काठमाडाैँ–१ : घरदैलोमा प्रकाशमान, मतदाता भन्छन्, लाजपूर्जा खै ? [भिडिओ]

काठमाडौँ । काठमाडौं क्षेत्र नं १ का उम्मेदवार प्रकाशमान सिंह घरदैलो कार्यक्रममा व्यस्त छन् । मैतीदेवी आसपासमा घरदैलोमा मंगलबार उनी व्यस्त भेटिए । घरदैलो कार्यक्रममा मकालुखबरसँग कुरा गर्दै सिंहले यो पटक पनि प्रतिनिधि सभाको चुनाव आफूले अत्यधिक बहुमतले जित्ने दाबी गरे ।

लोकतन्त्रका लागि गरेकाे संघर्ष र संविधान निर्माणमा आफूले खेलेको भूमिका अपरिहार्य रहेकाले आफू सुरक्षित रहेको उनी ठान्छन् । जनताले आफूलाइ प्रधानमन्त्री बनाउन चाहेको उनले बताए।

भन्छन्, ‘मतदाता उत्साहित हुनुहुन्छ। जनताले जितेर प्रधानमन्त्री बन्नु पर्छ भन्नु हुन्छ । मेरो पछाडि को छ थाहा छैन । तर मलाई लाग्छ मेरो प्रतिस्पर्धी धेरै पछाडि हुनुहुन्छ । मलाई यहाँका जनता तिजाउन तयार हुनुहुन्छ । म अत्यधिक मतले जित्छु । यसमा कुनै दुईमत छैन ।’

यो पटकको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका उनी संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबी गर्छन् । उनले आफू गठबन्धनको बलियो उम्मेदवार भएकाले कसैले आफू विजय हुनबाट रोक्न नसक्ने तर्क गरे । उनले गठबन्धनलाई बलियो बनाए मात्र संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने बताए ।

के भन्छन् मतदाता ?
घरदैलो कार्यक्रममा सिंहले एक वृद्ध आमासँग भोट मागे उनलाई ती आमाले अविर लगाइदिइन् र आफूहरूको माग पूरा गर्ने आग्रह गरिन् । उनले तीन पटकसम्म जिताएर पठाउँदा पनि आफ्नो माग पूरा नगरेकाेमा निराशा पनि व्यक्त गरिन् । त्यसपछि मकालुखबरले उनकाे माग के थियाे भनेर प्रश्न गरेकाे थियाे ।

जवाफमा ती आमाले पुरानो घर हेर्दै उनले भनिन्, ‘घर पनि राम्रो बनेको छैन । पूर्जा पनि आएन । उहाँले गर्दिन्छु मात्र भन्नु हुन्छ ।’

अर्की मतदाता भन्छ्नि्, ‘२०३५ सालदेखि यो स्थानमा बसिरहेका छौँ, हाम्रो लाजपूर्जा पनि छैन । बाटो पनि साँघुरो छ । यसले धेरै पटक उहाँसँग लालपुर्जा चाहियो भनेर कुरा पनि गरेका छौँ । यो पटक आउँला कि ….., प्रोसेस भइराखेको छ रे ।’

हामी उम्मेदवार सिंहकै टाेलीमा सहभागी भएर लगभग १५ घर डुल्याैँ । प्रत्येक घरका जनताको आआफ्नै पीडा रहेछन् । बाटो साँघुरो भएकाले सो क्षेत्रका स्थानीय बाटो बढाउन पाए हुने भन्ने मनसायमा छन् ।

भिडिओ

चौथो जितको तयारी तर कठिन
उनी यस क्षेत्रबाट तीन पटकसम्म सिंह यस पटक पनि काठमाडौँ–१ बाट चुनाव जित्ने दाउमा छन् । तर यो पटक भने उनलाई जित्न सहज भने छैन । किनकि उनी परीक्षित छन् । र, उनलाई टक्कर दिन नयाँ अनुहारका नवयुवा समेत चुनावी मैदानमा छन् ।

यस क्षेत्रबाट हाल राप्रपाका रवीन्द्र मिश्र पनि उठेका छन् । उनीहरू २०७४ को निर्वाचनका पहिलो र दोस्रो उम्मेदवार हुन् । सो बेला सिंहले यो क्षेत्रमा १० हजार ९ सय ३६ मत पाएका थिए । उनले मिश्रलाई ८ सय १८ मतले हराएका थिए । मिश्रले उक्त निर्वाचनमा १० हजार १ सय १८ मत ल्याएका थिए । तर यसपटकको म्याचमा यी दुई खेलाडी मात्र मैदानमा छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार वम नेकपा एमालेका किरण पौडेल, विवेकशील साझाबाट शंकर बन्जाडे, नेपाल सुशासन पार्टीबाट रमेश खरेलको पनि चर्चा उत्तिकै हुने गरेको छ ।

के थियो स्थानीय तहमा

स्थानीय तहको निर्वाचनमा दलहरूले प्राप्त गरेको वडा गत मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा यसपटकको मुख्य प्रतिस्पर्धा कांग्रेसका सिंह र एमालेका पौडेलबीच नै हुने देखिन्छ । स्थानीय निर्वाचनमा कांग्रेसका वडा अध्यक्षहरूले यहाँ ९ हजार ८ सय ९५ मत पाएका थिए ।

त्यस्तै एमालेका वडा अध्यक्षहरूले ९ हजार ५ सय ४१ मत पाएका थिए । त्यस्तै माओवादी केन्द्रका उम्मेदवारहरुले एक हजार एक सय ७७ मत ल्याएका थिए । कांग्रेस र माओवादी एउटै गठबन्धनमा भएका कारण सिंहलाई यसपटक माओवादीको मत गएको अवस्थामा भने उनी केही अघि हुने देखिन्छ । रवीन्द्र मिश्र सम्मिलित राप्रपाले उक्त निर्वाचन क्षेत्रमा एक हजार तीन सय १२ मत मात्र प्राप्त गरेको थियो । मिश्र स्थानीय निर्वाचनका बेला विवेकशील साझा पार्टीको अध्यक्ष थिए ।

उनको पार्टीका वडा अध्यक्षका उम्मेदवारहरुले उक्त क्षेत्रमा एक सय ९४ मत मात्र ल्याएका थिए । काठमाडौँ क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह, प्रदेशसभा कमा दीपेन्द्र श्रेष्ठ र प्रदेशसभा खमा सुरजचन्द्र लामिछाने उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *