एक शताव्दी पुग्नेहरुको भोट हाल्ने तिर्खा

काठमाडौँ । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैँ मत हाल्नको लागि पनि यहाँ उमेरले रोकेन । बुढेसकालमा भोट हाल्ने तिर्खाले सताएपछि भोट हालेर तिर्खा मेट्नेहरु अत्यधिक छन् । एक शताव्दी पुग्नेहरुले भोट खसालेर चुनावमा उत्साह थपेका छन् । शताव्दी पुगेकाहरु मतदानस्थलमै पुगेर आफूले चाहेको उमेदवारलाई जिताउन मत खसाल्दा त्यहाँका मतदातामात्र उत्साहित भएनन्, भोट हालेर के हुन्छ भन्नेहरुलाई पनि उचित पाठ मिलेको छ ।

चितवनको रत्ननगर नगरपालिका वडा नं १६ मा रहेको मतदानस्थलमा १०५ वर्षका वृद्ध तारानाथ नेपाललेले मत खसाले । उनले आफूले रोजेको उमेदवारलाई मत खसाल्न पाउँदा खुसी लागेको बताए । उनले हालसम्म कतिपटक मत खसाले भन्नेमा त्यति भेउ पाउन सकेनन् ।

उनी भन्छन्, ‘पञ्चायत कालदेखि धेरै पटक मत हालेँ, अहिले त भुलेँ, जेहोस् यो उमेरमा पनि मत हाल्न पाएँ ।’ रत्ननगर १६ मा रहेको भद्रकाली माविबाट १०५ वर्षका वृद्धले मतदान गरेका हुन् । उनी रत्ननगर नगरपालिकाकै ज्येष्ठ मतदाता हुन् । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतान्त्रिक नेपालसम्म आइपुग्दा पनि मत हाल्न पाउँदा अत्यन्तै खुसी लागेको उनी बताउँछन् ।

यस्तै, म्याग्दीमा १०७ वर्षका वृद्धले मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उनी आफैँ मतदानस्थलमा पुगेर मत खसाले । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको ‘क’ मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारी बताउँछन् ।

यस्तै, पश्चिम नवलपरासीमा १०३ वर्षकी वृद्धाले मतदान गरिन् । नवलपरासीको रामग्राम नगरपालिका वार्ड नं १८ धरमपुरकी १०३ वर्षीया जेष्ठ सदस्य फूलमती तामाङले मत हालेकी हुन् ।

उनले भनिन्, ‘बुढेसकालमा भोट हाल्ने तिर्खा मेटियो ।’ उनले प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत ज्ञानज्योती आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरिन् । उनी भन्छिन्, ‘यो उमेरमा पनि यसरी भोट हाल्न पाइन्छ भन्ने सोचेको थिइनँ, पाएँ खुसी लागेको छ, अझै अर्को चुनावमा पनि यसरी नै भोट हाल्न पाऊँ ।’

यस्तै, तनहुँ जिल्लामा पनि ११३ वर्षीया वृद्धाले मतदान गरेकी छन् । भानु नगरपालिका–५ सेपाबगैंचास्थित महादेवता प्रावि मतदान केन्द्रमा गोपीमाया पोखरेलले मतदान गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *