नक्कली गठजोडले देश चलाउँदैन, झगडामात्र गर्छ : ओली

कालिकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली गठजोडले देश चलाउन नसक्ने र झगडामात्र गरिरहने दावी गरेका छन् ।
कालिकोटमा आइतबार आयोजित एमालेको चुनावी सभामा अध्यक्ष ओलीले भने, ‘सिंगो देश हाँक्ने शक्ति एमालेसँग छ, नक्कली गठजोडसँग न नीति छ, न साझा घोषणा नै छ ।’
अध्यक्ष ओलीले साझा घोषणा दिन नसक्नेले कसरी साझा काम गर्न सक्छ भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘जनता अल्मलाएर बहुमत ल्याउँला भन्ने लागेको होला, त्यो सम्भव छैन ।’ उनले अदालतको परमादेशबाट दुनियाँमा कहिँ सरकार नबनेको र नेपालमा मात्र सम्भव भएको बताए ।
‘सेटिङबाट प्रधानमन्त्री भएको यो सरकारले केही गर्न सक्दैन, देश बनाउन एमाले चाहिन्छ, गएको ४१ महिनामा देशलाई कुन विकासको गतिमा हामीले लगेका थियौँ, त्यो नेपाली जनतालाई थाहा छ’ अध्यक्ष ओलीले भने, ‘कपालमा जेल लगाएर प्रचण्ड जुन काम पनि आफूले गरेँ भनेर प्रचार गरिरहेका छन्, त्यसमा सत्यता छैन ।’








