पुनः निर्वाचन नभएसम्म हार स्वीकार्दिँन, अदालत जान्छु : नेता खनाल (अन्तर्वार्ता)

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सम्मानित नेता झलनाथ खनालले हालको चुनावी मत परिणामलाई स्वीकार नगर्ने बताएका छन् । मंगलबार मकालुखबरसँग कुराकानी गर्दै खनालले चुनावमा इलाम १ को मत परिणाममा निर्वाचन आयोगले हेलच्याँक्री गरेको भन्दै मत परिणामको विपक्षमा अदालत जाने बताए ।

उनले कुनै बुथमा खसेको भन्दा धेरै मत भएको र कुनै बुधमा नपुगेको दावी गर्दै निर्वाचन आयोगले घोषणा गरेको परिणामलाई अस्वीकार गर्ने बताए । खनालले यो साताभित्रै सबुत प्रमाण लिएर पुनः मतदानका लागि आयोग जाने बताए ।

यस्तो छ नेता खनालको असहमती

इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेले महेश बस्नेतलाई उम्मेदवार बनाएको थियो । यता सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार थिए ।

मत गणना गर्दा क्षेत्र नम्बर १ मा २५ मतपेटिकामा ४ सय ३७ मत कम र अर्को ६ मत पेटिका गन्दा २ सय ६६ मत खसेको भन्दा बढी देखिएको खनालको आरोप छ ।

उनी भन्छन्, ‘जब मतगणना सुरु भयो २५ वटा मत पेटिका गनेर त्यसको मत परिणाम निकाल्दा खसेको मतभन्दा ४ सय ३७ मत कम आयो । मत गणना गर्दा ४ सय ३७ मत गायव भएको छ । यो मत कसले ? किन ? कहाँ गायव गरेको हो ? यसको जवाफ मलाई चाहिन्छ । यो एउटा षड्यन्त्रमा गरिएको गणना भएको स्पष्ट देखिन्छ । जनताले दिएको मतमाथि कुठाघात गर्न पाइँदैन् । जनतालाई निर्वाचन आयोगले जवाफ दिनु पर्छ । यदि यो मत कहाँ गए भनेर स्पष्ट रुपमा यसको जवाफ दिए म हार तथा जित स्वीकार गर्छु । तर जनताले दिएको मतलाई सम्मानपूर्वक स्पष्ट रुपमा गणना हुनुपर्छ । लोकतन्त्रमाथि धमिरा लगाउन पाइँदैन ।’

उनले थपे, ‘मैले केन्द्रीय निर्वाचन आयोगसँग पनि कुराकानी गरेँ । निर्वाचन आयुक्त दिनेश थपलियासँग पनि मैले कुराकानी गरे । उहाँले जिम्मेवारीपूर्ण जवाफ दिनु भएन उहाँले मत पेटिकामा जति मत खसेका छन् त्यसलाई कायम गर्ने बताउनु भयो । र मतगणना जारी गर्नु भयो । उसोभए ४ सय ३७ मत कहाँ गयो त ?’

उनले जबरजस्ती मत गनेको बताउँदै पटक पटक मत गणनामा धाँधली भएको जिकिर गरे । उनले भने, ‘पुन ६ वटा मत पेटिका गणना गर्दा २ सय ६६ मत खसेको भन्दा बढि देखिएको छ । यो कस्तो अन्यमितता रु यो कस्तो लोकतन्त्र ?’

उनले आफूले नैतिक र राजनीतिक रुपले यो परिणाम अस्वीकार गरेको र अदालत जाने र अदालतको निर्णय मान्ने बताए । पटक पटक गल्ति हुँदा पनि निर्वाचन अधिकृतले वास्ता नगरेको र उनले भने, ‘म हार स्वीकार गर्न तयार छु । तर निर्वाचन परिणाम पार्दशी हुनुपर्छ । म हारे पनि मेरो चेलाले जितेको छ । तर यो मत कम र बढी भएको न्यायोचित जवाफ निर्वाचन आयोगले दिनुपर्छ । म यसका लागि नै अदालत जाँदै छु । लोकतन्त्रमा जनताले दिएको मत सही तरिकाले गणना र लोकतन्त्रको अभ्यासमा पादर्शी हुनुपर्छ । जनताको मतलाई उच्च सम्मान गर्छु ।’

उनले पुनः निर्वाचन नभई हार स्वीकार नगर्ने बताउँदै भने, ‘अब पुनः निर्वाचनको माग लिएर म अदालत जाने हो । मैले कानुनी उपचार खोज्न पार्टी सचिवालयले समेत अधिकार दिएको छ । गठबन्धनका साथीहरुले पनि यो परिणाम स्वीकार गर्नुभएको छैन ।’

इलामको मत परिणाम

नेता खनाल आफ्नो क्षेत्रमा २३ हजार ८९ मत ल्याएका छन् । उनलाई एमालेका महेश बस्नेतले २५ हजार ७५३ मत ल्याएर पराजित गरेका थिए ।

समानुपातिकतर्फको मत परिणामलाई हेर्दा नेकपा एसले ८ हजार २१ मत ल्याएका पाएको छ।
प्रत्यक्षतर्फको दुवै सिटमा जित निकालेको एमाले इलाममा पहिलो पार्टीको रूपमा स्थापित भएको छ। इलाम १ को समानुपातिकतर्फ एमालेले २० हजार ५६४ मत ल्याएर पहिलो बन्दा कांग्रेसले १६ हजार ४५० ल्याएर दोस्रो स्थानमा छन् ।

माओवादी केन्द्रभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी नै अगाडि देखिएको छ। रास्वपाले ४ हजार ४५१ मत ल्याउँदा माओवादीले १ हजार ६४९ मत ल्याएको छ। यहाँ राप्रपाले १३ सय, जसपाले ११ सय ८२ र जनता समाजवादी पार्टीले ११ सय ८२ मत ल्याएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *