प्रधानमन्त्री बन्न कांग्रेस नेताहरूको दौडधुप

काठमाडाैँ । संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने दौडमा रहेका कांग्रेस नेताहरूले दौडधुप बढाएका छन् । आन्तरिक छलफल मात्र होइन, उनीहरूले सरकार गठनमा सहकार्य गर्न सकिने अन्य दलका नेताहरूसँग पनि भेटवार्ता जारी राखेका छन् । अहिलेसम्मको चुनावी परिणामले कांग्रेस पहिलो दल बन्ने देखाएको छ ।

प्रधानमन्त्रीका आकांक्षीहरूले पार्टीभित्र र बाहिर आफ्नो पक्षमा अनुकूल माहोल बनाउन दौडधुप तीव्र पारेका हुन् । निर्वाचनको पूर्ण परिणाम आइनसक्दै तथा संसदीय दलको नेता छनोटको प्रक्रिया सुरु नहुँदै कांग्रेस नेताहरूले एक–अर्कामाथि दबाब बनाउने रणनीतिअनुसार यस्ता भेटवार्ता गरिरहेका छन् । कांग्रेसमा संसदीय दलको नेता प्रधानमन्त्रीको दाबेदार रहन्छन् ।

कांग्रेस नेताहरूले पार्टीमा दबाब बनाउन र आफ्नो पक्षमा निर्णय गराउन सत्तागठबन्धन दलका शीर्ष नेता र एमाले अध्यक्ष ओलीसँग भेट गरिरहेका छन् । सभापति देउवाले आफ्ना विश्वासपात्रमार्फत आन्तरिक रूपमा तयारी सुरु गरिरहेका छन् । देउवाले गठबन्धमा रहेका दलका शीर्ष नेतासँगको छलफल कायमै राखेका छन् ।

प्रधानमन्त्री देउवालाई दलको नेता हुँदै प्रधानमन्त्री बनाउने गृहकार्यमा उपसभापति पूर्णबहादुर खड्कालगायतका निकट नेताहरू लागेका छन् । देउवालाई दलको नेता र प्रधानमन्त्री बनाउन पार्टीभित्र, सत्तागठबन्धन र गठबन्धनबाहिरका दलसँग छलफल भइरहेको परराष्ट्र सल्लाहकार अरुण सुवेदीले बताए । ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रतिस्पर्धामा अरू पनि आउन सक्नुहुन्छ, तर संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने उहाँ नै हो,’ सुवेदीले नयाँ पत्रिकासँग भने, ‘पार्टीमा आन्तरिक तयारी र सत्तासमीकरणका लागि गठबन्धन र गठबन्धनबाहेकका दलसँग छलफल गरिरहनुभएको छ ।’

तनहुँ १ बाट निर्वाचित भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो दाबी राखेका छन् । सभापतिबाहेक उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर टेलिफोन सम्पर्कमा छन् । सोमबार पौडेलले एकीकृत समाजजादीका अध्यक्ष माधव नेपाललाई भेटेर छलफल गरेका थिए । पौडेल पार्टीका नेताहरूसँग पनि निरन्तर सम्पर्कमा छन् । नेता पौडेल आफूले सभापति देउवासहित अध्यक्ष प्रचण्ड र अध्यक्ष नेपालबाट सकारात्मक जवाफ पाएको दाबी गरे ।

महामन्त्री गगन थापाले पार्टीभित्रको छलफललाई तीव्र बनाएका छन् । उनले कांग्रेसबाहेकका दलका नेतासँग औपचारिक रूपमा छलफल गरेका छैनन् । थापाको सचिवालयले मोरङमा रहेका नेता डा. शेखर कोइराला काठमाडौं फर्किएपछि छलफल गरेर तयारीलाई तीव्रता दिने जानकारी दियो । थापाको सचिवालयका सदस्य सविन मुडभरीले जस्तोसुकै अवस्थामा पनि ‘ब्याक’ नहुने गरी थापाले आन्तरिक तयारी गरिरहेको बताए । ‘आन्तरिक तयारीमा लागिरहनुभएको छ । अहिलेसम्म पार्टीबाहिरका नेतासँग उहाँले भेटघाट र छलफल गर्नुभएको छैन,’ उनले भने, ‘सबैभन्दा पहिला डा. शेखर कोइराला काठमाडौं फर्किएपछि छलफल गरेर तयारीलाई तीव्रता दिने पक्षमा हुनुहुन्छ । जित–हार जे होला संसदीय दलको नेतामा लड्नेमै हुुनुहुन्छ ।’

नेता कोइराला काठमाडौं आएपछि महामन्त्री थापासहितका नेतासँग छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने इतर समूहका नेता बताउँछन् । यसबाहेक निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले पनि आफूनिकटसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्रीमा इच्छा राखेका पूर्वउपसभापति प्रकाशमान सिंहले सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग भेटेर छलफल गरिसकेका छन्  । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *