निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा तेस्रो चरणको आन्दोलन सुरू (तस्बिरहरु)

काठमाडौँ । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले बिहीबार माइतीघर मण्डलामा तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
दिउँसो १ बजे कलंकीबाट आन्दोलनकारीहरु जुलुसहित माइतीघर मण्डलामा भेला भइ बेलुका ४ बजे पत्रकार सम्मेलन गर्दै अनिश्चितकालीन धर्नाको घोषणा गरेको मञ्च कि अध्यक्ष रुबी खानले बताइन् ।
खानका अनुसार बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि मञ्च र पीडित परिवारले पुनः आन्दोलन सुरु गरेको हो।
गतवर्ष ४३ दिनको लामो धर्ना र आन्दोलनपछि बार्ता मार्फत सरकारले उक्त मुद्दामा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले पनि उक्त मुद्दाका आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएपछि प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एकजना वृद्धलाई तारेखमा राखेको छ।
तर मुद्दामा मुख्य अभियुक्त भनिएका बादशाह कुर्मीलाई भने प्रहरीले पक्राउ गर्नुको साटो संरक्षण दिइरहेको मञ्चले आरोप लगाउँदै आएको छ ।
बादशाह कुर्मी हालै सम्पन्न निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ (क) बाट नेपाली काङ्ग्रेसको तर्फबाट प्रदेस सांसद निर्वाचित भएका छन् ।









