महिला माथि हुने हिंसा अन्त्य गर्ने कर्णालीका महिला सांसदहरूको प्रतिबद्धता

सुर्खेत । महिला माथि हुने हिंसा र विभेद हटाउने गरी आफूहरूले सशक्त भूमिका निर्वाह गर्ने कर्णाली प्रदेशसभामा निर्वाचित महिला सांसदहरूले बताएका छन् ।

महिला तथा बालिकामाथि हिंसाका घटना कम हुन नसकेको भन्दै लैङ्गिक न्यायका लागि आफूहरूले सशक्त भूमिका निर्वाह गर्ने उनीहरूले बताएका हुन् । महिलाका विषयमा कुरा गरेर मात्र कुनै समाधान हुन नसक्ने भन्दै संसदमा महिलाका मुद्दालाई सक्रियतापूर्वक उठान गर्ने उनीहरूको भनाई छ ।

सुर्खेतबाट निर्वाचित प्रदेश सभा सदस्य सन्तोषी शाही ठकुरीले लामो समय देखि महिलाहरू माथि विभिन्न खाले अन्याय,अत्याचार,शोषण र विभेद हुँदै आइरहेको बत्ताइन्। उनले भनिन, ुनेपाल पुरुष प्रधान देश भएकै कारणले होला महिला माथि हरेक किसिमबाट दमन भइरहेको छ। २१ औँ शताब्दीमा पनि महिलामाथि घरेलु हिंसा,दमन, अन्याय र बलात्कार घटनाको सिकार हुनु परिरहेको छ। राज्यले कानुन बनाउँछ तर कार्यान्वयन पक्ष अत्यन्तै फितलो हुन्छ ।

उनले विशेषगरि दुर्गम पहाडी जिल्लाहरूका महिला दिदीबहिनीहरुको पिडा व्यथा र कथा दयनीय र कहालीलाग्दो रहेको बताउँदै यस्तो विभेदकारी अन्यायपूर्ण व्यावहार सहेर बाचिरहेका दिदीबहिनीहरूको न्यायको लागि प्रदेश सभामा आवाज उठाउने, कानुन तथा नीति बनाई कार्यान्वयन गर्ने र महिला स्वरोजगार तथा सशक्तीकरणका कार्यक्रमहरूमा जोड दिने उनको भनाई छ ।

यस्तै, कालिकोटबाट निर्वाचित प्रदेश सभा सदस्य यशोदा न्यौपानेले शिक्षा र स्वास्थ्यमा महिलहरुको पहुँच पुग्न नसकेको भन्दै सदनमा नीति निमार्ण गर्ने क्रममा महिलाका एजेन्डालाई शसक्तरुपमा उठान गर्ने प्रतिबद्धता जनाएकी छन् । सदनमा महिलाका सवाल, सामाजिक विषय र महिलाका मुद्दामा एकजुट भएर अगाडि बढ्ने उनले बत्ताइन् ।

सर्खेतबाटै निर्वाचित प्रदेश सभा सदस्य जानकी सिंहले महिलालाई आर्थिक लगायत विविध कारण कठिनाइ भएको भन्दै महिलाहरूको आर्थिक सशक्तीकरणको आवाज उठाउने बताइन । उनले प्रदेशमा अझै पनि महिला विरुद्ध हुने सबै प्रकारका हिंसा र भेदभाव अन्त्य नभएको भन्दै आगामी दिनमा महिला उद्यमशीलता विकास र आत्मनिर्भरता बनाउन जोड दिने बताएकी छन् ।

विगतदेखि महिलामाथि भइरहेको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक विभेद हुँदै आएको छ । यसको अन्त्यको लागि सबै एकजुट भएर काम गर्ने महिला सांसदहरूले प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *