भरतपुर महानगरले भन्यो– मापदण्ड विपरीतका संरचना हटाऊ

चितवन। भरतपुर महानगरपालिकाले अनियमित संरचना हटाउन ३५ दिने सूचना सार्वजनिक गरेको छ । मंगलबार सूचना प्रकाशन गर्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरू हटाउन समय दिइएको छ ।

सडक क्षेत्राधिकार मिचेर बनाइएका टहरा, कम्पाउण्डवाल, स्वीकृति नलिई भवनको अगाडि निर्माण भएका ट्रस, जस्ता राखेर निकालेको अस्थायी पाली, अस्थायी टहरालगायतको अन्य संरचनाहरुहरु हटाउन महानगरले निर्देशन गरेको छ ।

यस्तै, सडकबाट फुटपाथमा सवारीसाधन उक्लिन बाटो अवरुद्ध हुने गरी ढलाई गरी बनाइएका स्थायी याम्पहरु, नक्सा पासमा बेसमेन्ट पार्किङ स्वीकृत गरी सञ्चालनमा रहेका पसल, गोदाम, रेष्टुरेण्टमा प्रयोग भइरहेको बेसमेन्टहरु हटाउन महानगरले
निर्देशन गरेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई सुन्दर र सुसंस्कृत शहरको रूपमा विकास गर्न अवैध संरचना हटाउन लागिएको बताइनु। यस्ता संरचनाले भरतपुरलाई कुरूप बनाउने भएकाले महानगरपालिका यो कार्यको सुरुवात गर्न लागेको उनको भनाइ छ ।

महानगरले ३५ दिनको समय सीमाभित्र मापदण्डको पालना नगरी निर्माण भएका भवन, संरचना, सीमा पर्खाल र अस्थायी टहराहरू नहटाए ‘स्थानीय सरकार सञ्चालन ऐन–२०७४’ बमोजिम महानगर आफैले हटाउने र लागेको खर्च सम्बन्धित व्यक्ति, संस्थाबाट असुल गर्ने जनाएको छ ।

यस्तै महानगरपालिका क्षेत्रभित्र कुनै पनि भवन तथा संरचनाहरू प्रचलित मापदण्ड बमोजिम नक्सा पास स्वीकृति लिएर मात्र निर्माण गर्नुपर्ने व्यवस्था ‘स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *