देउवाको असफल रणनीति : भुँइको टिप्न खोज्दा भागको पोखियो

काठमाडौँ । ‘ज्योतिसले मलाई सात पटकसम्म प्रधानमन्त्री बन्छ भनेका छन्’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक मञ्चमा भन्ने गर्थे । पाँच पटक प्रधानमन्त्री भइसकेका र छैटौँ पटक पनि प्रधानमन्त्रीको लाइनमा रहेका देउवालाई ज्योतिसको भनाइ मिल्छ कि भन्ने पनि थियो, तर अहिले देउवाको लागि प्रधानमन्त्री पद कागलाई बेल पाक्यो हर्ष न विस्मातजस्तो भएको छ ।

गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पाँच वर्षे कार्यकालको आधा समय नदिँदा देउवाले केन्द्र सरकारदेखि प्रादेशिक सरकारसम्म सबै गुमाएका छन् । अब नेपाली कांग्रेस केन्द्रदेखि प्रदेश सरकारसम्म प्रतिपक्षको बेञ्चमा बस्नेछ । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै पद आफूसँग राख्न खोजेको थियो । गठबन्धनका मुख्य घटक माओवादी केन्द्रलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत कुनै पद पनि कांग्रेसले दिन खोजेन । प्रधानमन्त्रीको पहिलो आधा कार्यकाल कांग्रेस सभापति देउवाले आफैँ लिने चट्टानी अडान लिए । देउवाको यही चट्टानी अडान नै आत्मघाती भइदियो । सात प्रदेशमा कांग्रेसले आफ्नो सत्ता गुमाएको छ ।

देउवा र उनी निकट नेताहरुको चरम महत्वाकांक्षीका कारण ८९ सांसद रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा बस्न पुगेको छ। एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुन्छन् भन्ने भेउ कांग्रेसले पाएन । एमालेले कुनै हालतमा प्रचण्डलाई प्रधानमन्त्री नबनाउने ब्रिफिङ उनीनिकटका नेताहरुले कांग्रेस सभापति देउवालाई गराएका थिए । त्यही ब्रिफिङ सुनेपछि सभापति देउवाको महत्वाकांक्षा झन चुलियो, जसका कारण उनले प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री नदिने अडान लिए । सोही अडान कांग्रेसका लागि आत्मघाती भइदियो ।

यतिबेला नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेताहरुले सभापति देउवाको आलोचना गरिरहेका छनु् । कोइराला पक्षका कति नेताहरुले सभापति देउवाको राजीनामासमेत माग गरेका छन् । कांग्रेसको संस्थापन इतर पक्षका एक नेताले सभापति देउवाको चरम महत्वाकांक्षाका कारण कांग्रेसले मुखमा आइसकेको सत्ता गुमाएको बताए । केन्द्रीय सदस्यसमेत रहेका ती नेताले भने, ‘यस विषयमा केन्द्रीय समितिमा व्यापक छलफल हुन्छ, हिजो के पाउँछु भनेर गठबन्धन गरियो, आज के पाइयो ?’ती नेताले सभापति देउवा निकटका नेताहरुका कारण कांग्रेस पहिलो ठूलो दल भएर पनि सत्ता बाहिर रहनुपरेको हुनाले यसको सम्पूर्ण जिम्मेवारी पार्टी सभापति लिनुपर्ने बताए ।

उनले भने, ‘यस्तो अवस्था आउन सक्ने संकेत मिलिरहेको थियो, गठबन्धनलाई जोगाउन सक्नुपर्ने थियो, सभापति देउवाले जोगाउन सक्नुभएन, आत्मसमीक्षा गर्नुपर्छ ।’ उनले सभापति देउवाको असफल रणनीतिका कारण कांग्रेस सबैभन्दा ठूलो दल भएर पनि बाहिर रहनुपरेको बताए । गठबन्धन जोगाउन देउवा इमान्दार नबन्दा कांग्रेसले मुखैमा आएको संघीय सरकारमात्र गुमाएन, अब सबै प्रदेशका सत्ता गुमाउने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *