उदयपुर १ : मतगणना गर्न आयोगले निर्देशन दियो

काठमाडौँ। उदयपुर क्षेत्र नम्बर १ को मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
आयोगले सोमबार उदयपुरका मुख्य निर्वाच अधिकृतको कार्यालयलाई मतगणनापूर्व भएको सहमतीको आधारमा मतगणना गर्न निर्देशन दिएको हो ।
आयोगले जारी गरेको निर्देशनमा भनिएको छ ‘‘सो सम्बन्धनमा मतगणनापूर्व जे जस्तो सहमती भएको हो सो सहमतीका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने।’
साथै एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएकोमा मंसिर ४ गते आयोगको पत्रबमोजिम मतगणनालाई निरन्तरता दिनसमेत निर्णय गरेको आयोगले जनाएको छ ।
प्रतिनिधिसभाको मतगणनाको क्रममा एक सयभन्दा बढी मतपत्र प्रदेशसभाको फेला परेपछि सुरु भएको विवादका कारण आइतबारदेखि गणना रोकिएको थियो । नेकपा एमालेले पुनः मतदानको र नेपाली कांग्रेसले तत्काल मतगणनाको माग राखेका थिए।
उदयपुर क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डा नारायण खड्का र नेकपा एमालेबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा छन् ।








