जुनसुकै टोल बस्तीमा गएर मैले यो काम गरेँ भनेर छाती पिटेर भन्न सक्छु :  जीवन घिमिरे (अन्तरवार्ता)

जीवन घिमिरेको २०३६ सालमा झापा शिवगञ्जको जनआदर्श माविको स्ववियु सभापतिबाट राजनीतिक यात्रा शुरु भयो । २०३५ सालमा पार्टीमा आबद्ध भएदेखि अनवरतरुपमा राजनीतिमा रहेका घिमिरे अहिले एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ को सह-इन्चार्जको भूमिकामा छन् ।  घिमिरे २०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ४ (ख) बाट निर्वाचित भए । प्रदेशसभामा निर्वाचित घिमिरे २०७४ फागुनमा शेरधन राई नेतृत्वको पहिलो प्रदेश सरकारको सामाजिक विकास मन्त्रीसमेत रहेका घिमिरेले प्रदेश सरकारमा रहँदा ३ वर्ष समग्र प्रदेशको विकासमा आफ्नो ध्यान केन्द्रित गरे । विकास प्रेमी नेता घिमिरे आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ ४ (ख) मा नेकपा एमालेबाट उम्मेदवार छन् । जीवन घिमिरेसँग चुनाव जित्ने आधार, चुनावी प्रतिस्पर्धाको बारेमा मकालुखबरका प्रदेश संवाददाता सुमन सुस्केराले कुराकानी गरेका छन् । एमाले उम्मेदवार घिमिरेसँग गरिएको कुराकानीको सारसंक्षेप :-

चुनावी अभियान कसरी चलिरहेको छ ?
मनोनयन दर्ता पछि नै मतदाता कहाँ भेट्ने, घरदैलो गर्ने काम निरन्तर रह्यो । निर्वाचन आयोगको आचारसंहिता अनुसार कात्तिक १७ देखि टोल सभा, कोणसभाहरू भइरहेका छन् । निर्वाचन क्षेत्र अन्तर्गतका विराटनगर १, २, ३, ८, १०, कटहरी १, २ र ३ मा घरदैलो, मतदाता भेट, कोणसभा, टोलसभा लगायतका काम ९५ प्रतिशत सकिएको छ ।  घर घरमा पुग्ने आफ्ना एजेण्डा सुनाउने र हिजो गरेका कामको बारेमा मतदाताका जिज्ञासा मेटाउने काम पनि सकिएका छन् । अब जीतको अन्तिम रिजल्टको प्रतीक्षा बाँकी छ ।

तपाईँकाविरुद्ध गठबन्धन उम्मेदवार छन् ? मतदाताकहाँ पुग्दा कस्तो महसुस भईरहेको छ ?
मेरो क्षेत्रमा गठबन्धन हुनु र नहुनुको तात्त्विक अर्थ छैन । यसलाई गत वैशाखमा सम्पन्न स्थानीय तहको मतपरिणामले पनि देखाएको छ । २०७४ को प्रदेशसभा निर्वाचनमा म उम्मेदवार हुँदै गर्दा एमालेले मोरङ ४ (ख) को निर्वाचन क्षेत्रमा एउटा वडा जितेको थियो । अहिले एउटा वडाका ५ जना सदस्य बाहेक सबै वडाहरू एमालेले जितेको छ । यो जित गठबन्धनका बाबजुदको जित हो । अघिल्लो निर्वाचनमा प्रतिकुल अवस्थामा मैले भारी मतान्तरमा जितेको निर्वाचन क्षेत्र हो । यसले पनि मेरो जितको आधार देखाई रहेको छ । मतदाताका घर-घरमा पुग्दा छुट्टै उत्साह छ । सबैले माया गर्नु भएको छ । तपाईँ काम गर्ने नेता हो भन्नुहुन्छ । अवसर पाउँदा कसरी काम गर्न सकिन्छ भन्ने कुरा तपाईँबाट देखिएको छ भन्नुहुन्छ । पहिलेको निर्वाचनमा भन्दा यस पटक उत्साहित छु ।

एमालेविरुद्ध तपाईँको क्षेत्रमा गठबन्धन छ नि ?
मेरो क्षेत्रमा गठबन्धनलाई स्थानीय तह निर्वाचनमा पराजित गरिसकेको अवस्था छ । त्यसैले गठबन्धन सुन्नमा प्रिय लाग्ला तर निर्वाचन क्षेत्रमा गठबन्धन छैन । त्यस्तो मैले देखेको छैन ।  यहाँको हारजित भनेको गठबन्धनसँगको हुँदैन । हारजितको यहाँ कुरै भएको छैन, म जीतको मात्र कुरा गरिरहेको छु ।

तपाईँका मुख्य एजेण्डाहरु के-के हुन ?
हामीले हिजो सरकारमा छँदा प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारको लागत साझेदारीमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने भनेर तीनै पक्षबीच साझा सम्झौता भएको छ । जग्गा अधिग्रहणको प्रक्रिया शुरु भएर बजेट समेत विनियोजन भएको अवस्थामा आज त्यो काम बदर भएको छ । बजेट फिर्ता गएको छ । संघीय सरकारले सम्झौता तोडेको अवस्था छ । यो विराटनगरवासी र प्रदेशवासीका लागि पीडादायी घटना हो । हामी भोलि सरकारमा गएपछि हिजो भएको सम्झौता अनुसारको काम अघि बढाउने छौँ ।

दोस्रो कुरा विराटनगर आज हरेक सूचकबाट हेर्दा छैटौँ नम्बरमा छ । काठमाडाैँ पछिको दोस्रो ठुलो शहरका रूपमा चिनिँदै आएकोमा आज किन छैटौँ भयो, कसले पु-यायो ? यसको पहिचान गरेर यसको निदान गरी विराटनगरको हैसियत अभिवृद्धि गरिने छ । विराटनगरसँग जोडिएका दुईवटा खोलाहरू छन् । दुईवटै नदी अहिले डम्पिङ साइड भएका छन् । फोहोर फाँक्ने केन्द्र बनेका थिए । म सरकारमा भएको समयमा त्यहाँ फोहोर फाल्नु हुँदैन, यसको रक्षा गर्नुपर्छ भनेर अभियान चलाएँ । पुस/माघको जाडोमा समेत दैनिक २-३ हजारको सहभागिता भयो । खोलामा लगेर फोहोर फाल्नु नहुने रहेछ भन्ने चेतना जनतामा जगाउन सफल भएको छु । यी खोलाहरूको सौन्दर्यकरण गर्ने मेरो सपना छ । विराटनगरको डम्पिङ साइड हैन विराटनगरको पर्यटकीय गन्तव्य स्थल बनाउने मेरो लक्ष्य छ । विराटनगरमा १४ वर्षदेखि बेवारिसे अवस्थामा रहेको चक्रपथको काम हामी सरकारमा हुँदा अघि बढेको थियो । तर ठुलो स्केलको काम भएकाले यो हुन सकेको छैन । यो काम हामी पुरा गर्नेछौँ । विराटनगर–कटहरी–बथनाह रेल्वे लामो समयदेखि बेवारिसे अवस्था छ । हामीले नै नेपाल सरकार, भारत सरकार, सरोकारवालाहरू बसेर झकझक्याउँदै त्यो रेल्वे सेवा अव बथनाहबाट भेडियारीसम्म एक-दुई महिनामा रेल आउने अवस्था छ । त्यसको बाँकी खण्ड कटहरीसम्मको काम पुरा गरी रेल सञ्चालन गर्नुछ ।

समग्र १ नं. प्रदेशको समृद्धि र विकास हाम्रो उद्देश्य हुनेछ । समृद्धिका आधारहरू हामीले पहिचान गरेका छौँ । शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, जलश्रोत, कृषि जस्ता विषयहरू हाम्रो प्राथमिकतामा पर्छन् । यसको संरक्षण, सम्र्बद्धन, उपभोग कसरी गर्ने भनेर हामीले योजना बनाएका छौँ ।

तपाईँका मुख्य चुनौती के छन् ?
मैले त खास चुनौती देखेको छैन । प्रतिस्पर्धा रहित ढंगबाट अघि बढेको छु । पहिलो कुरा त मेरो पार्टीको संगठनात्मक सञ्जाल छ । यस्तो सञ्जाल अरू कसैसँग छैन । टोल तहसम्म हाम्रो संगठनात्मक सञ्जाल छ । पार्टी भित्र एकता छ । पार्टी गतिशील छ । दोस्रो कुरा गत स्थानीय तह निर्वाचनमा धेरै जनप्रतिनिधि एमालेबाटै जितेका कारणले जनप्रतिनिधिहरूको परिचालन पनि हाम्रो प्रभावकारी छ । तेस्रो कुरा यो निर्वाचन क्षेत्रमा मात्रै हैन १ नं. प्रदेश मै म सरकारमा हुँदा धेरै उल्लेखनीय कामहरू भएका छन् । यो निर्वाचन क्षेत्रमा दर्जनौँ कामहरू मैले गरेको छु । हरेक टोलमा उभिएर यो काम मैले गरेको हुँ भनेर देखाएर बोल्न कुनै डर छैन । सायद यसरी यो यो काम गरेँ भनेर देखाएरै बोल्ने नेताहरू कमै होलान् । म जुनसुकै टोल बस्तीमा गएर पनि मैले यो गरेँ भनेर छाती पिटेर भन्न सक्छु । मेरो कामले जनताको मन जितेको छ । जुन हैसियत अरू कसैले बनाउन सकेका छैनन् ।

तपाईँले आफ्नो प्रतिस्पर्धीलाई कसरी लिनु भएको छ, उहाँले पनि एक कार्यकाल महानगरको नेतृत्व गरिसक्नु भएको छ ?
उहाँका कामले मलाई असर नगर्ला । हामी दुई उम्मेदवारको राजनीतिक जीवनको पनि जनताले अध्ययन गर्नु भएको छ । दुईवटा उम्मेदवार एक पटक जनप्रतिनिधिको जिम्मेवारी पुरा गरिसकेको हुनाले परिचयको पनि अभाव छैन । दुवै उम्मेदवार के हुन्, कस्ता हुन ? कसले कति गर्न सक्छ, सक्दैन भन्ने कुरा जनसमक्ष प्रष्ट छ । जनप्रतिनिधि भएर मात्रै पनि भएन । काम गरेको हुनु-यो । काम गरेको हुँदा चाहिँ चर्को हुन्छ । जिम्मेवारीमा बस्नु, ओहोदामा पुग्नु मात्रैलाई काम गरेको भन्न मिल्दैन ।

तपाई मुख्यमन्त्रीको आकांक्षी पनि हो नि ?
यतिबेला मुख्यमन्त्री को हुने भनेर बहस गरिहाल्ने समय हो जस्तो मलाई लाग्दैन । अहिले चुनावी अभियानमा छु । पहिलो त हामी आ–आफूले चुनाव जित्नु प-यो । त्यसपछि मुख्यमन्त्री बन्नका लागि चाहिने आवश्यक संख्या पनि हाम्रो पुग्नु प-यो, पु-याउनु प-यो । पु-याउनका लागि आजकै मितिदेखि लाग्नु प-यो । म पार्टीको प्रदेशको सह इन्चार्ज पनि हो । मेरो निर्वाचन क्षेत्र मात्रै हैन ५६ वटै निर्वाचन क्षेत्रमा मेरो ध्यान केन्द्रित पनि हुनुप-यो । भईरहेको पनि छ । बहुमत कसरी ल्याउन सकिन्छ भनेर हामीलागि रहेको अवस्था पनि छ । जब निर्वाचनको परिणाम आउँछ त्यसपछि मात्रै यस विषयमा प्रवेश गर्छौ । तर अहिले मलाई विभिन्न पक्षले मुख्यमन्त्री बन्नुपर्छ भनेर सुझाव दिइरहेको अवस्था पनि छ । मुख्यमन्त्रीको को हो भन्ने कुरा पार्टी निर्णयमा भरपर्ने कुरा हो । यो भनेको पार्टी निर्णय, प्रक्रियामा गएर टुङ्गिने विषय हो ।

याे पनि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *