पोखरा-मुग्लीन सडक : निर्माण सुस्त, फेरि ५ सय रुख काटिने

पोखरा । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्डमा पुनः करिव ५ सय रुख कटान गरिने भएको छ । ४ सय ६६ रुख काट्नका लागि स्वीकृति लिइएको आयोजनाको वातावरण विज्ञ युवराज ढकालले जानकारी दिए ।

यसअघि ४ हजार २ सय भन्दा बढी रुख कटान भएको छ । सडक विस्तारका क्रममा यो खण्डमा मात्रै सात हजार रुख काट्ने तयारी थियो । कास्की खण्डमा थप १ हजार २ सय ५० रुख काट्नुपर्ने तथ्यांक छ । अहिले रुख कटान दुवै खण्डमा धमाधम भैरहेको छ । यसबाहेक सडक चौडा पार्ने र ठाउँठाउँमा वाल निर्माणको काम भैरहेको छ ।

मुग्लीनदेखि पोखरा सम्म ४ लेनको सडक निर्माण गर्न एसियाली विकास बैंकबाट ऋण लिइएको छ । ८० किलोमिटर उक्त सडक दुई खण्डमा विस्तार गर्न लागिएको हो । आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर र त्यसपछिको ३९ किलोमिटर सडक विस्तारपछि पोखरा छिचोल्ने छ । दुवै ठेक्का चीनका छुट्टाछुट्टै कम्पनीले पाएका छन् । पहिलो खण्ड ६ अर्व २१ करोड र दोश्रो खण्ड ७ अर्व ४० करोडमा ठेक्का लागेको छ ।

४ लेनको सडक बनाउँदा दुवैतर्फ २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । जसलाई ६ लेनमा विस्तार गर्ने योजना छ । दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ भने दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौंडादेखि पोखरासम्म ४६ मिटर चौडा सडक बनाइने छ ।

अहिले भैरहेका पुल समेत विस्थापित गरी फराकीला पुल बनाइने छ । दुवै खण्डमा ३१ वटा पक्की पुल निर्माण हुने आयोजनाका इन्जिनियर नरेन्द्र सुवेदीले जानकारी दिए । मादी नदी र सेती नदीको पुल निर्माणका लागि भर्खरै सर्भे समेत सकिएको छ । बाँकी २९ पुलको ठेक्का प्याकेजमै जोडिएको छ । आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीमा भने अझै डिजाइन मिलेको छैन । एकैतर्फ ४ लेनको सडक बनाउन सम्भव नभएकोले अहिले भैरहेको सडक भन्दा पारीपट्टीबाट २ लेनको सडक बनाउन प्रश्ताव गरिएको छ ।

निर्माण सुरु भैसकेका सडकमा पनि काम निकै सुस्त भएको छ । हालसम्म ५ प्रतिशत हाराहारी मात्रै काम भएको आयोजनाले जनाएको छ । पुर्वी खण्ड भन्दा पश्चिम खण्डमा काम अझै सुस्त छ । सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका सुवेदीले बताए । यहाँ २ हजार ४ सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने छ । सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा साढे ८ करोड क्षतिपूर्ति वितरण भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *