काठमाडौँ-९ : श्रेष्ठ र धमला प्रतिस्पर्धामा, कस्को पल्ला भारी ?

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौँ क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेकपा एमालेबाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिस्पर्धामा छन् । त्यस्तै सत्तारुढ वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला छन् । उनीहरु दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
विसं २०७४ निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार एमालेका श्रेष्ठले कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितलाई आठ हजार ५० मतले मतान्तरले पराजित भएका थिए । उनले तत्कालीन समयमा २२ हजार आठ सय ५२ मत प्राप्त गरेका थिए । त्यतिबेला विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले चार हजार नौ सय ४६ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका थिए ।
अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठलाई गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतपरिणामले विरासत जोगाउन हम्मेहम्मे देखिन्छ । प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ९ मा १४ वटा वडा पर्छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले आठ वडा र एमालेले छ वडामा विजय हासिल भएको छ । एमालेका वडाध्यक्षले पाएको मतभन्दा कांग्रेस छ सय ३४ मतान्तरले अगाडि छ । कांग्रेस र नेकपा एकीकृत समाजवादीले माओवादीका धमलालाई समर्थन गरेको छ । कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको मत जोड्दा कुल २१ हजार ७६ हुन्छ । विसं २०७४ को निर्वाचनमा चार हजार नौ सय ४६ मत प्राप्त गरी तेस्रो स्थान हासिल गर्नुभएका विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डे पनि श्रेष्ठका लागि तगारो बन्न सक्छन् ।
अग्रगमनको पक्षमा संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासन राजनीतिक मुख्य एजेण्डा लिएर कल्पना धमला मैदानमा उत्रिएका छन् । संविधानमा उल्लेखित नागरिकका मौलिक हकलाई कानुन बनाएर कार्यान्वयन गर्ने उनले प्रतिबद्धता गरेका छन् । गठबन्धन दलहरूको परम्परागत मत तान्न नसके माओवादी केन्द्रकी धमलालाई विजयी गाह्रो हुने देखिन्छ ।
एमालेका कृष्णगोपाल श्रेष्ठले यसअघिको कार्यकालमा बाँकी सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका अपूरा योजना नयाँ कार्यकालमा पूरा गर्ने मुद्दा बोकेर चुनावी मैदानमा उत्रिएका छन् । उनले राजनीतिमा युवालाई आकर्षण गर्न आगामी संसदीय र निर्वाचनको प्रक्रियामा सहभागी नहुने बताउँदै आएका छन् ।
साझा पार्टी नेपालबाट उम्मदेवारी दिनुभएका मिलन पाण्डले शिक्षकलाई सांसदलाई भन्दा बढी तलब दिनुपर्ने माग उठाउँदै आएका छन् । मर्यादाक्रममा शिक्षकलाई ‘मानार्थ’रूपमा सांसदकै तहमा राख्नुपर्नेमा उनको जोड छ । प्रधानाध्यापकलाई मन्त्रीसरह तलव–सुविधा र ‘मानार्थ’रूपमा मर्यादाक्रममा मन्त्रीसरह राख्ने उनको प्रमुख एजेण्डा छ ।
प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ९ मा १४ वटा वडा पर्छन् । काठमाडौँ महानगरका १२, १४, २१, २२, चन्द्रागिरि नगरपालिकाका १, १२, १३, १४, १५, नार्गाजुन नगरपालिकाका ६, ७, ८, ९, १० वडा यस क्षेत्रभित्र पर्छन् । जसमध्ये कांग्रेसले काठमाडौँका दुई, चन्द्रागिरिका तीन र नागार्जुनका तीन वडामा विजय हासिल गरेको छ । एमालेले काठमाडौँका दुई, चन्द्रागिरिका दुई र नागार्जुनका दुई वडामा विजय प्राप्त गरेको छ ।
गत स्थानीय तहको मतपरिणाम अनुसार कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसका वडाध्यक्षहरुले १९ हजार नौ सय १६ मत प्राप्त गरेका छन् भने एमालेका वडाध्यक्षले १९ हजार दुई सय ८२ मत ल्याएका छन् । त्यस्तैगरी माओवादी केन्द्रका वडाध्यक्षहरुले छ सय ९५ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले चार सय ६५ मत प्राप्त गरेको छ ।
काठमाडौँ–९ मा १२ दलगत उम्मेदवार र १० स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी रहेको छ । श्रेष्ठ, धमला, पाण्डेसहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर पोखरेल, कांग्रेस विपीबाट रमेश थापा, राप्रपाबाट देवेन्द्र प्रधान, जसपाबाट शर्मिला सुवाल डङ्गोललगायतको प्रतिस्पर्धा हुने देखिन्छ ।
सो क्षेत्रमा न्यूरोड, सङ्कटा मन्दिर, भोटेबहाल, लगनटोल, यंगाल, ब्रम्हटोल, जैशीदेवल, टेकु, कुलेश्वर, रविभवन, बल्खु, कलङ्की, स्युच्टार, एलआरआइ स्कुल, खड्कागाउँ, नयाँ नैकाप, पुरानो नैकाप, तीनथाना, सतुङ्गल थोरै भाग, बलम्बु थोरै भाग, दहचोक, भीमढुङ्गा, रामकोट, डाडापौवा, हसन्टारलगायत प्रमुख स्थान पर्छन् ।
प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ९ मा ७२ हजार एक सय ७३ मतदाताले मतदान गर्न ८५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने ३४ मतदानस्थल तोकिएको छ । कुल मतदातामध्ये ३५ हजार ५८ पुरुष र ३७ हजार एक सय १४ महिला छन् ।








