रुपन्देही–३ मा गृहमन्त्री खाणको अग्रता कायमै

भैरहवा । रुपन्देहीको पाँचवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि गृहमन्त्री बालकृष्ण खाणको पनि उम्मेदवारी परेको हुँदा अहिले यो क्षेत्रलाई सर्वाधिक चासोका साथ हेरिएको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा मायादेवी गाउँपालिका–७ र ८ तथा तिलोत्तमा नगरपालिका–१४ को मतगणना सकिएको छ । तीनवटा वडाको मतगणनाको परिणाम आउँदा गृहमन्त्री बालकृष्ण खाणले अग्रता कायम गरे । यी तीनवटै वडाको मिलाएर नौ हजार एक सय ३९ मतको गणना हँुदा खाणले तीन हजार चार सय २४ मत पाए । उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले तीन हजार तीन सय ७१ मतले खाणलाई पछ्याई रहेका छन् ।
सोही क्षेत्रको प्रदेशसभा १ मा सत्ता लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे तीन हजार ६७ मतका साथ अग्रस्थानमा छन् । उनलाई जनता समाजवादी पार्टीका महेन्द्र यादवले दुई हजार एक सय २८ मतका साथ पछ्याई रहेका छन् ।
रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले अहिले ३ नंमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष, प्रदेशसभा ३ (१) को प्रत्यक्ष र यसैको समानुपातिकसमेत गरी चार स्थानबाट मतगणना जारी रहेको जानकारी दिए । उनले एक साताभित्र सम्पूर्ण मतपरिणाम दिने विश्वास दिलाए ।
पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीको सबै क्षेत्रमा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं १ मा नेकपा एमालेका छविलाल विश्वकर्माले एक हजार सात सय ३८ मत प्राप्त गर्नुभएको छ । उनलाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल एक हजार चार सय चार मतसहित पछ्याई रहेका छन् ।
रुपन्देही निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले तीन हजार तीन सय २९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका विष्णु पौडेल दुई हजार आठ सय ९१ मत ल्याई दोस्रो तथा सत्ता गठबन्धनका समर्थन रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगरले दुई हजार दुई सय ९४ मत प्राप्त गरेका छन् ।
निर्वाचन क्षेत्र नं ४ मा लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ल तीन हजार नौ सय ९४ मत प्राप्त गरी पहिलो स्थानमा छन् । उनलाई नेपाली कांग्रेसका प्रमोदकुमार यादव दुई हजार सात सय ६१ मतका साथ पछ्याई रहेका छन् । यस्तै जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले दुई हजार एक सय १४ मत प्राप्त गर्नुभएको छ । रुपन्देही निर्वाचन क्षेत्र नं ५ मा एमालेका वासुदेव घिमिरेले पाँच हजार ७० मत पाउनुभएको छ । यस्तै नेपाली कांग्रेसका भरतकुमार शाहले चार हजार सात सय ५२ मत ल्याएका छन् ।








