कुनै सांसदले तलबभत्ता चाहिँदैन भने त ?

दुई वर्षअघिसम्म यातायात कार्यालय र मालपोत कार्यालयमा खुट्टा टेक्नेसमेत ठाउँ हुँदैन थियो तर, अहिले यी दुवै कार्यालय सुनसान देखिन्छ । न कोही जग्गा किन्ने मान्छे नै हुन्छ न कुनै गाडी किन्ने । दिनहुँ हजारौँ घरजग्गा नामसारी हुने मालपोत कार्यालयमा अहिले दिनमा एकदुई वटासमेत घरजग्गा नामसारी हुँदैन ।

यातायात कार्यालयमा पनि यही नै भइरहेको छ । बजारमा घरजग्गा, सवारीसाधन बेच्नेहरू यत्तिकै छन् तर किन्ने कोही छैन । तीन वर्षअघिसम्म मानिसहरूले आनाको ५० लाखमा किनेको जग्गा महिना दिनपछि आनाकै ६० लाखमा बिक्री हुन्थ्यो । यसरी महिना दिन नबित्दै जग्गाको मूल्य यत्रो बढ्थ्यो ।

तर अहिले ६० लाखमा किनेको जग्गा त्यसको आधा मूल्यमा बेच्छुभन्दा पनि बिक्री हुँदैन । सवारीसाधनहरू पनि किनेको आधा मूल्यमा बिक्री गर्छुभन्दा पनि किन्ने मान्छे छैन । यता सेयरमा पनि यही रित चलिरहेको छ । एक कित्ता सेयर ३२ सय हालेर किनेको सेयर अहिले सस्तोमा बेच्छुभन्दा पनि बिक्री हुँदैन ।

जो मानिसले घरजग्गा, गाडी र सेयर वित्तीय संस्थामा धितो राखेर कर्जा लिए तर अहिले लिएको कर्जाको ब्याज र साँवा नै उनीहरूले डेढ वर्षदेखि तिर्न नसकेको सुनिन्छ । यता वित्तीय संस्थाले धितो राखेर दिएको कर्जाको धितोको मूल्य दिनप्रति दिन घटिरहेको छ । उता वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज नै बढिरहेको छ ।

दुई दशकअघिसम्म वित्तीय संस्था तथा सहकारीहरूले आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । व्यापारीहरूले पनि वित्तीय संस्थाबाटै कर्जा लिएर घरजग्गा, गाडी र सेयर महँगोमा बेचेर ठग्ने काम गरे । त्यसबेला आनाको २ लाख नपर्ने जग्गा अहिले वा तीन वर्षअघिसम्म आनाकै ९० लाखमा बिक्री गरियो ।

यसरी घरजग्गाको मूल्य बढ्नुको मुख्य कारण नै वित्तीय संस्था हो । वित्तीय संस्थाहरूले बुझ्दै नबुझी घरजग्गामा लगानी गरे त दलालीहरूले त्यसैको फाइदा उठाएर सर्वसाधारण ठगे । त्यस जग्गाको सरकारी रेट भने आनाको १ लाख थियो तर किनबेच भने ९० लाखमा हुन्थ्यो ।

घरजग्गाको मूल्य यसरी नै बढिरहन्छ भनेर सर्वसाधारणदेखि वित्तीय संस्थासम्मले आँखा चिम्लेर लगानी गरे तर अहिले डुबे । अहिले जतिपनि मानिसहरूको घरजग्गा छ, त्योमध्ये ९५ प्रतिशत मानिसहरूको घरजग्गा बैंक, फाइनान्स र सहकारीको नाममा रोक्का छ । वित्तीय संस्थाहरूले पनि सर्वसाधारणले संस्थामा डिपोजिट गरेको रकममध्ये ९० प्रतिशत लगानी घरजग्गामा गरेका छन् ।

तर बजारमा घरजग्गामा मन्दी आउनेबित्तिकै वा यिनीहरूको खरिदबिक्री कार्य ठप्प हुनेबित्तिकै यता नाफा खान वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गा किन्नेको पनि भागाभाग भयो त उता वित्तीय संस्थाले पनि घरजग्गा धितो राखेर प्रवाह गरेको कर्जा नउठेपछि वा घरजग्गाको किनबेचमा मन्दी आइपछि यिनीहरू पनि डुब्ने अवस्थामा पुगे ।

पछिल्लो समय कति बैंकहरु डुबिसकेको र अधिकांश सहकारीहरू डुबेर पनि भागिसकेका छन् । बजारमा सर्वसाधारणको कुरा सुन्दा अहिले बैंकहरु टाट पल्टिसके भने सहकारीहरू भाग्ने अवस्थामा पुगिसके । सरकारले पहिलै वित्तीय संस्थाहरूलाई घरजग्गामा लगानी नगर्नुस् भनेर भनेको भए आज सर्वसाधारण र वित्तीय संस्था यसरी डुब्दैनन् थिए ।

अहिले वित्तीय संस्थाले न आफूले दिएको कर्जा नै उठाउन सक्छ न घरजग्गा बेचेर लगानी नै उठाउन सक्छ । त्यसैले पनि वित्तीय संस्था डुब्ने अवस्थामा पुगेपछि सर्वसाधारणहरू आफूले वित्तीय संस्थामा राखेको पैसा निकाल्न लाइन लागिरहेका छन् । वित्तीय संस्थाले जतिसुकै महँगो ब्याज दिन्छु भनेतापनि सर्वसाधारणहरू बैंक तथा सहकारीमा पैसा राख्दैनन् ।

बैंक बचतकर्ताको एक लाख फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ भने सहकारीले त महिनाको ५ हजारसमेत फिर्ता गर्दैन । सहकारीहरू आज जाँदा खुल्ला हुन्छ त भोलि जाँदा भागिसकेका हुन्छन् । सहकारीले त आफू बच्नका लागि बजारमा प्रतिनिधि खटाएर बचतकर्तासँग सबै पासबुक संकलन लिने र जलाउने काम गरिरहेको छ ।

सहकारीमा पैसा निकाल्न गएका सर्वसाधारणको रुवाइ, कराइ देख्दा नेपालमा पनि सरकार छ र जस्तो लाग्छ । यता उद्योग व्यवसायीहरू पनि हामी वित्तीय संस्थाको साँवा ब्याज नै तिर्दैनौँ भन्दै आन्दोलन गर्छन् र हातमा कालो पट्टी बाँध्छन् । तर यता वित्तीय संस्था डुबेको कुरा सर्वसाधारणको कानसम्म पुगेपछि मानिसहरूले आफ्नो पैसा निकालेर घरमा लुकाइसकेका छन् । अब महँगो ब्याजको लोभमा उनीहरू फस्न चाहँदैनन् ।

सबैभन्दा छिटो नाफा कमाउन पाइन्छ, घुस खान पाइन्छ, ब्याज र सेवाशुल्क पनि पाइन्छ भनेर वित्तीय संस्थाहरूले घरजग्गा, गाडी र सेयरमा लगानी गरे । तर अहिले यिनै सबैको मूल्य घटेर गुन्द्रुकको मूल्यमा आयो वा कवाडीमा बिक्री नहुने भयो । साथै, यस क्षेत्रमा काम गर्ने बिचौलिया तथा दलालीहरूको पनि डुबेर वा ऋण तिर्न नसकेर भागाभाग भयो । अहिले सुनिन्छ, कति घरजग्गा दलालीले आत्महत्या गरिसके त कति नेपाल छोडेर भागिसके । त्यस्तै, सेयरमा लगानी गर्नेहरू पनि लगानी डुबेपछि बसेको बाँस र फोन सबै फेरिसके ।

अहिले निजीप्लेटका तथा भाडाका गाडीमा लगानी गरेको गाडी सबै वित्तीय संस्थाहरूले ऋणीले ऋण नतिरेपछि उठाइसकेका छन् । तर यो गाडी टोक्नु कि निल्नु जस्तो उनीहरूलाई भइरहेको छ । न बेच्छुभन्दा मान्छे नै पाइन्छ न मान्छे पाएपनि उचित मूल्य नै पाइन्छ । वित्तीय संस्थाहरूले यसरी डिपोजिटहरूलाई फसाए र डुबाए ।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको अर्थतन्त्र श्रीलङ्का भएको वा डुबेको दाबी गर्छन् । ओलीको भनाइअनुसार देश नै टाट पल्टिसक्यो र नेपालको अर्थतन्त्र श्रीलङ्काभन्दा नाजुक भइसक्यो । फेरि अर्थविद् तथा विज्ञहरू पनि ओलीले नै भनेको कुरा बोल्छन् । विदेशीले नेपालमा दिँदै आएको ऋण पनि अहिले विदेशीले दिन छोडिसकेको छ र एक नेपालीको टाउकोमा विदेशी ऋण ७९ हजार पुगिसकेको छ ।

तर विदेशीसँग लिएको ऋणको सरकार नै साँवा ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको छ । अहिले बजारबाट राज्यको ढुकुटीमा राजस्व संकलन हुन छोडिसकेको छ । साथै, बहालवाला कर्मचारी, भूपू कर्मचारी, सरकारी कर्मचारी वा ज्येष्ठ नागरिकहरूलाई भत्ता दिन नसक्ने अवस्थामा सरकार पुगिसकेको छ ।

अब विदेशीले ऋण नदिएमा यी मानिसहरूले भत्तादेखि तलबसम्मै खान पाउँदैनन् त जनताले तिरेको करबाट सरकारी खचै धान्न नसक्ने अवस्था सिर्जना भएको छ । अब नेपाल सरकार विदेशीसँग ऋण लिएर विकास गरेको नाटक गर्छ र नेपाल कुन देशलाई जिम्मा लगाउँछ । नेपालको अर्थतन्त्र डुबिसक्यो भनेर विदेशीहरूले पनि थाहा पाइसकेका छन् । त्यसैले पनि अब विदेशीहरू सरकारलाई थप ऋण दिँदैनन् र दिएको पनि उठाउन खोज्छन् ।

अहिले वडाध्यक्षदेखि राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र सांसदहरूले तलबभत्ता खान्छन् तर अब यो पैसा कहाँबाट ल्याएर यिनीहरूले खर्च व्यर्होछन् । नेपालका अधिकांश उद्योग व्यवसायीहरू ऋण तिर्न नसकेर भागिरहेका छन् वा उद्योग बन्द गरिरहेका छन् । यिनीहरू सबै वित्तीय संस्थाको ऋणमा डुबिसकेका छन् । यिनीहरूले लगाएको लुगादेखि खाने भातसम्मै सबै बैंककै पैसाबाट खाइरहेका छन् ।

उद्योग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छाले चार दशकअघिसम्म मलाई नेपालको अर्थतन्त्र यसरी डुबेको थाहा थिएन तर अब सबै व्यवसायीहरू डुबिसके र सबै व्यवसायीहरू पलायन हुनुपर्ने अवस्थामा पुगिसकेका भनेर भनिसके । तर व्यवसायीहरूले आफूले त डुबेको नाटक गरेर वित्तीय संस्था डुबाए । उनीहरू न आफूले लिएको ऋणको साँवा नै तिरे न ब्याज ।

अब नेपालीहरू जनताहरू सरकारको विरोधमा सडकमा आउँदै छन् र अर्थतन्त्र डुबेपछि जनताले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई लखेट्छन् । अब श्रीलङ्का र बगंलादेशभन्दा पनि भयानक रूप नेपाली जनताको आन्दोलनले लिन्छ । अहिले वित्तीय संस्थाले कर्जा प्रवाह गरेपछि वा सर्वसाधारणले रकम नराखेपछि यिनीहरूले मिटरब्याजमा रकम लगानी गरिरहेका छन् । यता एक लाखको महिनाको ५ हजारदेखि ३० हजारसम्म ब्याज लिन्छन् त उता बाध्यताका कारण मानिसहरू यस्तो रकम चलाउँछन् ।

बजारमा अहिले मिटरब्याजमा लगानी गर्नेदेखि लिनेसम्मैको सङ्ख्या धेरै रहेको छ । भोलि यिनीहरू ऋण तिर्न नसकेर आफ्नो धितो पनि गुमाउँछन् र मर्छन् पनि । त्यसैले, अब सुकुम्वासीको पनि सङ्ख्या बढ्छ र आत्महत्या गर्नेको पनि । यता वित्तीय संस्थाहरूसँग पैसा छैन र व्यक्तिहरूसँग पैसा छ । एउटै व्यक्तिले मिटरब्याजमा १० लाखदेखि ५ करोडसम्म लगानी गर्छन् ।

वित्तीय संस्थामा कर्जा माग्न जाँदा पैसा छैन भनेर फिर्ता पठाउँछ तर मिटरब्याजमा लगानी गर्नेहरूसँग ऋण माग्दा मागेको एक घण्टामै दिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले केही महिनाअघि सरकारी कर्मचारीलाई तलब खुवाउनसमेत विदेशीसँग हात थापेर ऋण लिएर खुवाउनुपर्ने अवस्था आएको बताउँदा पनि अर्थमन्त्री जर्नादन शर्माले देशको अर्थतन्त्र ठिकठाक छ भन्दै ढाँटे ।

तर अहिले अर्थमन्त्री शर्माले आफ्नो पद जोगाउन अर्थतन्त्र टाट पल्टाइदिए र श्रीलङ्काको अवस्थामा पुर्‍याइदिए । अहिलेपनि हजार र पाँचसयको नोटमाथि सरकारले प्रतिबन्ध लगाएको छैन र दुई हजारको नयाँ नोट निकालेको छैन । अहिले पैसा जतिसबै सर्वसाधारणहरूले लुकाइसके ।

सरकार सर्वसाधारणले लुकाएको पैसा पनि बाहिर ल्याउन सक्दैन र अर्थतन्त्रलाई सही ठाउँमा पनि ल्याउन सक्दैन । अहिलेको सदनमा उद्योगपति विनोद चौधरी पनि सरकारी गाडी चढ्न र तलबभत्ता खान खाएका छन् त रवि लामिछाने पनि आएका छन् । त्यस्तै, जुम्लाबाट जितेर आएका ज्ञानेन्द्र शाहीपनि तलबभत्ता खान आएका छन् ।

उद्योगपति विनोद चौधरी, ज्ञानेन्द्र शाही र रवि लामिछानेले नै आफूहरूलाई तलबभत्ता चाहिँदैन वा सरकारी गाडी चढ्दिनँ भनेर भनेका छैनन् । विश्वकै वा नेपालकै अर्बपति चौधरीलेसमेत तलबभत्ता चाहिँदैन वा सरकारी गाडी चढ्दिनँ भनेर भनेका छैनन् भने अरूसँग केही नै आस गर्ने !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *