बागमती प्रदेशको नेतृत्व गर्न चुनाव लड्दैछु : देवी ज्ञवाली (अन्तर्वार्ता)

चितवन क्षेत्र नम्बर २ ‘ख’ प्रदेश सभाका उम्मेदवार हुन् देवी ज्ञवाली । नेकपा एमालेको चितवनमा गत वर्ष सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएपछि ज्ञवालीको चर्चा चुलिएको हो । एमालेको पोलिटव्युरो सदस्य र चितवन जिल्ला इन्चार्ज रहेका ज्ञवाली बागमतीको भावी मुख्यमन्त्रीका लागि दाबेदार छन् । सरल जीवनशैलीका ज्ञवाली स्थानीयस्तरमा लोकप्रिय छन् । निर्वाचनको प्रचारप्रसारमा सक्रिय रहेका ज्ञवालीसँग चुनावकै विषयलाई लिएर मकालुखबरले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएका छ :-

चुनावी प्रचारप्रसार तीव्र पार्नुभएका छ, मतदाताको कस्तो प्रतिक्रिया पाउनु भएको छ ? 
सबै मतदाताको सहानुभूति पाएको छु  । यो भन्दा पहिले म तीन पटक चुनावी मैदानमा उत्रिसकेको छ । पहिलेको भन्दा बढी सहानुभूति मैले अहिले व्यक्तिगत रूपमा प्राप्त गरेको छु । सबै पक्षका साथीहरूको सदाचारिता पाएको छ । सबैको विश्वास मैले कदर गर्न सक्नुपर्छ ।  पार्टीभन्दा माथि उठेर दलीय सिस्टममा टिकट लिँदा एउटा दलकै तर्फबाट टिकट लिनुपर्ने बाध्यता छ । तर, मेरो व्यवहार फरक हुने छैन । चितवनका सबै दलका कांग्रेसका माओवादीका राप्रपाका हुन् वा स्वतन्त्र व्यक्तित्व नै किन नहोस् सबैसँग मेरो एउटै व्यवहार हुनेछ ।

दोस्रो मेरो संयोग कस्तो परेको छ भने यो प्रदेशमा उम्मेदवारी दिँदा यसपटक रविजी आउनुभएको छ । तर, उहाँहरूको प्रादेशिक रूपमा उम्मेदवारी छैन । यस्तो अवस्थामा उहाँहरूको पनि मलाई सहानुभूति छ । सबै मतदातालाई देवी ज्ञवाली एउटा पीडामा परेको मान्छे हो, यसलाई जिताउनुपर्छ भन्ने लागेको छ । हिजो भरतपुर महानगरमा देवी ज्ञवाली कसरी हा-यो, सबैलाई थाहा छ, त्यतातिर पनि म अब जान चाहिनँ । हिजो एमाले पार्टीको निर्देशनमा माओवादी अध्यक्ष प्रचण्डलाई जिताउन दौडिएकै हो । प्रचण्डलाई जिताउन सेक्रिफाइस गरेको हो । त्यसैले आम मतदाताले माया, हौसला र प्रेरणा पाएको छु ।

मतदाताको मन जित्ने आधारहरू के के छन् ? 
२०६२/६३ को निरंकुशताविरुद्ध देवी ज्ञवाली पनि लागेको हो । हिजो निरंकुशतावादीले जनताको टाउकोमा हान्दा देवी ज्ञवालीले टाउको थापेको हो । प्रजातन्त्रको लागि होस् वा जनआन्दोलनमा होस् कांग्रेसी लोकतान्त्रिक योद्धा सँगसँगै देवी ज्ञवाली पनिसँगै लडेको विगतको इतिहास छ । तसर्थ सबै लोकतन्त्रवादी साथीहरूलाई देवी ज्ञवाली एउटा निष्ठाको राजनीति गर्छ भन्ने छ ।  त्यसकारण यसपटक यस क्षेत्रका सबै मतदाताले मद्दत गर्नेछन् । प्रादेशिक नेतृत्व लिनको लागि देवी ज्ञवालीलाई जिताउनुपर्छ भन्ने सबैमा छ । यहाँको विकासको लागि सत्पात्र बन्न सक्छु भन्ने मलाई पनि लागेको छ । सबै मतदाताले मप्रति गरेको विश्वास जहिले पनि म शिरमा राख्नेछु र विकासमा होमिनेछु ।

संघीय सांसद हुन छोडेर प्रदेशतर्फबाट किन उम्मेदवारी दिनुभयो ? 
मेरो हाइटले त संघीय सांसदमा नै उठ्नुपर्ने हो । देवी ज्ञवाली संघ छोडेर प्रदेशमा किन उठ्यो भन्ने धेरैलाई लागेको छ, पार्टीले सम्भवतः प्रदेशतर्फको नेतृत्व लिन सक्ने देखेर मलाई प्रदेशमा खडा गराएको हुनुपर्छ । बागमती प्रदेशको नेतृत्वको लागि मलाई पार्टीले प्रदेश चितवन-२ (ख)मा उम्मेदवारी दिन निर्देशन गरेको हो भन्ने मलाई लागेको छ ।

चितवन २ ‘ख’ नै किन रोज्नुभयो ?
चितवनमा भएको एमालेको दसौँ महाधिवेशनमा म सबैभन्दा बढी मत ल्याएर विजयी भएको हुँ । म पोलिटव्युरो सदस्य पनि हुँ । मेरो राजनीतिक क्रियाकलापको क्षेत्र चितवन २ ‘ख’ नै हो ।  हिजो भरतपुर महानगरपालिकामा उपप्रमुख भएर काम गर्दा पनि मैले यही क्षेत्रबाट विजय प्राप्त गरेको थिएँ । यही क्षेत्रमा जनताको सेवामा आफूलाई समर्पित गरेको छु । यद्यपि म पार्टीको हिसाबले जिल्लाको समग्र वस्तुस्थिति हेर्नुपर्छ । म चितवन जिल्लाको इन्चार्ज पनि हुँ । मलाई यहाँका मतदाताले असाध्यै माया गरेका छन्, सद्भाव देखाएका छन्, जसका कारण उम्मेदवारी यस क्षेत्रमा उम्मेदवारी रहेको हो ।

निर्वाचित हुनुभएछ भने पनि प्रदेशको नेतृत्व गर्न पाउनुहुन्छ भन्ने के ग्यारेन्टी छ र ?
म धेरै चुनाव लडेँ । पटक-पटक चुनाव लड्नेमा थिइनँ । तर, जिल्ला पार्टीले मलाई प्रदेशतर्फ उम्मेदवार हुनलाई आग्रह गरेपछि म उम्मेदवार बनेको हुँ । प्रदेशको सिनियर नेता, जसको पार्टीमा लामो इतिहास रहेको छ । निरन्तर जनताको काममा समर्पित भइराखेको छु ।

पार्टी र जनतामा पार्टीगत पूर्वाग्रह नराख्ने, सबै पार्टीका मान्छेसँग सम्बन्ध कायम गर्न सक्ने चितवनको विकास जस्तै यहाँ महानगरपालिका बनाउनुपर्छ भनेर राज्य पुनर्संरचनामा लड्ने व्यक्ति हुँ म । चितवनको विकास र समृद्धिको लागि प्रदेशमा हाम्रो दाबेदारी रहन्छ । पार्टीले बागमती प्रदेशको नेतृत्व लिने उपयुक्त पात्र मलाई देखेको छ ।

पार्टीको सिनियर बेसमा र महाधिवेशनमा सर्वाधिक मत पाउने एउटा व्यक्तिको हिसाबमा प्रदेशका नेतृत्व पार्टीले मलाई दिन्छ भन्ने लागेको छ । जनताको मनमा पनि विगतको पीडित मान्छे हो, यसले राजनीतिप्रति निष्ठा पूर्ण ढङ्गले काम गर्छ भन्ने छ । कुनै कमाइ-धमाइमा लागेको छैन । निजी व्यवसायमा यो खटिएको छैन । जे छ जनताकै काममा समर्पित छ भन्ने जनतालाई थाहा छ । आवश्यकताले र मागले मलाई बागमती प्रदेशको नेतृत्व लिने अवसर मिल्छ भन्ने नै छ । पार्टी जनता सबैलाई देवी ज्ञवाली प्रदेशको जिम्मेवारी लिने सक्ने हैसियतको छ भन्ने लागेको छ ।

तपाईँको चुनावी एजेण्डाहरु के-के छन् ? जित्ने आधार के छन्  ?  
मैले मूलतः ५ वटा विषयलाई अगाडि ल्याउन चाहेको छु । भरतपुर मेडिकल सिटीमा विकसित हुँदैछ, तर हाम्रो यो देशको १३ वटा जिल्लाको बिरामीहरूको सेवा हामीले भरतपुर अस्पतालबाट पुर्‍याउनुपर्छ । हिजो १५० बेड थियो, ३०० हुँदै ६०० बेड भयो र अब हामीले यसलाई १२ सय बेडको भरतपुर अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता छ ।

दोस्रो यो क्षेत्र भित्र सुकुम्वासीहरुको एउटा गम्भीर समस्या छ । यसलाई हल गर्ने भनेर म भूमि आयोगको अध्यक्ष पनि भएँ । पूरा कार्यकाल काम गर्न पाइनँ । मैले १२ लाख परिवारलाई पुर्जा वितरणको लागि अन्तिम तयारी गर्दै थिएँ, त्यतिबेला मलाई आयोगको अध्यक्षबाट हटाइयो । पुर्जा बाँड्ने बेलामा म बाहिर रहेँ । मैले यस विषयमा काम गर्दा ९० प्रतिशतसम्म काम सकिएको थियो । बाँकी रहेको १० प्रतिशत काम मैले यो अवधि पाएको भए सुकुम्वासीका समस्या समाधान गर्थे । भोलि पनि सरकार बन्छ, अधुरो काम पूरा गर्नुपर्छ । कुनै साथीलाई आयोगमा पठाएर पुर्जा वितरणको लागि मैले भूमिका खेल्नुपर्ने मेरो एजेण्डा छ ।

सडकका कारण काठमाडौँ जाँदा धेरै सास्ती हामीले भोग्नुपरेको छ । बर्खा लागे पनि हाम्रो यात्रा अवरुद्ध हुन्छ । यसको विकल्प खोज्नैपर्ने अवस्था छ । यसको विकल्प के हो भन्दा नारायणगढबाट १७ किलोमिटरमा हामी शक्तिखोर पुग्छौँ । त्यहाँबाट साढे ६ किलोमिटर सुरुङ हामीले बनायौँ भने हाम्रो यात्रा आधा छोटो हुन्छ । इन्धन, दुर्घटना र समय बचाउनको लागि त्रिशूली बहुउद्देश्यीय आयोजना जसलाई सुरुङ सिँचाइ, हाइड्रोपावरबाट जोडेर ल्याउनुपर्छ । सुरुङद्वारा हामीले पानी खगेरी नगरमा हाल्नुपर्छ । अहिले पश्चिम चितवनमा पानीको अभावमा खेती कम हुन थाल्यो । यस्तो स्थितिमा बाह्रै महिना खगेरी नगरमा पानी बग्यो भने चितवनको उत्पादकत्व बढ्छ ।

स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी पार्नुछ । पैसा नहुँदा उपचार नपाइने प्रचलन हटाउनुछ । गरिब नागरिकहरुले उपचार गर्न हस्पिटल मात्र होइन उनीहरूको लागि बिमाको अपरिहार्य आवश्यकता देखा परेको छ । यो बिमालाई दुई लाखसम्म गर्नुपर्ने छ । तत्कालको राजकीय क्षमतालाई दृष्टिगत गरी हामीले एक लाखको बिमा रकमलाई हामीले दुई लाखसम्म ग-यौँ भने सामान्य नागरिकको उपचार गर्ने प्रवृत्तिलाई राज्यको दायित्व भित्र ल्याउन सक्छौँ ।

अर्को महत्त्वपूर्ण कुरा हो, रोजगारी । क्याम्पस हामीले धेरै खोल्यौँ । कृषि विश्वविद्यालय यहाँ छ । वीरेन्द्र क्याम्पसमा विभिन्न संकायहरु छन् । सप्तगण्डकीलाई बहुमुखी बनायौँ । बालकुमारी तथा इञ्जिनियरिङ क्याम्पसहरू पनि खोल्यौँ । तर, हामीले सिर्जना गरेको कुरा के हो भने हामीले उत्पादन गरेको मान्छेहरूलाई जबसम्म रोजगारी दिन सकिँदैन तबसम्म नागरिकको फ्रस्टेसनलाई अन्त्य गर्न सकिँदैन । यस्तोमा रोजगारी कसरी सिर्जना गर्ने त भन्नेमा लुम्बिनीसँग चितवन राष्ट्रिय निकुञ्जलाई जोड्यौँ भने, मनकामनालाई जोड्यौँ भने हामीकहाँ आन्तरिक पर्यटक र बाह्य पर्यटक वृद्धि हुन्छ । जसका कारणले नागरिकहरूले उत्पादकत्व वृद्धि गर्न सक्छन् । त्यस्तैगरी व्यावसायिक नजरले देशको मध्य भागमा छ चितवन । ठूला उद्योग सम्भव म देख्दिन तर कृषि उद्योगदेखि अन्य उद्योग व्यवसायलाई जोडेर यो क्षेत्रको रोजगारलाई अगाडि लैजान सक्छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *