मेलम्ची परिकल्पनाकार कृष्णप्रसाद भट्टराईको शालिक सुन्दरीजलमा अनावरण (तस्बिरहरु)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सुन्दरीजल स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ भएको स्थलमा नेपाली काङ्ग्रेसका पूर्व सभापति, मेलम्ची खानेपानीका योजनाकार पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् । मेलम्चीको खानेपानी काठमाडौँ ल्याउँदा काठमाडौंको सडक समेत पखाल्न मिल्ने अभिव्यक्ति दिएका र यो आयोजनाको परिकल्पना गरेका स्वर्गीय भट्टराईको तत्कालीन अभिव्यक्ति निकै चर्चित भएको थियो ।

काठमाडौँको खानेपानी अभाव टार्न २०२९ सालदेखि नै अध्ययन थालिएको थियो । २०४१ सालमा मेलम्ची आयोजनाको पहिचान भउको थियो । २०४९ सालमा मेलम्चीसँगै याङ्ग्री र लार्के खोलासमेतको पानी मिसाएर ५१ करोड लिटर पानी दैनिक काठमाडौँमा वितरण गर्न सकिने पहिचान भएको थियो । २०५५ सालदेखि मेलम्ची खानी पानी विकास समिति गठन गरेर यो आयोजना निर्माण सुरु गरिएको थियो । प्रमुख दाता एसियाली विकास बैंक रहेको यो आयोजनाको पानी निर्माण सुरु गरिएको २२ वर्षपछि २०७७ फागुनमा मा बल्ल काठमाडौँको सुन्दरी जलमा खसाउन सफलता मिलेको थियो । सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गरेको यो आयोजना रुग्ण आयोजनाको रुपमा अनेक अवरोध पन्छाउँदै २२ वर्षमा बल्ल पूरा भएको थियो । यद्यपी, २०७७ चैतमा बल्ल मेलम्चीको पानी काठमाडौँको धारामा वितरण थालिएको थियो ।

पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याउन थालिएको छ । याङ्ग्री र लार्के खोलाको पानी मिसाएर यो आयोजनाकाबाट दोस्रो चरणमा थप १७ करोड पानी ल्याउने योजनाका साथ काम भइरहेको छ । आयोजनामा ३५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *