बङ्गलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल

काठमाडाैँ । नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बङ्गलादेशका उद्योगी एवम् व्यवसायीसँग आज छलफल गरेको छ । नेपाल भ्रमणमा रहेको बङ्गलादेशको उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकासमार्फत व्यावसायिक गतिविधि बढाउने सहमति भएको हो ।

नेपाल बङ्गलादेश बीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पूरा भएको सम्बन्धमा दुई राष्ट्र बीचका व्यावसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योगलगायत क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो । अध्यक्ष मल्लले भने। ‘नेपाल, भारत र बङ्गलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ । यसको प्रभावकारी कार्यान्वयनसँगै लगानीका लागि हामी आह्वान गर्दछौँ ।’

बङ्गलादेशमा सडक सञ्जालसँगै हवाई सम्पर्क विस्तार गरेर नागरिकको तवरबाट पनि सम्बन्ध विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । बङ्गलादेशसँग नेपालको व्यापार घाटा उच्च रहेको सन्दर्भमा अध्यक्ष मल्लले निर्यात सम्भावना भएका वस्तुहरुको खोजी गर्नुपर्नेमा जोड दिए । नेपालले ऊर्जा व्यापारमार्फत व्यापार घाटा कम गर्न सक्ने सम्भावना भएकाले यसको सहजीकरण गर्न तथा विद्युत्मा लगानीका लागि मल्लले आग्रह गरे ।

बङ्गलादेशमा ऊर्जाको माग उच्च रहेको सन्दर्भमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो । नेपाल, बङ्गलादेश र भारतबीच ऊर्जा व्यापारसम्बन्धी सम्झौता भए पनि यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । चेम्बर अध्यक्ष मल्लले विद्युत् व्यापारको सहजीकरणसँगै नेपालमा जलविद्युतमा लगानी गर्न बङ्गलादेशका उद्योगी व्यवसायीसँग आग्रह गरे ।

यस्तै नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसँग आफूहरुले पहल गर्ने अध्यक्ष मल्लले बताए ।

बङ्गलादेशको लालमोनिरहात चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मोरोल ह्युमायुन कबिरले दुई देशको व्यापार सहजीकरणका लागि सडक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । हवाईसँगै स्थल मार्गलाई समेत जोड्न दुवै राष्ट्रले पहल गर्नुपर्नेमा उनले जोड दिए । नेपालमा ऊर्जा, पर्यटन क्षेत्रमा लगानीका लागि आफूहरु तयार रहेको तर नीतिगत सहजीकरणका लागि चेम्बरले पहल गर्नुपर्ने कबिरले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *