साविक उपविजेता क्रोएसियाले सर्वाधिक विजेता ब्राजिललाई रोक्ला ?

काठमाडाैँ । विश्वकप फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । आज हुने पहिलो खेलमा ब्राजिल र क्रोएसिया भिड्दैछन् । ब्राजिल विश्वकपको सर्वाधिक विजेता हो भने क्रोएसिया साविक उपविजेता हो । क्रोएसियाले अहिलेसम्म विश्वकप जित्न सकेको छैन । तर गएको विश्वकपमा पहिलो पटक विश्वकपको फाइनलमा पुगेको थियो ।

ब्राजिल २० वर्षपछि दक्षिण अमेरिकामा उपाधि फर्काउने दाउमा छ । २००२ मा पछिल्लो पटक ब्राजिलले उपाधि जितेको थियो । त्यसयताका सबै विश्वकपमा क्वार्टरफाइनलमा पुगेको ब्राजिल यसपटक क्रोएसियालाई पन्छाउँदै छैटौं पटक उपाधि उचाल्ने दाउमा हुनेछ ।

एजुकेशन सिटी स्टेडियममा शुक्रबार राति पौने ९ बजे यी दुई टोली आमनेसामने हुँदैछन् । दुवै टोली एसियन राष्ट्रलाई पराजित गर्दै अन्तिम ८ मा पुगेका हुन् । क्रोएसिया जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । ब्राजिलले भने दक्षिण कोरियामाथी शानदार जित दर्ता गरेको थियो ।

जारी विश्वकपमा क्रोएसिया अपराजित छ । पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले दोस्रो खेलमा क्यानडामाथी ४–१ को जित दर्ता गरेको थियो । समूहको अन्तिम खेलमा बेल्जियमसँग बराबरी खेल्दै क्रोएसिया समूह उपविजेताका रुपमा नकआउट पुगेको थियो । तर स्पेन र जर्मनी जस्ता पूर्वविजेतालाई हराएको जापानलाई पन्छाएको क्रोएसिया उच्च मनोबलमा छ ।

ब्राजिलले भने समूह चरणमा एक हार व्यहोरेको छ । अफ्रिकन राष्ट्र क्यामरुनले अन्तिम खेलमा १–० ले पराजित गरेको थियो । त्यसअघि नै समूहचरण पार गरेको ब्राजिलले कमजोर आँक्दा हार व्यहोर्नु परेको थियो । प्रमुख खेलाडीलाई विश्राम दिँदा ब्राजिलले ऐतिहासिक पराजय व्यहोर्नु परेको थियो ।

त्यसअघि सर्वियालाई २–० र स्विट्जरल्याण्डलाई १–० ले पराजित गरेको थियो । तर नकआउटमा ब्राजिलले शानदार जित दर्ता गरेको छ । दक्षिण कोरियामाथी ब्राजिलले पहिलो हाफको ३६ मिनेटर भित्रै ४ गोल गर्दै सहज जित हात पारेको हो ।

खेलको अन्तिममा कोरियाले सान्त्वना गोल गरेको थियो ।

ब्राजिल र क्रोएसिया ४ पटक भिडेका छन् । त्यसमा ३ खेल ब्राजिलले जितेको छ भने एक खेल बराबरीमा टुंगिएको थियो । ब्राजिलसँग क्रोएसिया पहिलो जितको खोजिमा हुनेछ । ब्राजिल भने यसअघि कै नतिजा दोहोर्याउन चाहन्छ ।

२००६ को विश्वकपमा १–० ले विजयी भएको ब्राजिलले २०१४ को विश्वकपमा ३–१ को जित हात पारेको थियो । २००५ मा मैत्रीपुणर्न खेल बराबरीमा सकिएको थियो । तर २०१८ को खेल भने ब्राजिलले नै २–० ले जितेको थियो ।

सबै विश्वकप खेलेको ब्राजिलले अहिलेसम्म ५ पटक उपाधि जितेको छ । क्रोएसिया भने उपाधिविनि छ ।

यो खेलको विजेताले सेमिफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिनाको विजेतासँग भिड्नेछ । दोस्रो क्वार्टरफाइनल खेलमा शुक्रबार राति १२ः४५ बजे यी टोली भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *