विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै, को बन्ला च्याम्पियन ?

काठमाडाैँ । विश्वकप फुटबलको उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फ्रान्स मोरक्कोलाई र अर्जेन्टिनाले क्रोएसियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

खेल लुसेल स्टेडियममा नेपाली समय अनुसार राति पौन ९ बजे सुरु हुनेछ । फ्रान्सले लगातार दोस्रो पटक फाइनल खेल्न लागेको हो । अर्जेन्टिना ८ वर्ष पछि फाइनलमा फर्किएको हो । फ्रान्सले २०१८ मा क्रोएसियालाई पराजित गर्दै उपाधि जितेको थियो । अर्जेन्टिना भने २०१४ मा फाइनलमा जर्मनीसँग पराजित भएको थियो ।

फ्रान्सले सेमिफाइनलमा मोरक्कोलाई २-० ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिना यसअघि मंगलबार राति साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

यसअघि यी दुवै टोलीले समान २ पटक विश्वकप जितेका छन् । लियोनल मेस्सी र केलियन एमबाप्पेका टोली तेस्रो उपाधिको खोजिमा छन् । मेस्सी भने विश्वकपको अन्तिम खेल खेल्दैछन् ।

१९९८ मा पहिलो पटक ब्राजिललाई पराजित गर्दै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो । अर्जेन्टिनाले १९७८ मा नेदरल्याण्ड्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । १९८६ मा जर्मनीलाई पराजित गर्दै अर्को उपाधि थप्यो । त्यसपछि २ पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन ।

१९९० र २०१४ मा जर्मनीसँग फाइनलमा पराजित भएको थियो । त्यसअघि पहिलो विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुगेको थियो। यो सँगै अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल खेल्न लागेको हो । फ्रान्स भने यसअघि फाइनलमा एक पटक मात्रै पराजित भएको छ। २००६ मा इटलीसँग पराजित भएको थियो । यो उसको चौथो फाइनल हो ।

विश्वकप फुटबलमा यी दुई टोली तेस्रो पटक भेट भएका हुन् । पहिलो पटक १९७८ मा समूह चरणमा भेट हुँदा अर्जेन्टिनाले फ्रान्सलाई २-१ ले पराजित गरेको थियो । गएको विश्वकपमा अन्तिम १६ मा भेट भएका थिए। जसमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको थियो ।

फाइनलसम्म आइपुग्दा यी दुवै टोली एक एक खेलमा पराजित भएका छन् । समूह चरणको पहिलो खेलमा अर्जेन्टिना साउदी अरेवियासँग पराजित भएको थियो । समूह चरणकै अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको थियो । अन्तिम १६ मा फ्रान्सले पोल्याण्डलाई र अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गरेको थियो । क्वार्टरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई पराजित गरेको थियो । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पराति गरेको थियो ।

सेमिफाइनलमा भने दुवै टोलीले एउटै समूहबाट आएका राष्ट्रसँग पराजित गरेका हुन् । समूह एफमा रहेका मोरक्को र क्रोएसियाले समूह चरणको पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए ।

जारी विश्वकप फुटबलमा यी दुवै टोलीका ४ फरवार्ड गोल्डेनबुटको दाबेदार समेत छन् । अर्जेन्टिनाका मेस्सी र फ्रान्सका एम्बाप्पेले समान ५ गोल गर्दा फ्रान्सका जिरुड र अर्जेन्टिनाका अल्भारेजले समान ४ गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *