८ वर्षपछि विश्वकपमा भिड्दै नेदरल्याण्ड्स र अर्जेन्टिना

काठमाडौँ । ८ वर्षअघिको विश्वकपमा भिडेका नेदरल्याण्ड्स र अर्जेन्टिना फेरि भेट भएका छन् । कतारमा जारी विश्वकपमा आज राति यी दुई टोलीबिच क्वार्टरफाइनलमा भेट हुने भएको हो । खेल लुसेल रंगशालामा राति १२ः४५ बजे हुनेछ ।

अर्जेन्टिना ८ वर्ष अघिकै नतिजा दोहोर्याउने दाउमा हुनेछ भने नेदरल्याण्ड्स बदला लिन चाहन्छ । २०१४ को विश्वकपमा सेमिफाइनलमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । तर त्यतिबेला अर्जेन्टिनासँग हारेर बाहिरिएको नेदरल्याण्ड्स भने ८ वर्षपछि विश्वकपमा फर्किएको हो । २०१८ को विश्वकपमा नेदरल्याण्ड्स छनौट भचएको थिएन । अर्जेन्टिना सहभागी भएपनि अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो ।

जारी विश्वकपमा नेदरल्याण्ड्स अपराजित छ । पहिलो खेलमा सेनेगलालाई २–० ले पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा इक्वेडरसँग १–१ को बराबरी खेलेको थियो । अन्तिम खेलमा आयोजक कतारलाई २–० ले. पराजित गर्दै समूह विजेताका रुपमा अघिल्लो चरण पुगेको थियो । नकआउटमा अमेरिकालाई ३–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

अर्जेन्टिना भने पहिलो खेलमा नै कमजोर मानिएको टोली साउदी अरेवियासँग पराजित भएको थियो । तर त्यसपछि लगातार जित निकाल्दै अर्जेन्टिना पनि समूह विजेताका रुपमा नकआउटमा पुगेको हो । अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले ८ वर्षअघिकै प्रतिस्पर्धीसँगको भेट पक्का गरेको हो ।

अहिलेसम्म यी टोली ९ पटक भिडेका छन् । जसमा ४ पटक नेदरल्याण्ड्स विजयी भएको छ भने ३ पटक अर्जेन्टिनाले जितेको छ । २ खेल बराबरीमा टुंगिएको छ । १८ औं पटक विश्वकप खेलिरहेको अर्जेन्टिनाले २ पटक उपाधि जितेको छ । ३ पटक फाइनलमा पुगेर पराजित भएको छ ।

नेदरल्याण्ड्स भने ३ पटक फाइनलमा पुगेर पनि उपाधिविहिन छ । पछिल्लो पटक नेदरल्याण्ड् २०१० मा फाइनलमा पुगेको थियो । त्यतिबेला स्पेनसँग पराजित भएको थियो । अर्जेन्टिना २०१४ मा फाइनलमा पुगे पनि जर्मनीसँग परायिजत भएको थियो ।

१९७८ मा अर्जेन्टिनाले पहिलो पटक विश्वकप जित्दा नेदरल्याण्ड्स फाइनलमा पराजित भएको थियो । १९८६ मा दोस्रो पटक उपाधि जितेको अर्जेन्टिनाले जर्मनीलाई पराजित गरेको थियो । त्यसपछि भने अर्जेन्टिनाले उपाधि जित्न सकेको छैन ।

शुक्रबार हुने यो खेलको विजेताले सेमिफाइनलमा ब्राजिल र क्रोएसियाबीचको विजेतासँग सेमिफाइनलमा भिड्ने छ । ती दुई टोलीको खेल शुक्रबार राति पौने ९ बजे हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *