प्रचण्डसँगै कसकसले लिँदैछन् आज सपथ ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज साँझ राष्ट्रपतिबाट शपथ ग्रहण गर्ने भएका छन् । उनले यसपटक दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने स्रोतको भनाइ छ । यसअघि दुई पटक प्रधानमन्त्री भइसकेको प्रचण्डले सपथ ग्रहणमा दौरा सुरुवाल लगाएका थिएनन् । प्रचण्डले हालसम्म दौरा सुरुवाल नलगाएको उनको सचिवालयले जनाएको छ ।

प्रचण्डसँग एमालेबाट दुई जना, माओवादीबाट एक जना र राष्ट्रिय स्वतन्त्रबाट एक जनाले सपथ लिने तयारी भएको स्रोतको भनाइ छ । प्रधानमन्त्रीको सपथपछि प्रचण्डले आज साँझ नै सानो मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।

माओवादी पदाधिकारी बैठकले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । उनी राष्ट्रिय सभाका सदस्य हुन् । उनले अध्यक्ष प्रचण्डसँगै सपथ लिने तयारी गरेका छन् । मन्त्रालयको टुंगो भने लागिसकेको छैन । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने भएको छ। उनले उपप्रधानसहित अर्थमन्त्रालय सम्हाल्न सक्ने स्रोतको भनाइ छ । उनले पनि प्रधानमन्त्री प्रचण्डसहित सपथ ग्रहण गर्ने तयारी भइरहेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको केही पदाधिकारीसहितको बैठकले एमालेबाट सरकारको नेतृत्व विष्णु पौडेलले गर्ने निर्णय गरेको एमाले स्रोतले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । लामिछानेले उपप्रधानमन्त्रीसहित एउटा कामकाजी मन्त्रालय सम्हाल्ने सम्भावना छ । उनले पनि अध्यक्ष प्रचण्डसँगै आजै सपथ लिन सक्ने स्वतन्त्र पार्टीका एक नेताले बताए ।

राप्रपा सरकारमा नजाने भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले तत्काल सरकारमा सहभागी नहुने तर समर्थन गर्ने बताए । सिके राउतको जनमत पार्टी सरकारमा जाने भएको छ । जनता समाजवादी पार्टीले सरकारमा जाने वा नजाने विषयमा अहिलेसम्म निर्णय गरिसकेको छैन ।

भागवन्डा मिलाउन सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा चलिरहेको छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपालगायत दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।

बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत पनि सत्ता गठबन्धनको बैठकमा सहभागी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *