रेशम चौधरीलाई रिहाइ गर्न अध्यादेश : ओलीकाे विराेध गर्ने गगन र धनराज अहिले मौन

काठमाडौँ । रेशम चौधरीको रिहाइ गर्ने तयारीको क्रममा विरोध जनाएका नेपाली कांग्रेसका दुई नेता अहिले कांग्रेस सरकारले रिहाइको लागि अध्यादेश ल्याउने निर्णय गर्दा मौन भएका छन् ।
जतिबेला नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री थिए, त्यतिबेला उनले रेशम चौधरीको रिहाइको लागि पहल गरेपछि कांग्रेसका तीन नेता धनराज गुरुङ र गगन थापाले तीव्र विरोध जनाएका थिए । अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले हिजो रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि कांग्रेसका दुई नेता धनराज गुरुङ र गगन थापा मौन बसेका छन् । नेता विश्वप्रकाश शर्माले धर्म छोडेनन् ।
उनले पहिले पनि रेशम चौधरीको रिहाइको लागि एमालेले पहल गर्दा पनि विरोध जनाएका थिए, अहिले पनि उनले सामाजिक सञ्जालमार्फत विरोध नै जनाइरहेका छन् । टीकापुर घटनाका आरोपीलाई राजनीतिक सौदावाजीका आधारमा उन्मुक्ति दिन नहुने पक्षमा वकालत गर्ने गगन थापा, र धनराज गुरुङ अहिले आफ्नो सरकारले रिहाइको लागि अध्यादेश ल्याउने निर्णय गर्दा किन मौन भनेर सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ ।
तत्कालीन एमाले नेतृत्वको सरकारले रेशम चौधरीलाई छोड्न पहल गर्ने सहमति गरेपछि नेता धनराज गुरुङ र गगन थापाले पहिला सामाजिक सञ्जालमा गरेको विरोधलाई स्क्रिनसट गरेर अहिले किन मौन ? भन्दै प्रश्न सोधिएको छ ।
महामन्त्री विश्वप्रकाश शर्माले राजनीति इमानदारिता देखाउँदै सामाजिक सञ्जालमा यो अध्यादेश सम्पूर्णरूपले गलत रहेको बताएका छन् ।
शर्माले लेखेका छन्, ‘सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य । त्यसैले सार्वजनिक दर्ज होस् असहमति । संक्रमणकालमा अध्यादेश ल्याउन दलहरुबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्णरूपले गलत ।’








