कास्की कांग्रेस बैठक : चुनावमा अन्तरघात गर्ने सबैलाई कारबाहीको निर्णय

पोखरा । नेपाली कांग्रेस कास्कीले चुनावी समिक्षाका लागि विहिबार डाकेको बैठकले चुनावमा अन्तरघात गर्ने सबैलाई कारबाही गर्ने निर्णय गरेको छ । बैठकले केही ब्यक्तिका बारेमा समेत छलफल गरेको जिल्ला सदस्य गंगाधर पराजुलीले जानकारी दिए ।
‘को कसलाई कारबाही गर्ने भन्ने तोकिएको छैन । तर अन्तरघात प्रमाणित हुने सबैलाई कारबाहीको सिफारिस गर्ने निर्णय पार्टीले गरेको छ,’ उनले भने । कास्की १ बाट पार्टी सभापति समेत रहेका किशोरदत्त बराल प्रतिनिधि सभा सदस्यको उम्मेद्वार थिए ।
तुलनात्मक रुपमा गठबन्धनलाई सहज ठानिएको कास्की १ मा उनै बराल भारी मतान्तर सहित पराजीत भए । उनीमात्रै होइन, १ ९ख० का कांग्रेस उम्मेद्वार दीपक गुरुङ पनि ग्रीन जोनमा थिए । करिव ५ हजार मत गठबन्धनको बढी भएकै क्षेत्रमा गुरुङले चुनाव हारे ।
प्रदेश सभा ९क० का उम्मेद्वार माओवादीका दीपक कोइरालाको मतान्तर झनै बढी भयो । समग्रमा कांग्रेसभित्रको अन्तरघातकै कारण उम्मेद्वार पराजीत भएका निष्कर्ष पार्टीले निकालेको छ । चुनावको गणना सकिने वित्तिकै केही कार्यकर्ताहरुले निर्वतमान जिल्ला सभापति कृष्ण केसीको घर घेरेर प्रदर्शन गरेका थिए ।
कांग्रेस मादीका सभापति यामबहादुर गुरुङको नेतृत्वमा केसी विरुद्ध प्रदर्शन भएको हो । उनलाई पनि पार्टीको बैठकमा बोलाएर घर घेराउ गर्ने कारण सोधिएको थियो । उनले बैठकमा भने, ‘उहाँले ९कृष्ण केसी० मलाई पनि बोलाएर केन्द्रको निर्देशन छ, किशोरदत्तलाई हराउनुपर्छ भन्नुभएको हो । चुनावको बेलामा म केही बोलिनँ । तर मतगणनाका बेला नतिजाले पनि उहाँको प्रभाव क्षेत्रमा निकै कम घटेको देखिन्छ । यसमा उहाँको दोष छ ।’
बैठकमा अन्य जिल्ला सदस्य र केही अन्तरघातका आरोप लागेकाहरु माथी पनि छलफल भएको बताइएको छ । तर निर्णयमा कसैको नाम उल्लेख छैन । केही दिनभित्रै प्रतिवेदन र प्रमाण सहितको कारबाही सिफारिस केन्द्रमा पठाउने निर्णय भएको पराजुलीले बताए ।








