गृहमैदान पोखरामा नेपथ्यको लाइभ कन्सर्ट, आम्दानी मानवसेवा आश्रमलाई

पोखरा । मानवताका लागि संगीत भन्ने नारा सहित नेपथ्यले मानव सेवा आश्रमको सहयोगार्थ लाइभ कन्सर्ट गर्दै आएको छ । मंगलबार गृह नगर पोखरामा अमृत गुरुङले दर्शकलाई झुमाए । उनले गृहमैदानमा पोखरेली माया जुटाउन सफल भएका छन् ।

आफ्नो माटोमा आइपुग्दा गुरुङले पहिलो गीत ‘आँगनै भरि हिउँ नै झरे, आरु फूल है टिपि राख्नू’ गाएर सुनाए । ३३ वर्षअघि याङ्जाकोटमा रचना गरेको यो गीत ब्याण्डकै पहिलो सिर्जना थियो । पोखराबाट उदाएको यो ब्याण्ड यतिन्जेल सिंगो नेपालकै साझा सम्पत्ति बनिसकेको छ ।

नेपथ्यले देशका विभिन्न ८ सहरमा लाइभ कन्सर्ट गरिसकेको छ । कार्यक्रम अवधिभर अमृतले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । सडकमा आश्रित बन्नपुगेका मुलुकभरका नागरिकहरुको सेवामा खटिएको यो संस्थासँग मिलेरै नेपथ्यले यसपटकको देश दौडाहा गरेको हो ।

‘सबैतिरबाट आएर हामी यो पोखरामा बस्यौं । हाम्रा बाजे बराजुले यहाँ बजार बनाए । हामीले यसलाई सहर बनायौं । हाम्रा भावी पुस्ताले अझ विशाल महानगर बनाउनेछन्,’ यसअघि सरकारी विद्यालयहरुकै निम्ति पोखरामा पाँचपटक आफूलाई प्रस्तुत गरिसकेका उनी भनिरहेका थिए, ‘त्यो भावी विशाल महानगर कस्तो बनाउने भन्ने विषयमा हामीले आजैबाट ध्यान पु-याउनु जरुरी छ ।’

भावी महानगर मानवीयताले भरिएको बनाउने हो भने आजैबाट आ–आफ्नो ठाउँबाट गच्छे अनुसारको दान गर्ने संस्कारको विकास गर्न उनले पोखरावासीसँग आव्हान गरे । कन्सर्टबाट बचत भएको रकम पोखरा २५ हेमजामा निर्माणाधीन भवनमा प्रयोग गरिने छ । मानवसेवा आश्रमकै आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा पुस १६ गते शनिबार प्रस्तुती दिँदै छ ।

तस्बिर : नेपालय

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *