वर्तमान सरकार ६ महिना पनि टिक्न नदिने कसरतमा देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  वर्तमान ७ दलीय गठबन्धन सरकार ६ महिना पनि टिक्न नदिन कसरत थालेको खुलासा भएको छ । देउवा निकट कांग्रेसकै एक शीर्ष नेताले यस्तो खुलासा गरेका हुन् ।

कांग्रेसको कार्यसम्पादन समितिमा समेत रहेका ती नेताका अनुसार अघिल्लो निर्वाचनपछि दुईतिहाई बहुमतसहित बनेको सरकार पनि ओली, नेपाल र प्रचण्डबीचको आन्तरिक द्वन्द्वका कारण पूरा कार्यकाल टिक्न नसकेकोको स्मरणसहित अहिले ७ दलको गठजोडमा सरकार बनेकोले ६ महिना पनि नटिक्ने विश्लेषण देउवाको छ । एकाएक ६ महिनामै २० सिटसहित राष्ट्रिय दल बनेको रास्वपा र जनमत जस्ता नयाँ पार्टी समेत यो सरकारमा रहेकोले यो सरकार कतिबेला आफैँ पनि ढल्न सक्ने देउवाको विश्लेषण छ ।

‘यो नौरङ्गी सरकार हो,’ ती नेताले भने, ‘यो सरकार आफैँ पनि कतिबेला ढल्न सक्छ टुंगो छैन । देउवाको सेखी झार्न मात्रै ओलीले प्रचण्डलाई समर्थन गरेर यो सरकार बनाएका छन् । त्यसो हुँदा यो सरकार ढलेन भने पनि ढाल्ने भरपूर कसरतमा छन् सभापति देउवा ।’

कांग्रेसकै अर्का एक शीर्ष नेताले पनि सरकार ढाल्न आफूहरु छलफलमा रहेको बताएका छन् ।

उनले भने– ‘सभापति देउवा र हामी आपसी छलफलमा छौँ यो सरकार ६ महिना पनि नटिक्ने हाम्रो निष्कर्ष छ । किनकि यो सरकार सप्तरङ्गी सरकार हो । यसको कुनै ग्यारेन्टी छैन । कुन बेला ढल्छ । थाहा नै हुन्न, त्यो कारण नै माधव नेपालको पार्टीलाई एमालेसँग मिलिदिन केपी ओलीले आग्रह गरिरहेका छन् ।’

सत्ता गुमेपछि रोकिएको कांग्रेसी बोली खुल्दै

सत्ता गुमेपछि चुचपाप बसेको कांग्रेस विस्तारै सार्वजनिक रुपमा बोल्न खोज्दै छ । पाँच दलीय गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि नै खास गरी कांग्रेस संस्थापनकाे बाेली बन्द भएकाे थियाे । एमालेसहितको सात दल र ३ स्वतन्त्र संसदको समर्थनमा प्रधानमन्त्री बनेपछि देशको पहिलाे राजनीतिक शक्तिको रूपमा उदय भएकाे कांग्रेसको बोली नै बन्द भएको थियो ।

कांग्रेसमा खास गरी दुई गुट र नदेखिएका धेरै गुटहरू निर्माण भएकाले देशको पहिलो पार्टी भएर पनि सरकारको बागडोर सम्हाल्न असफल भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका ती सदस्यले स्वीकार गरे ।

‘हामी आफैँले हाम्रो शक्तिशाली पार्टीभित्र हुर्काएको आन्तरिक गुट र उपगुटका कारण सरकार गुमाउनु पर्यो ।’

१० पुसमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि तत्कालीन प्रधानमन्त्री रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदबाट स्वतः मुक्त भए । ११ गते प्रचण्डको शपथ ग्रहण कार्यक्रममा पनि उनी छटपटाएको भागभंगीमा देखापरे । र, कार्यक्रम नसकिँदै निस्किए । त्यसयता देउवा कुनै पनि सार्वजनिक कार्यक्रममा देखा परेका छैनन् ।

सभापति देउवाले २२ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने केन्द्रीय कमिटीको बैठक राखेर कांग्रेसले अबको कार्यदिशा र प्रतिपक्षमा कांग्रेसको भूमिकाबारे छलफल हुने बताएका छन् ।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दिउँसो पत्रकार सम्मेलन गर्दैछ । प्रवक्ता डा. महतले दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

महतका अनुसार मतदातालाई धन्यवाद ज्ञापन गर्न तथा प्रतिपक्षी दलको भूमिकाबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्न छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *