अदानचुली गाउँपालिकालाई अपहरण गरी सुर्खेतबाट सञ्चालन गरेको भन्दै अख्तियारमा मुद्दा

सुर्खेत । हुम्लाको अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्णबहादुर रोकायाले गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दन्तबहादुर थापामाथि पालिका ‘अपहरण’ गरेको आरोप लगाएका छन्।

उपाध्यक्ष रोकायाले गत मङ्सिर ११ गते अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापाले पालिकालाई अपहरण गरी सुर्खेतबाट सञ्चालन गरेको भन्दै मुद्दा दायरसमेत गरेका छन् ।

उपाध्यक्ष रोकायाले गत असार १० गते गाउँपालिकाको गाउँ सभाले विनियोजन गरेको विभिन्न शीर्षकको बजेट कहाँ, कसरी र कति रकम बाँडफाँड गर्ने भनेर अहिलेसम्म कुनै पनि निर्णय नभएको बताएका छन् । कार्यपालिकामा कुनै निर्णय नगरी, नगराई गाउँपालिका बाहिर सुर्खेतमा लामो समयसम्म बसी मनोमानी ढङ्गले चालु खर्चबाट ३ करोड, २१ लाख २२ हजार २८३ रुपैयाँ र पुँजीगत खर्चबाट ३० लाख ८४ हजार ५७४ रुपैयाँ ग्लोबल आई।एम।ई। बैंक सुर्खेत शाखाबाटै निकासा गरेको आरोप प्रमुख प्रशासकीय अधिकृत शाही र लेखापाल थापामाथि उपाध्यक्ष रोकायाले लगाएका छन् ।

‘गत असार १० गतेको गाउँ सभाको सर्वसम्मत निर्णयको अवज्ञा गर्दै यस गाउँपालिकाका जन निर्वाचित जनप्रतिनिधि र गाउँ कार्यपालिकाको बेवास्ता गरी अधिकारमाथि पूर्ण हस्तक्षेप गर्दै रकम निकासा गरी व्यक्तिगत प्रयोजनमा खर्च भएको देखिएको छ ।’ अख्तियारमा दायर रिटमा भनिएको छ ।

सुर्खेतमै बसेर हाकिम र लेखापालले एक आपसको मिलेमतोमा उतै व्यक्तिगत हाजिर लगाई तलब खाने र सुर्खेतबाट आफ्ना इच्छाएका व्यक्तिलाई करार पदमा नियुक्ति गरी गाउँपालिका कार्यालयमा हाजिरै नगराई उतैबाट तलबसमेत खुवाएको आरोप उनीहरूमाथि लागेको छ । साथै व्यक्तिगत प्रयोजनमा खर्च गरी अनुचित कार्य गर्ने शाही र लेखापाल थापा गत भदौ महिनादेखि अहिलेसम्म पालिकामा हाजिर नभएको पनि उजुरीमा उल्लेख छ ।

यद्यपि अख्तियारको उजुरीमा भने पालिका अध्यक्ष सिंहको नाम उल्लेख छैन । उपाध्यक्ष रोकायाले निमित्त प्रमुख शाही र थापाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम’ अनुचित कार्य गरेकाले झिकाएर निकासा भएको रकमबारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग समेत गरेका छन् । साथै उनले अनुचित ठाउँमा हिनामिना भएको रकम शोधभर्ना तथा असुल उपर गरिदिन समेत आग्रह गरेका छन् ।

यस्तै, पालिका उपाध्यक्ष रोकायले निमित्त प्रमुख शाही र लेखापाल थापाले गत साउनदेखि मङ्सिरसम्म पटक–पटक गरी करोडौँ रकम निकासा गरेको उजुरीमा उल्लेख गरेका छन् । यद्यपि उक्त कुरा मङ्सिर ५ गते मात्रै आफूलाई जानकारी भएको उनले बताए ।

 

यस्तो छ अख्तियारमा दायर भएको उजुरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *