राजेन्द्र बजगाई चुनाव जितेपछि स्टेचर लिएर मतदाता भेट्न गए

पोखरा । चुनाव सकिएको १ महिना पुगेको छ । नव निर्वाचित सांसदहरु यतिबेला मतदातालाई धन्यवाद दिने र बधाई लिने चटारोमा छन् । केही सांसदहरु सरकार गठनको प्रक्रियामा सामेल भैसकेका छन् । गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाई भने स्टेचर लिएर मतदातालाई धन्यवाद दिन पुगेका छन् ।

उनले एकै पटक आफु निर्वाचित भएका ५६ वटा वडालाई स्टेचर सहित मतदाता भेट्न गएका हुन् । उनले आइतबार सदरमुकाममा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापालाई स्टेचर एकैपटक हस्तान्तरण गरेका छन् ।

आफु मत माग्न जाँदा धेरै गाउँमा विरामीलाई बोक्ने स्टेचर नभएर दुख पाउनुपरेको देखेपछि आफुले पहिलो चरणमा सहयोग गरेको उनले सुनाए । ‘मत माग्न जाँदा बास्तवमै कारुणिक दृष्यहरु देखें । विरामी बोक्ने एउटा स्टेचर पनि छैन भन्ने सुन्दा दुख लाग्यो,’ उनले भने, ‘मलाई जनताले निर्वाचित गराएपछि उनीहरुको हितका लागि मैले पनि केही गर्नुपर्छ । विकट ठाउँको सबैभन्दा ठूलो समस्या स्वास्थ्योपचार हो ।’ बिरामी, सुत्केरी तथा घाइतेलाई तत्काल उद्धार गर्न सजिलो होस् भन्ने उद्देश्यले स्टेचर उपलब्ध गराएको उनले बताए ।

चुमनुब्री गाउँपालिका अहिलेसम्म सडक सञ्जालले छोएको छैन । धार्चेका पनि अधिकांश गाउँहरुमा गाडी पुग्दैन । सामान्य विरामी हुँदा पनि महंगो हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यतामा त्यहाँका नागरिक छन् । उनले सडक नपुगेका ठाउँमा सडक विस्तारका लागि आफुले निरन्तर पहल गर्ने प्रतिबद्धता चुनावकै बेला गरिसकेका छन् । अहिले प्रत्येक वडालाई एकथान स्टेचर पुग्ने गरी उपलब्ध गराएको बजगाईंको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *