चार महिनामा २० प्रतिशतले बढ्यो रेमिट्यान्स, भित्रियो ३ खर्ब ७८ अर्ब

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ४ महिनामा विप्रेषण अप्रवाह (रेमिट्यान्स) २०.४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको समीक्षा प्रतिवेदन अनुसार यस अवधिमा ३ खर्ब ७८ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले बढेर १ लाख ९५ हजार १९६ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भई ८७ हजार ४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २०.२ प्रतिशतले वृद्धि भई रु.४१७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।









