केएमसीद्वारा नवनिर्वाचित सांसद डा. सुनिल शर्मा सम्मानित (फोटो/भिडिओ)

काठमाडौँ । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा. सुनिल शर्मा मंगलबार सम्मानित भएका छन् ।
नेपाली काङ्ग्रेसबाट विजयी भएका शर्मालाई मंगलबार एक कार्यक्रमबीच काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पताल(केएमसी) सिनामंगलले सम्मान गरेको हो ।
डा. शर्मा उक्त शिक्षण अस्पतालको निवर्तमान अध्यक्षसमेत हुन् । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बने लगत्तै शर्माले शिक्षण अस्पतालको अध्यक्षबाट राजीनामा दिएका थिए ।
मंगलबार शर्मालाई अस्पतालका प्रमुख, विभिन्न विभागीय प्रमुखहरू, कर्मचारी, डाक्टर, विद्यार्थीलगायतले उनी निर्वाचित भए सँगै सम्मान गरेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
सम्मानित भएसँगै डा. शर्माले, सदनमा अब आफूले मेडिकल शिक्षाको बेथितिबारे आवाज उठाउने बताए । पूर्वाञ्चल बिश्वविधालयलाई मेडिकल शिक्षा सम्बन्धन गराउन पनि आफूले पहल गर्ने, उनको भनाइ छ ।











