बल्ल बाेले गगन : कामचलाउ सरकारले अध्यादेश ल्याउनु गलत हाे

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले ल्याउन लागेकाे अध्यादेश गलत भएकाे बताएका छन् । साेमबार अपरान्ह सामाजिक सञ्जालमा फेरबुकमार्फत गगनले काम चलाउन सरकारले अध्यादेश ल्याउन नसक्ने बताएका हुन् ।
उनले अदालतमा विचाराधीन मुद्धाका दाेषीलाइ क्षमा दिने अधिकार सरकारलाइ नभएकाे बताएका छन् । क्षमा नै दिनुपर्ने अवश्था हाे भने संसदले कानुनमा संशाेधन गरेर गर्न सक्ने उनले बताए । याे व्यक्तिकाे नभइ पार्टीकै धारणा भएकाे समेत उनले बताएका छन् ।
यस्ताे छ गगनकाे स्टाटसकाे पूर्णपाठ
सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणा शत प्रतिशत सही छ। यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो। किनकी विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ । अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ। त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ। अत: सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन।यो अध्यादेशको सम्बन्धमा नेपाली कांग्रेसको धारणा स्पष्ट छ:
• अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ। यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित छ।
• अहिलेको सरकार कामचलाउ हो, यसले दुरगामी महत्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ।
• अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन मिल्दैन। यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाडी वढाउन सक्छ।
• अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, त्यसैले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।









