नेपाल–पाकिस्तान मैत्रीपूर्ण फुटबल : नेपाल १-० गोलले विजयी (तस्बिरसहित)

काठमाडौँ । नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । काठमाडौंको दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले पराजित गरेको हो ।

पहिलो हाफ बराबरी खेलेका दुबै टोली मध्ये घरेलु मैदानको लाभ उठाउँदै नेपालले पाकिस्तानविरुद्ध १ गोल बनाएको हो । नेपालका लागि अञ्जन विष्टले खेलको ८२ औं मिनेटमा १ गोल निकालेका थिए ।

पाकिस्तानले भने कुनै गोल गर्न सकेन ।

नेपालको लागि अन्जनको यो ११ औं अन्तराष्ट्रिय गोल हो । अन्जन सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन राइमाझी भन्दा दुई गोलले पछि रहेका छन् ।

रंगशालामा अन्जनले लगातार दोस्रो खेलमा गोल गरेका हुन् । अन्जनले गत असोजमा बंगलादेशविरुद्ध रंगशालामा ह्याट्रिक गरेका थिए । भने,अन्जन खेलको प्लेयर अफ द म्याच समेत चुनिए ।

यस जितसँगै नेपालले दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा समेत पूरा गरेको छ ।

नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक रुपमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो ।

सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद अन्तर्गत सेप्टेम्बर १८ मा नेपालले दशरथ रंगशालामा पहिलो औपचारिक खेल खेलेको हो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको थियो ।

यस्तै नेपालले पाकिस्तानविरुद्ध पाँचौ जित निकाल्न सफल भएको छ ।

नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो ।

पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो । नेपालविरुद्धको खेलसँगै पाकिस्तान अन्तराष्ट्रिय फुटबलमा फर्किएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *