बलियो सरकार बनाउन एमाले–कांग्रेस मिल्नुकाे विकल्प छैन : शेरधन राई (भिडिओ वार्ता)

प्रदेश सकारको स्थापना भएपछि प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता शेरधन राई हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा भोजपुरबाट पराजित भएका छन् । उनी २०५६ सालमा २५ वर्षकै उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका थिए । २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा उनी भोजपुर क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

दोस्रो संविधानसभा सदस्य भएकै बेला उनी २०७१ मा तत्कालीन व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे । २०७२ कात्तिक १९ गते उनले सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारको प्रवक्तासमेत हुने अवसर पाए ।

२०७२ सालमा नयाँ संविधान जारी भयो । संविधानले जारी भएपछि संघीयता कार्यान्वयनका लागि भएको पहिलो प्रदेशसभा निर्वाचन २०७४ मा उनी प्रदेश १ को भोजपुर २ अन्तर्गतको प्रदेशसभा क्षेत्रबाट प्रदेशसभा सांसद निर्वाचित भए । यसपछि उनी प्रदेश १ को मुख्यमन्त्रीको रुपमा साढे तीन वर्ष पदमा रहेर काम गरे ।

तर, प्रतिनिधि सभामा तेस्रो पटक र सांसदका रुपमा चौथो पटक २०७९ को निर्वाचनमा भने उनी भोजपुर–२ बाटै पराजित भए । उनी वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता सुदन किरातीसँग पराजित भएका हुन् । किरातीले २८ हजार ५७८ मत ल्याउँदा राईले २६ हजार १९३ मत पाए । किरातीले उनलाई २ हजार ३८५ मतान्तरले पराजित गरे ।

संसद र सरकारका अनेक संयन्त्रका अनेक भूमिकामा रहेर पटक पटक काम गर्ने अवसर पाएका र हाल पराजित भएका उनी राईसँग राईसँग मकालुखबरले कुराकानी गरेको छ ।

कुराकानीका क्रममा राईले आफू पराजित हुनेको दोष गठबन्धनलाई दिएका छन् । गठबन्धनले अफूलाई अनेक आरोप लगाएर चुनावमा हराएको बताएका छन् ।

उनले भनेका छन्, ‘ चौथो पटक चुनावमा पराजित भएको छु । जित्नै पर्ने व्यक्ति म थिएँ । जनताले रुचाएको थिए । मैले थुपै कामहरु गरेको छु । म सञ्चार मन्त्री हुँदा निकै महत्वपूर्ण काम गरेको थिएँ । म साढे ३ वर्ष मुख्यमन्त्री रहँदा भोजपुर र प्रदेशको विकासमा महत्वपूर्ण भूमिका खेलेको थिएँ । म जनताको रोजाइमा परेको थिएँ । तर, चुनाव भनेको जनताको बिचमा लोकप्रिय भएर मात्र नहुने रहेछ । गठबन्धनका साथीहरुले अत्याधिक पैसा खर्च गर्नुभएको थियो । तर पनि म गठबन्धनको टप कम्पिडटसनमा आएँ । गठबन्धनले भ्रम सिर्जना गरेर जनताले मलाई भोट दिएनन् । र पार्टीबाट पनि अन्तर्घात भयो । मैले पैसा जम्मा गर्ने खर्च गरिन् । म सुतेर चुनाव जित्ने थिए तर गठबन्धनले मेरो विषयमा भ्रम छरे । मैले पपुलर भोट ल्याएको छु । म हार्दा भोजपुरे जनता रोइराखेका छन् । मैले धेरै विकास गरेको छु । जनताले मैले गरेको काम देखेका छन् । अब म मेरो हरेक समय जनताको सेवामा खर्चिनु छु । मेरो कार्यकालमा सकिन बाँकी विकास निर्माणका कामलाई निरन्तरता दिन खबरदारी गर्छु ।’

भिडिओ

 

सरकारी पैसामा हेलिकोप्टर चढेको होइन
उनी मुख्यमन्त्री हुँदा विवाह गरेको खर्च र ससुराली जाँदा हेलिकोप्टर चढेको भन्ने विषयले एक पटक ठुलो हंगामा मच्चाएको थियो । यो विषयका कारण उनी पटक पटक विवादित भएका थिए । तर उनीले आफ्नो विवाहको खर्च राज्यको नभएको बताउँछन् । उनी भन्छन् ‘मैले बिहे गर्दा राज्यको पैसा खर्च गरेको छैन । तर, राज्यको पैसा खर्च गरेर ससुराली गएको कुरा गरियो । भ्रम सिर्जना गरियो । यो सरासर झुटो प्रचार हो । दुष्प्रचार हो । मैले आफ्नो विवाहमा सरकारी पैसा एक रुपयाँ पनि खर्च गरेको छैन । भएको के हो भने म एउटा कार्यक्रममा जाँदा त्यो कार्यक्रमका आयोजकले हेलिकप्टरको व्यवस्था गरे । यसको गलत प्रचार गरेर साथीहरुले फाइदा उठाए । न मैले विहे गर्दा सरकारी पैसा खर्च गरेँ, न ससुराली जाँदा । यही विषयलाई उछालेर मेरो चरित्र हत्या गरियो ।’

मेरो पालामा नेकपा जोडिएको मात्र थियो, त्यस कारण नाम राख्न सकिँन
उनले आफूले वा मुख्यमन्त्री एक्लैले मात्र प्रदेशको नाम राख्न चाहेर संभव नहुने बताए । त्यो बेला नेकपाको बहुमत भए पनि नेकपाभित्र विभिन्न गुट–उपगुट भएका कारण नाम राख्न नसकिएको बताए । उनले भने, ‘प्रदेशको नाम राख्न नसकेको भनेर विपक्षीले मेरो टाउकोमा दोष खन्याए । यो झुटो अरोप हो । मुख्यमन्त्री त भिम आचार्य र राजेन्द्र राई पनि हुनुभएको हो । खै त उहाँहरुले नाम राख्न सकेको ? मलाई मात्र दोष लगाएर हुन्छ ? यसको पूर्ण जिम्मेवार म मात्र हैन । मेरो पालामा नेकपाको सरकार थियो । तर त्यहाँ पनि विभिन्न गुट र उपगुट भएका कारणले एकता थिएन । बाहिर हेर्दा नेकपा जोडिएको मात्र थियो तर भित्र छिन्नभिन्न भएको थियो । त्यो कारण प्रदेशको नाम नराख्नुको सम्पूर्ण दोष म लिन चाहन्न । त्यो बेला सहमतिमा राजधानी मात्र टुङ्ग्याउने छलफल भयो । सबै दलमा यो सहमति जुट्यो र माइन्युट गरेर छोडियो । नामबारे औपचारिक सहमति गरेर प्रक्रियामा छिर्न चाहिँ नसकेको हो । दलहरुमा सहमति जुट्न नसकेकाले यो सम्भव भएन । यो जटिल थियो, त्यो कारण मैले जति प्रयास गरे पनि असफल भयो । मैले चाहँदैमा नामाकरण हुने र नचाहँदैमा हुँदैन ।’

सरकार निर्माण गर्न एमाले र कांग्रेसबीच छलफल
नेपाली कांग्रेस र नेकपा एमालेको तालमेलमा नयाँ सरकार बन्ने सम्भावना रहेको राईले बताए । एमाले र कांग्रेस मिलेर सरकार बनाए देशमा देशमा सुसासन आउनेसमेत जिकिर गरे । उनले दुई ठुला पार्टी एमाले र कांग्रेसबीच एकता नभए देशको विकासले फड्को मार्नेसमेत बताए ।

उनले भने, ‘प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बन्छ । सहमतिमा नेतृत्व छनोट गर्न नसके दलभित्र चुनाव हुन्छ । यसका लागि कांग्रेससँग सहकार्य हुन सक्छ । प्रदेश १ मा मात्र होइन देशभरी नै नेकपा एमाले र नेपाली कांग्रेसको सहकार्यमा सरकार निर्माण गर्नु पर्छ । यो चुनावको परिणाम हेर्दा यी दुई शक्तिहरु एक भएर मात्र देशको विकास सम्भव छ । अब स्थायी ठुला शक्ति मिल्नु पर्छ । साना शक्ति च्यापेर हिँड्ने कुराबाट जनता आजित भइसकेका छन् । अब नेपाली कांग्रेसले नेकपा एमालेलाई मिल्न आह्वान गरेर एमाले तयार भएपछि दुईबिच सहकार्य भएर सरकार निर्माण हुन सक्छ । देश र जनताको हित चाहने हो भने कांग्रेस र एमाले मिल्नुको विकल्प छैन। अरु पार्टीको आवश्यकता यो देशमा छैन, यो कुरा निर्वाचनको परिणामले पनि पुष्टि गरेको छ । यसबारे कांग्रेस र एमालेका अध्यक्षबीच कुराकानी भइराखेको छ । दुई ठुला शक्तिबिच प्रतिस्पर्धा र सहमती दुवै हुन आवश्यक छ । यो कुरा कांग्रेसले बुझ्न सक्नु पर्छ । एमाले कांग्रेससँग सहकार्य गर्न इछुक छ । यो कुरामा पार्टी अध्यक्ष पनि सकारात्मक हुनुहुन्छ ।’

नयाँ शक्तिको उदयले आत्तिएको छैन
उनले पछिल्लो निर्वाचनबाट उदायको नयाँ शक्तिबाट ठुला दल नआत्तिएको बताएका छन् । नयाँ दल र युवा राजनीतिमा आएर मात्रै कांग्रेस एमालेबीच तालमेलको कुरा नचलेको उनले बताए । कांग्रेस र एमाले जस्तोसुकै परिस्थितिमा पनि ठुला शक्तिको रुपमा रहने बताए । उनले युवा शक्तिलाई राजनीतिमा आउनु राम्रो भएको धारणा राख्दै भने, ‘युवा राजनीतिमा आउनु राम्रो हो । नयाँ मान्छे देश र जनताप्रति सकरात्मक भएर वैचारिक सैद्धान्तिक हिसाबले अगाडि आउनु पर्छ । तर नयाँ पार्टी र युवा आए भनेर आत्तिएर नेकपा एमाले र नेपाली कांग्रेसबीच एकता गर्नुपर्छ भनेको होइन । नेपालको राजनीतिमा इमानको खाँचो भएकाले त्यो योग्यता भएको मान्छे आउनु पर्छ । विचार र बाटो स्पष्ट भएको मान्छे आउनुपर्छ । युवा आएकोमा म खुसी छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *