आम चुनावको फरक दृश्य : गठबन्धनबाट चुनाव, आफ्नै क्षेत्रको बढ्ता तनाव !

काठमाडौँ । ४ मङ्सिर को आम चुनावमा दुई वटा गठबन्धन प्रष्ट रूपमा छन् । पाँच दलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा छ भने नेकपा एमाले नेतृत्वको गठबन्धनमा राप्रपा, जसपा लगायतका साना दलहरू छन् । चुनाव गठबन्धनबाट लडे पनि शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रमा बढ्ता केन्द्रित भएका छन् । दोस्रो, तेस्रो तहका नेताहरू त चुनावी अभियानका क्रममा आफ्नो निर्वाचन क्षेत्रबाट निस्कन गाह्रो भएको देखिएको छ ।

अघिल्ला निर्वाचनमा शीर्ष नेताहरू देशव्यापी रूपमा दौडधुप गरेर पार्टी र उम्मेदवारका पक्षमा मत माग्न सक्रिय देखिन्थे । तर। यस पटक भने त्यस्तो दृश्य कमै देख्न पाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बाहेक सबै दलका अन्य शीर्ष नेताहरू चुनाव प्रसारमा आफ्नै क्षेत्रमा सीमित छन् ।

देउवा र ओलीले दुई दर्जन बढी चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । ‘अध्यक्ष ओलीले देशव्यापी रूपमा दुई दर्जन बढी चुनावी सभामा भाग लिनुभयो’ एमाले नेता रामशरण बजगार्ईं भन्छन्, ‘अब केही दिन मात्रै बाँकी रहेकाले उहाँको दौडधुप अझ बढेको छ ।’

मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिन मात्रै बाँकी छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ । मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । त्यसो त अध्यक्ष ओलीले बढी जसो समय गृह जिल्ला झापामा बिताएका छन् ।

प्रचण्ड र माधव नेपाल पनि देशका केही भूभागमा पुगे । तर, चार वटै पार्टीका अन्य शीर्ष नेता भने आफ्नै क्षेत्रमा मात्र चुनावी अभियानमा सक्रिय छन् । ०७४ मा चितवन—३ बाट चुनाव जितेका उनी यस पटक गोरखा २ पुगेका छन् । गोरखामा माओवादीको राम्रो भए पनि उनी आफ्नो निर्वाचन क्षेत्रमा प्रचार अभियानमा अलि बढी नै केन्द्रित भएका छन् ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल यदाकदा गठबन्धनको चुनावी कार्यक्रममा सहभागी भएका छन् । तर, पूर्व प्रधानमन्त्री झालनाथ खनालले अधिकांश समय आफ्नै क्षेत्रमै बिताएका छन् । कांग्रेसका रामचन्द्र पौडेल, कृष्ण सिटौला, राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन लगायत आफ्नै क्षेत्रमा सीमित छन् ।

लामो गृहयुद्धको अन्त्य, शान्ति—सम्झौता र गणतन्त्र स्थापनामा खास भूमिका खेलेका नेता हुन्, कृष्णप्रसाद सिटौला । संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने संविधान जारी भएपछिको दोस्रो प्रतिनिधिसभा निर्वाचनमा उनी झापा—३ बाट उठेका छन् । २०४८ यता उनले प्रतिस्पर्धा गरेको यो सातौँ राष्ट्रिय निर्वाचन हो । यस पटक उनको मुख्य प्रतिस्पर्धीका रूपमा राप्रपाका अध्यक्ष लिङ्देन चुनावी मैदानमा छन् ।

लिङ्देनलाई नेकपा (एमाले)को समर्थन छ । यस कारण पनि सिटौला बाहिर निस्कन सकिरहेका छैनन् । किनभने, नेपाललाई गणतन्त्र बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सिटौलाले सम्भवतः जीवनको यो अन्तिम चुनावमा राजावादी लिङ्देनलाई परास्त गर्न गठबन्धनको भोट सुरक्षित राख्दै स्वतन्त्र मतदाता र एमालेभित्रका प्रगतिशीलहरूलाई तान्न सक्नुपर्ने देखिन्छ ।

पूर्व प्रधानमन्त्री खनाल पनि इलामबाट बाहिर गएको देखिएको छैन । प्रदेश १ मा नै बढी सीमित खनाल केही दिनका लागि भने काठमाडौँ आएका थिए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश समय तनहुँ—१ मा बिताएका छन् । कांग्रेसका अर्का नेता गोविन्दराज जोशीको असहयोगका कारण नेता पौडेल दबाबमा छन् । राप्रपाका राजेन्द्र लिङ्देनलाई एमालेले समर्थन गरेपछि झापा—३ का कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलामाथि चर्को दबाब परेको छ । त्यसैले उनी सिटौला आफ्नो क्षेत्रको चुनावी प्रचारमा व्यस्त छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो निर्वाचन क्षेत्र छाडेका छैनन् ।

ठुला पार्टीको नेतृत्वको दावी गरिरहेका कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्मा, नेपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगायतका नेताहरू आफ्नै निर्वाचन क्षेत्रमा मात्रै समिति छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ लगायत पनि आफ्नो निर्वाचन क्षेत्रबाट बाहिर निस्कन सकिरहेका छैनन् ।

गगन थापा आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर भोट मागिरहेका छन् । तर, देशका अन्य भागमा पसिरहेका छैनन् । काठमाडौँ ४ का जनतामाझ रहेर उनी चुनाव प्रचार अभियान चलाइरहेका छन् ।

एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । उनी पनि देश दौडाहामा छैनन् । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी रेखा शर्माले पोखरेललाई कडा चुनौती दिइरहेकी छन् । तर, पोखरेल आफूलाई भावी प्रधानमन्त्री र भावी एमाले अध्यक्षको रूपमा भोट मागिरहेका छन् । पार्टी र मुलुकको नेतृत्व दाबी गर्दै गरेका पोखरेल पनि दाङ २ बाट बाहिर चुनावी प्रचारमा निस्कन सकिरहेका छैनन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ २०६४ सालको पहिलो संविधानसभाको चुनावमा मनाङ र कास्की—१ बाट उम्मेदवार थिए । दुवै ठाउँबाट चुनाव जितेपछि एउटा ठाउँ रोज्नुपर्दा मनाङ रोजे ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र बिच तालमेल हुँदा गुरुङ लमजुङबाट पहिलो पटक उम्मेदवार बने र जिते पनि । देव गुरुङ ३९ हजार ४६८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका दिलबहादुर घर्तीले ३१ हजार ६७ मत पाएका थिए । मनाङको नासो गाउँपालिका—४ मा जन्मिएका गुरुङ यस पटक अघिल्लो निर्वाचनमा सहयात्री पृथ्वी सुब्बा गुरुङसँग आमनेसामने हुुँदैछन् ।

अघिल्लो पटक सहमतिमै एउटा प्रदेश र अर्को केन्द्रमा लागेका गुरुङ द्वय पहिलो पटक एकै चुनावीप्रतिस्पर्धामा भिड्न लागेका हुन् । पृथ्वी सुब्बाले फेरि मुख्यमन्त्रीबन्ने बताएकाले ‘दुई भाइ’ भिड्नु नपर्नेमा आशावादी थिए तर दुवै प्रतिनिधि सभामा उम्मेदवार बनेपछि दुवैका लागि जित प्रतिष्ठाको विषय बनेको छ । यस कारण गुरुङ लमजुङ बाहिर चुनावी प्रचारमा निस्कन सकिरहेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *