गरेको भन्दै राउटे किसानदेखि सीमान्तकृत, दलित, जनजाति, पिछडिएको वर्गलाई एकीकृत गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा सहकारी विभागका रजिष्टार रुद्र पण्डितले नेपालमा विभिन्न किसिमका सहकारी रहे पनि खास सहकारी नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेको बताए । उनले किसानहरूको हितमा काम गर्ने संस्थाका रूपमा नेपाल कृषि सहकारी केन्द्रीय संघलाई सहकारी विभागबाट सकारात्मक रूपान्तरणका लागि सदैव साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

सहकारी मार्फत ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारमा उदाहरणीय कार्य गर्न सफल नेपाल कृषि सहकारी केन्द्रीय संघले अब कृषि र पशुजन्य उत्पादनका आफ्नै साना, लघु र ठुला उद्योग सञ्चालनका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

रजिष्टार पण्डितले अहिले सहकारीले आफ्नै उद्योग सञ्चालन गर्न केही कठिनाइहरू रहेको भन्दै आगामी दिनमा यी समस्याहरू समाधानका लागि आफू तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा साना किसान कृषि सहकारी संस्था मार्फत उत्कृष्ट कार्य गरेका शीर्ष साना किसान कृषि सहकारी संस्था लि, डडेलधुराका लालसिंह राउटेलाई उत्कृष्ट किसानका रूपमा पुरस्कृत गरिएको छ । यसैगरी धादिङका चेत बहादुर गाइने, धनुषाकी बिना देवी महरा चमार, भुटी देवी मुसहर्नी धनुषा, ललिता देवी दास तत्मा धनुषा, झापाकी फूलमुनि हेमरम सतार, इलामकी सङमीत लाप्चा र चितवनको शक्तिखोरकी टिकामाया प्रजालाई उत्कृष्ट किसान पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट युवा उद्यमी किसानबाट सुर्खेतकी देवीसरा घर्ती, नुवाकोटका सुन्दर नेपाल र कास्कीका भोज बहादुर तामाङलाई पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी उत्कृष्ट सञ्चालकको पुरस्कार उदयरपुरको महिला साना किसान कृषि सहकारी संस्था लि. सुन्दरपुर की निवर्तमान अध्यक्ष किरण कुमारी चौधरीलाई प्रदान गरिएको थियो ।
यसैगरी देशभर रहेका ११ सय ३९ संस्था मध्ये साना किसान कृषि सहकारी संस्था लि. पृथ्वीनगर झापा र वसन्त साना किसान कृषि सहकारी संस्था लि. बदालपुर बर्दियालाई उत्कृष्ट साना किसान कृषि सहकारी संस्थाका रूपमा पुरस्कृत गरिएको थियो ।

समुदायमा आधारित साना किसान कृषि सहकारी संस्था मार्फत साना किसान र गरिब किसानहरूको आर्थिक अवस्था सुधारका लागि काम गर्दै आएका संस्थामार्फत सेवा प्रवाहलाई उत्कृष्ट बनाउन सफल उत्कृष्ट प्रबन्धकका रूपमा समालवुङ साना किसान कृषि सहकारी संस्था लि. इलामकी शान्ता कार्की खड्का, साना किसान कृषि सहकारी संस्था लि. बज्रवाराहीका ध्रुव प्रसाद विडारी, साना किसान कृषि सहकारी संस्था लि. वीरेन्द्र नगर चितवनका पुष्पराज राना र साना किसान कृषि सहकारी संस्था लि. बेदकोट दैजीका कर्ण बहादुर धामीलाई पुरस्कृत गरिएको थियो । यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को तालिम तथा अनुसन्धान केन्द्र चितवनमा कार्यरत कर्मचारी रामहरि भट्टराईलाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरिएको थियो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघमा अहिले देशभरका ११ सय ३९ साना किसान कृषि सहकारी संस्था लि. आबद्ध रहेका छन् । संघको सञ्जाल ७७ वटै जिल्लामा विस्तार भएको छ भने १२ लाख परिवारका ६० लाख परिवार सदस्यहरू आबद्ध रहेका छन् । ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारसँगै आर्थिक, सामाजिक सचेतनाकोस्तर वृद्धिमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले काम गर्दै आइरहेको छ । यसैगरी नेपाल सरकार, सहयोगी निकाय र सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै कृषि र पशुजन्य उत्पादन र उत्पादकत्व बढाउन नेपाल कृषि सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका खेलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *