ज्ञानेन्द्र शाहीलाई ७ प्रश्न : भन्छन्– ‘पाँच दलीय गठबन्धन ताेड्याैँ, मन्त्री बन्न हतार छैन’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सांसद हुन् । उनको राप्रपासहित ७ पार्टी र ३ स्वतन्त्र सांसदकाे समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका छन् ।  प्रचण्डले सोमबार ८ सदस्य मन्त्रीमण्डल पनि गठन गरिसकेका छन् । तर, उनलाई सरकार बनाउन सघाउने एउटा दल राप्रपाले सरकारमा नजाने बताइरहेकाे छ । के राजा ल्याउनु पर्छ भन्ने राजावादी पार्टीले गणतन्त्रकाे बिउ राेक्ने पार्टीलाई समर्थन गर्न सुहाउँछ ? सरकारलाई समर्थन गरेर आफू किन बाहिर बस्न खोज्दै छ राप्रपा ?

यी र यस्तै ७ प्रश्न मकालुखबरले राप्रपाका प्रवक्ता शाहीलाई सोधेकाे छ : 

१.  राजावादी भएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नु भयो, तर सरकारमा त नजाने भन्नुहुन्छ नि किन ? 
त्यसो होइन । हामीले गठबन्धन तोड्नु थियो तोड्न सफल भइयो । गठबन्धनले यही संविधान ठिक यही कानुन ठिक यही नीति ठिक यही सङ्घीयता ठिक सङ्घीयता बचाउन नै गठबन्धन गरेको भनेर अफवाह गरेका थिए । त्यो भएको कारण गठबन्धन नै नरहँदा सङ्घीयता रहन्छ कि रहँदैन भन्ने कुरा देखाउनु पर्याे । अर्का कुरा प्रचण्डजीले दौरासुरुवाल राष्ट्रिय पोसाकलाई सामन्तीले लाउने हो, यो पोसाक लाउनु हुँदैन भनेर भन्दै रहनु भएको थियाे । २०६४ सालको संसदमा विधेयक बनाएर नेपालको कुनै पनि पोसाक हुँदैन भनेर कानुन ल्याउन लाग्नु भएको थियाे । त्यही व्यक्तिले आज त्यही पोसाक लाउन बाध्य पार्याैं । हाम्रो मान्यता भनेको वाम लोकतान्त्रिक गठबन्धन रहनु हुँदैन भन्ने थियो त्यो तोड्नु नै उपलब्धि हो ।

२. पाँच दलीय गठबन्धन भत्काएर सात दलीय गठबन्धन बनाउनु नै राप्रपालाई ठुलो उपलब्धि भयो हैन ? 
हैन, पाँच दलीय सरकारको दम्भ तोडियो । सरकारमा जाने नजाने विषयमा भोलि राप्रपा कार्यसम्पादन समितिको बैठक छ । यो सरकारको काम कर्तव्य हेरेर मात्र निर्णय हुन्छ ।

३. तपाईंले हिजो संसदमा भ्रष्ट्राचार अनियमितता, घुस खोरी भयो सरकारबाट भनेर सडकबाट आन्दोलन तथा धर्ना दिँदै आउनुभएको थियो तर आज त्यही सरकारमा जान किन डर मान्नु भएको काम गर्ने सक्तिन जस्तो लाग्छ हो ? 

हाम्रो एजेन्डाहरू छन् । जस्तो भ्रष्ट्राचारको विरुद्धमा, वाइडबडी, एनसेल, मेलम्ची, फोर जीलगायतका काण्डहरूमा भएको भ्रष्टाचार र अनियमिततालाई भण्डाफोर तथा कारबाही गर्ने सरकारले कस्तो नीति बनाउँछ यसलाई हेर्न बाँकी छ । सुशासनका पक्षमा व्यक्ति र पार्टी नहेरी सहयोग गर्ने पक्षमा कस्तो रहला सरकारको भूमिका सुशासन नै गरेनन् त्यही पुरानो सरकार जस्तो भयो भने त हामीले मन्त्री पदकै लागि मात्र मरिहत्ते गर्नु त उपयुक्त नै हुँदैन । अब हामी केही समय सरकारको काम हेर्ने छौँ । र भोलिको कार्यसम्पादन समितिले छलफल गरेर के गर्ने भन्ने कुरा पनि छलफल हुन्छ ।

 ४. भनेपछि सरकारमा जाने रहर चाहिँ रहेछ है तपाईंहरुलाई ? 
हाम्रो पुरानो पार्टी हो । यो पार्टीको छुट्टै गौरव र विरासत छ । कार्यसम्पादन समितिले मिलेर निर्णय गर्नु पर्छ । पुरानो पार्टी भएकाले यसको आफ्नै नियम र तर्जुमा छन् । सबै क्षेत्रका मानिसलाई समेटेर लानुपर्छ । त्यो कारण सम्भावना छ तर सबै बसेर निर्णय गर्न बाँकी छ ।

५. जुम्ला विकासमा पछि परेको जिल्ला भनेर चिनिँदै आएको छ । यसको विकास र विस्तारका लागि तपाईंका एजेन्डा के के हुन् र त्यो पूरा गर्ने कतिको कठिनाइ छ ? 
मेरा चार प्रमुख एजेन्डा छन् । सडक निर्माण, बिजुलीको पहुँच पुर्‍याउने, खानेपानी पुर्‍याउने, शिक्षामा गुणस्तर वृद्धि गर्ने । एयरपोर्टको समस्या समाधान गर्ने । टेलि कम्युनिकेसनको समस्या हल गर्ने । किसानले उत्पादन गरेका वस्तुहरूको वितरण र बजारीकरण गर्ने । यी सबै कामहरू कोसँग समन्वय गरेर कसरी गर्ने भन्ने कुरामा लागिरहेको छु । म यी मेरा बाचा पूरा गर्ने छु । जनतालाई दिएको मेरो बचन पुरा गर्ने म सदनमा जहिले पनि आफ्ना कुराहरू राख्ने छु ।

६. सरकार बाहिर बसेर तपाईंले जुम्लाका जनतालाई तपाईँले दिएको बाचा पुरा गर्ने कठिन होलाकी भन्ने आशंका छ नि ? 
जुम्लाका जनतामा पनि यो खालको शंका होला ? मानसिकता त्यो छ सही हो । सांसद भएरै जुम्ला विकासका लागि कसैले अवरोध गर्छ भने त हामी सडक र सरकारबाट नै आवाज उठाउने काम भइनै रहन्छ । कोही मन्त्री भएर कोही नभएर नै विकासका लागि अवरोध गर्छ भने हामी त्यस्तालाई छाड्ने छैन । जुनै ठाउँमा पनि आवश्यकता अनुसार विकास हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

 ७. जुम्लाका जनताले ज्ञानेन्द्र शाही मन्त्री भए हुन्थ्यो भन्ने चाहाना राखेको पाइयो । तपाइँलाई मन्त्री हुने रहर छैन ? 
मन्त्री नै सबै थोक होइन रहेछ । पहिलो कुरा मेरो नैतिकता ठुलो कुरा हो । सांसद मन्त्री भनेको थपिएर आएका कुराहरू हुन् । तर सबैभन्दा ठुलो कुरा नैतिक जीवन हो । मैले उठाएको कुरा र एजेन्डा सम्बोधन हुन्छन् कि हुँदैनन् ? भन्ने कुरा ठुलो हो । सबै कुरा समाधान हुन नसक्ला तर केही कुराहरू समाधान हुनुपर्छ भन्ने छ । ती विषयवस्तु र एजेन्डासँग हामी हिँड्ने भने काम गर्ने सकिन्छ । एजेन्डा र सिद्धान्त नै बिर्सेर मन्त्री पद आयो गइहालाैँ हजुर भनेर गइयो भने आज त रमाइलो होला मान्छेले हाइहाइ पनि गर्ला तर भोलि एजेन्डा बाचा पूरा गर्न नसक्दा अप्ठ्यारो होला । त्यो कारण सोचेर विचार गरेर सरकारको काम हेरेर जाने कुरामा निर्णय हुन्छ । अहिले केही हतार छैन । एउटा नैतिकताको राजनीति गर्ने म सडक हुँदै मेरा जनता र नेपालीको साथले म यहाँ छु । उहाँहरूको आवाज उठाएर यहाँ छु र अब पनि उहाँहरूको काम र सपना पुरा गर्ने छु । मेरा जनताले दिएको नैतिक विश्वास गुमाउन दिने छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *