प्रचण्ड किन डराए आफ्नै सहयात्रीसँग ?

काठमाडौँ । पाँच दलीय गठबन्धनलाई तोडेर सात दलीय दलीय गठबन्धन निर्माण गरी ३ स्वतन्त्र सांसदसमेतको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड आफ्नै सहयात्री दलसँग डराएको देखिएको छ । बहुमतकाे समर्थन पाएर प्रधानमन्त्री नियुक्त भए । तर, पनि एक महिनाभित्र जुटाउनु पर्ने विश्वासको मत नपाइएला कि भनेर उनी डराएको देखिन्छ । किनभने संसदबाट विश्वासको मत नपाएसम्म उनले मन्त्रिमन्डल विस्तार नगर्ने निर्णयमा पुग्नुले उनी डराएकाे वा सजग भएकाे संकेत गर्छ ।

धेरै वटा दल र स्वतन्त्र सांसदसमेतको गठजोडबाट बनेको सरकारमा राज्य सञ्चालका विभिन्न पदको भागबण्डामा कुनै दल असन्तुष्ट हुनासाथ त्यसले सत्ता समिकरण नै परिवर्तन हुन बेर लाग्दैन । त्यसो हुँदा विश्वास मत पाइसकेपछि मात्र उनी सरकार विस्तारको तयारीमा लागेको स्पष्ट भएको छ ।

खास गरी एमाले अध्यक्ष ओलीको चलाखीपन र सात दलीय सत्ता गठबन्धनका संसद्को चरित्र पढ्न पनि प्रचण्ड आफैँले यो निर्णय लिएको हुन सक्ने एक शीर्ष नेताले बताए ।

उनले पुसको २५ गते विश्वासको मत लिने छन् । त्योभन्दा पहिले उनको सरकारले सरकारका न्यूनतम साझ नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने छ । हाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफलमा छन् ।

विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्रीको तयारीलाई धेरैले चासोका रुपमा हेरेका छन् ।

पहिलो, कुरा त उनको पार्टी नेकपा माओवादी केन्द्रको एकल बहुमत छैन । त्यो कारण पनि प्रचण्ड ढुक्क हुन सक्ने अवस्था छैन ।

दोस्रो, उनी आफ्ना सात दलीय गठबन्धनमा भएका सांसद्को चरित्र पढिरहेका छन् । उनलाई ती सांसदले कुन र कस्तो रूपले हेर्छन् भन्ने अध्यान गर्न समय लाग्छ ।

तेस्रो, नेकपा एमाले अध्यक्ष ओलीसँगको विगतको सहकार्यको तीतो अनुभव, संगत र उनको चरित्रका कारण प्रचण्ड आफैँ ढुक्क बन्न सकेका छैनन् । त्यो कारण सरकारको न्यूनतम साझा कार्यक्रम र नीति राम्रो बनाएर प्रचण्ड दरो भएपछि मात्र विश्वासको मत लिने माओवादीका ती शीर्ष नेताको भनाइ छ ।

‘हाम्रो अध्यक्ष प्रचण्ड लाटो मान्छे होइन,’ उनले भने, ‘प्रतिगमनको मतियार प्रधानमन्त्री केपी शर्मा ओली जस्ता खतरनाक खेलाडीसँग सत्ता साझेदार गर्दा ओलीका धेरै स्वार्थ लुकेका छन् । त्यो कारण उहाँओली र अन्य पार्टीका सांसद्को आनीबानी चेक गर्ने चाहनुहुन्छ । पहिला पनि धोका दिएका ओलीले फेरि नदेलान् भनेर भन्न सक्ने अवस्था छैन । कुरा त बुझ्नु पर्या नि यीनको ।’

यस्तै माओवादीकै अर्का एक नेताले प्रचण्डले मन्त्रीपरिषद् विस्तारमा भएको ढिलाइलाई सरकारमा भाग लिने पार्टीको सङ्ख्या बढाउन भएको बताएका छन् । उनका अनुसार उनी समाजवादी पार्टी पनि आफ्नो सरकारमा ल्याएर दुई तिहाइ नजिकको सरकार बनाउन चाहन्छन् ।

ती नेताले भने, ‘माधव नेपालजी हामीलाई माया गर्ने र चाहिले मान्छे हो । प्रचण्डले पाँच दलीय गठबन्धनको सहयात्री दल नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन चाहनु भएको छ । उहाँहरूसँग प्रचण्ड र ओली नै निरन्तर संवाद गरिरहनु भएको छ । त्यस्तै अन्य दल राप्रपा नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जाने सम्भावना छ । उहाँहरूले हामीलाई समर्थन गरे पनि सरकारमा जानु भएको छैन । सो कारण पनि विस्तारमा ढिलाइ भएको हो । अर्को कुरा हिजो प्रचण्डको उछित्तो काढ्ने ओली आज किन लचिलो भए त्यो त हेर्नु पर्छ नि । भावनामा बहकिनु त भएन नि ।’

के भन्छन् सरकारमा सहभागी दल
भित्रभित्रै गठबन्धनका दल र नेतृत्वले एकअर्कालाई पूर्ण रुपमा विस्वास गर्न नसकेको आभास आम राजनीतिक वृत्तले गरिरहेको छ । तर यसबारे गठबन्धनभित्रका नेताहरु अहिले मुख खोल्न चाहँदैनन् । गठबन्धनभित्र कुनै पनि नेतालाई कसैप्रति अवविस्वास नभएको र असाध्यै राम्रो विश्वासको वातावरण रहेका उनीहरु मिडियासामु बताइरहेका छन् ।

मकालुखबरले यसबारे सोधेको प्रश्नमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्तामा सामेल सात दलबीच अहिले कुनै पनि कुरामा विवाद र बेमेल नरहेकोले प्रचण्डले डराउनु पर्ने अवस्था नरहेको बताए । तर, सहभागी दलहरुले सरकारमा जान मन्त्रीहरुको नाम टुंगो लगाएर दिन सके विश्वासको मत लिनुअघि नै सरकार विस्तार हुन सक्ने पनि सुनाए ।

‘यो गठबन्धनमा एमाले अध्यक्ष केपी ओलीले अभिभावकीय भूमिका निर्वाह गर्ने भएकोले एमालेले मन्त्रालयको भागबन्डामा विवाद गर्दैन,’ उनले भने, ‘सरकारको उच्चस्तरीय संयन्त्रको संयोजक नै केपी ओली हुनुभएकोले उहाँले यो गठबन्धन सरकारलाई पूरै ५ वर्ष टिकाउने गरी नै भूमिका निर्वाह गर्नुहुन्छ । त्यसो हुँदा प्रचण्डले डराउनु पर्ने अवस्था छैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले विश्वासको मत आउँदैन भनेर प्रधानमन्त्री डराएको भन्ने विश्लेषणप्रति असहमति जनाए । उनले भने– ‘प्रचण्ड डराउनु भएको होइन, सात दलको सल्लाह र सुझावअनुसार नै सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम आएपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिनुहुने छ ।’

उनले केही पार्टीले सरकारलाई समर्थन मात्र गर्ने सरकारमा नजाने भनेको भएर उनीहरूलाई मिलाउन र एकीकृत समाजवादीलाई पनि सरकारमा लान यो खालको निर्णय भएको बताए ।

‘प्रधानमन्त्री डराउनु पर्ने कारण नै छैन,’ उनले भने, ‘यो सरकार दरो र बहुमतभन्दा माथिको बनाउन आन्तरिक गृहकार्य गर्ने र स्थिरता दिन पनि यसो भएको हो । राज्य सञ्चालका विषयमा फेददेखि टुप्पैसम्म नै मिलाएर लानुपर्ने भएकाले यस्तो भयो । हिसाब मिलाउन समय लाग्ने रहेछ । सबैलाई समेट्नुपर्ने बाध्यता छ ।’

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठ पनि विश्वासको मत नपाइएला कि भनेर प्रचण्ड डराएको भन्ने कुरा मान्न तयार छैनन् । उनले आफ्नो पार्टीले सरकारलाई समर्थन गरेको र अब सरकारका जाने बताए ।

‘हामीले प्रचण्डलाई समर्थन गरेका छौँ,’ उनले भने, ‘अब न्यूनतम साझा कार्यक्रममा सहमति गरेपछि मात्र हाम्रो पार्टी सरकारमा जान्छ । न्यूनतम साझा कार्यक्रम आएको केही दिनमा नै के मन्त्रीमण्डल विस्तार गर्नु भनेर विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी भएको हो । प्रधानमन्त्री शपथ गराउने दिन केही मन्त्रीहरूले शपथ खाने भनेर पनि राप्रपाले पनि सल्लाह दिएको हो । हाम्रो सरकारमा जाने केही सर्तहरू थिए त्यो कारण हामी जान सकेनौँ । अब हामी सरकारमा जान्छौँ ।’

उनले कोको मन्त्री हुने त राप्रपाबाट भन्ने प्रश्नमा युवा तथा काम गर्ने इच्छुक भएकालाई राप्रपाले अवसर दिने बताए ।

यस्तो हुनसक्छ सिट बाँडफाँट

संवैधानिक व्यवस्थाअनुसार सरकार गठनका लागि ३ राज्यमन्त्रीसहित २५ जना मन्त्री बनाउन पाइने व्यवस्था छ । सो व्यवस्था अनुसार प्रचण्डले मन्त्री परिषद् विस्तार गर्दा सात दल र ३ संसद्को चित बुझाउनुपर्ने छ । प्रचण्ड प्रधानमन्त्री भएको दिन पुस १० गते नै सात दल मिलेर सानो आकारको मन्त्रीमण्डल गठन गर्ने सहमति भएको थियो । त्यही कारण पुस ११ गते
८ सदस्य मन्त्रीमण्डल गठन भयो । तर चार जना मन्त्रीहरूले विना विभागीय मन्त्रीको रुपमा शपथ खाने मन्त्रीहरुलाई हालसम्म मन्त्रालय तोकिएको छैन ।

अब, प्रचण्डले संवैधानिक व्यवस्था अनुसार ३ राज्यमन्त्रीसहित १७ जना मन्त्रीहरू बनाउन पाउँछन् । जस ७ दलसहित ३ स्वतन्त्रलाई भाग लगाउनु पर्छ । यसो भए माओवादीले ४ मन्त्रालय पाउने सम्भावना छ । त्यस्तै सत्ता गठनको ठुलो दल नेकपा एमालेले ५ मन्त्रालय पाउनसक्ने छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले २, राष्ट्रिय प्रजातन्त्र पार्टीले २, जनता समाजवादी पार्टीले २ पाउन सक्ने अवस्था छ ।

तर सरकारमा नेकपा एकीकृत समाजवादी आउने भए उसका लागि सरकारको २ सिट खुला गरिने सल्लाह भएको सत्ता गठबन्धनका एक नेताले बताए । ती नेताका अनुसार नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा आउने भए एमाले माओवादीको सिट घट्ने छ । हाल सो पार्टीले सरकारलाई समर्थन मात्र गरेको छ । यस्तै ३ स्वतन्त्र सांसदलाई अहिले कुनै न कुनै कुरामा चित्त बुझाएर साढे २ वर्षपछिको सरकारमा सहभागी गराउने छलफल चलिरहेको ती नेताले बताए ।

ती नेताले भने, ‘हामी निरन्तर सिट बाडफाडका विषयमा छलफल गरिहरेका छौँ । नेकपा एकीकृत समाजवादी पनि हाम्रो सरकारमा आउने सम्भावना छ । त्यो कारण उहाँहरूका लागि हामीले २ सिट छुटाएका हौँ । हामी यो गठबन्धनलाई दरिलो बनाएर लाने हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *