हिजोका मेरा काम नै चुनाव जित्ने आधार हुन् : नेता ढकाल (अन्तरवार्ता)

मोरङ क्षेत्र नम्बर ३ मा यो पटक त्रिपक्षीय भिडन्त हुँदैछ । मंसिर ४ काे निर्वाचनका लागि दलहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । नेकपा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका सुनिल शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापा चुनावी मैदानमा मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । यी उम्मेदवार सबै आफूले नै जित्ने दाबी गरिरहेका छन् । यसअघि निर्वाचित भएर गएका एमाले नेता भानुभक्त ढकाल आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन् । उनका प्रतिस्पर्धी शर्मा भने दुई तिहाई बढी मतले लिड गरेर जित्ने दाबी गर्छन् । ढकाल र शर्माको बिचमा राप्रपाकी नेतृ तथा नायिका रेखा थापा भने यी दुवैलाई हराउने अन्तिम तयारीमा रहेको बताउँछिन् । मोरङ क्षेत्र नम्बर ३ मा १ लाख ४९ हजार ८३३ मतदाता रहेकोमा यस पटक कसले जित्छ यसै भन्न सकिने अवस्था छैन । दलका उम्मेदवारबाट मतदातामा निराश छ्न् । नयाँ विकल्प पनि खोजी रहेका छन् । २०७४ सालको निर्वाचनमा शर्मालाई पराजित गरेका ढकाल यसअघि गरेको कामको आधारमा आफूले जित्ने दाबी गर्दै आएका छन् । यसै पृष्ठभूमिमा ढकालकाे चुनावी गतिविधि र मतदाताका अपेक्षालगायत विषयमा मकालुखबरका प्रदेश १ का संवाददाता सुमन सुस्केराले कुराकानी गरेका छन् । प्रस्तुत छ साेही कुराकानीकाे सार संक्षेप : 

चुनावी गतिविधि कसरी अघि बढेको छ ?
–चुनावी घरदैलो कार्यक्रम व्यापक रुपमा अघि बढेको छ। घरघरमा पुगेर मतदाता भेट्ने काम अन्तिम चरणमा पुगेकाे छ । नेकपा एमालेलाई बहुमतको सरकार बनाउन दिनुपर्छ भन्ने भावना मतदातामा देखिएको छ।

मतदाताको चाहना के हो ?
नेकपा एमालेप्रति जनताका उत्साह पाएको छु । स्थिर सरकार जनताले चाहेका छन्, विकासको लहर एमालेले नै ल्याउँछ भन्ने जनताकाे भावना मैले पाएको छु । समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकार होस्, जनता र राष्ट्रको हितमा लाग्न सक्ने नेतृत्व गर्ने नेता र नीति भएको पार्टीको बहुमत होस् भन्ने खालको मनोविज्ञान नै मूलभूत रुपमा हामीले पाएका छौँ ।

विगतमा गरेका बाचा पूरा भएनन् भन्ने जनताको गुनासालाई तपाईँले कसरी बुझाउनु भएको छ ?
–विगतमा हामीले बहुमतको सरकार हामीलाई दिनुस्, राष्ट्रको समृद्धि र विकासको निम्ति धेरै काम गर्छौँ भनेर भनेका थियौँ । मुलत: जनतासँग भएको बाचाअनुसार जनताले दिएको मतलाई हामीले जनताको पक्षमा सदुपयोग नै गरेका छौँ । संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउने कुरा, विकास निर्माण र समृद्धिका कुरामा अगुवाइ गर्ने कुरा, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन कानुन निर्माण गर्ने कामहरू पनि हाम्रो कार्यकालमा भएका छन् ।

मुलुकमा बदलिएको संघीय लोकतान्त्रिक गणतन्त्रको संघीय संरचनाको कार्यान्वयन गर्न अनुकूल कानुन निर्माण र मौलिक हकसँग सम्बन्धित कानुन निर्माण गर्ने कुरालाई प्राथमिकतामा राखेर काम भएको छ । मुलुकलाई अप्ठेरो परेको बेलामा कोभिड संक्रमणको विरुद्धमा चलाएको कदम, ३९७ पालिकामा एकैदिन अस्पतालको शिलान्यास र निर्माणको कामहरू अहिले भई रहेका छन् । बाटोघाटो र सडक निर्माणको कामहरू पनि भएको छ। केपी ओली प्रधानमन्त्री भएको बेला विकास निर्माणलगायतका क्षेत्रमा कतै अर्थ अभाव भयो अपुग भयो भन्ने खालको अवस्था आएन । जब अदालतबाट परमादेशको भरमा सेटिङ गरेर सरकार बन्यो त्यसपछि विकास निर्माणका कामहरू ठप्प भएका छन् । मुलुक अस्थिरतातर्फ अघि बढेको छ। विकास, निर्माण, नागरिकका समस्यालाई सम्बोधन गर्ने कुरा या समृद्धिका कुराभन्दा पनि विदेशीको कन्फर्टेबल सरकार बनाउने भन्ने कुरा सत्ता गठबन्धन कै नेताहरुले भनेको कुराले पनि पुष्टि गरेकै छ । अबको ५ वर्ष एमालेले केही गर्छ भन्ने कुरालाई पनि एमालेले आफ्नो घोषणापत्र मार्फत सार्वजनिक गरिसकेको छ। जनताले एकपटकलाई बहुमत दिएको भए पनि दलहरुभित्र अस्थिरता रह्यो, विभिन्न शक्तिकेन्द्रले पार्टी भित्रको अस्थिरतालाई उपयोग गरी पार्टी विभाजन गर्नेसम्मको कामहरू भए । अब हिजोको भन्दा निक्कै सुदृढ र एकताबद्ध रुपमा एमालेको एकल बहुमतको सरकार बनाइयो भने मात्र अस्थिरताको अन्त्य हुन्छ । राष्ट्रको जितका लागि सूर्य चिन्हले जित्नु पर्छ भन्ने जनताको मनोविज्ञान छ ।

गठबन्धनका उम्मेदवारलाई कसरी लिनु भएको छ ?
–जनता र राष्ट्रको पक्षमा रहेका शक्तिविरुद्ध गठबन्धन भएको छ। अहिलेसम्म आउँदा गठबन्धन पनि रहेन । अहिले उपेन्द्र जी बाहिरिनु भएको छ। जनमोर्चा पनि दुई सिटमा रहेर अहिले चुनावमा गएको भन्ने देखिन्छ । अहिलेको अवस्थामा कांग्रेसको नेतृत्वमा उग्रवामपन्थी धारले नेतृत्व गरिरहने, एमालेभित्र एमालेलाई कब्जा गरेर कम्युनिष्ट आन्दोलन समाप्त पार्ने ध्येयका साथ लाग्नु भएका केही व्यक्तिहरूको गुट गठबन्धनको पक्षमा रहेको छ। तर आम मतदाता गठबन्धनको पक्षमा देखिनुभएको छैन । अब हामीले यही मोरङ क्षेत्र नम्बर ३ मा हेर्ने हो भने अघिल्लो पटक म साझा उम्मेदवारको रुपमा नै आएको थिएँ । आज पनि उम्मेदवार भएर आएको छु । मतदाताहरू हिजो जस्तो रुपमा बुझ्नु हुन्थ्यो आज पनि यो राम्रो छ है भनेर लाग्नु नै भएको छ। हामीले उहाँहरुसँग जे बाचा गरेका थियौँ, यो ५ वर्षमा हामीले ती बाचा पूरा गरेका छौँ । जे भन्यो त्यो कुरा पूरा गर्ने उम्मेदवारलाई छोडेर अर्को अरु उम्मेदवारलाई खोज्न किन जानू ? हिजो त्यही मान्छे खराब आज त्यही मान्छे कसरी राम्रो भन्ने प्रश्न पनि छ । जनाधारको हिसाबले मोरङ त्यसमा पनि क्षेत्र नम्बर ३ बामपन्थीहरुको अति नै प्रभावित क्षेत्र हो । जनबोलीमा यो क्षेत्रलाई लालकिल्ला पनि भन्दै आएको अवस्था छ । २०४८ सालदेखि एक/दुई बाहेक अधिकांश चुनाव एमालेले जितेको छ। स्थानीय तहको निर्वाचनमा पनि यो क्षेत्रको ४ वटै पालिकामा विजय हासिल गरेका छौँ । जनताको जनमत अहिले पनि तल्लो तहमा जाँदा राम्रो पाइरहेका छौँ । कतिपय अन्य दलका कार्यक्रम र हाम्रा कार्यक्रममा पनि यही खालको भिन्नता देखिन्छ । दलहरुले आफ्नो पहिचान कायम गर्ने कुरा भन्दा पनि गठबन्धनको बाध्यताले केही कार्यकर्ता लिएर हिँडेको देखिन्छ । जो हिँड्नु भएको छ सम्बन्धित उम्मेदवारलाई उहाँको समर्थन हुन्छ की हुँदैन भन्ने नै मुख्य कुरा हो ।

तपाईं ले जित्ने आधार के हो ?
–मेरो जितको सबैभन्दा ठुलो आधार भनेकाे जनसमर्थन हो । हाम्रो पक्षमा रहेको जनमत र पार्टीले लिएको नीति पनि हो । जनताको बहुदलीय जनवाद, साम्यवादसँगै जनवादसम्म पुग्ने हाम्रो लक्ष्य, त्यसलाई पुर्‍याउन दृढ संकल्पित केपी ओलीको नेतृत्व अहिले नेपाली जनताले चाहेको विषय हो । भावी प्रधानमन्त्री केपी ओलीलाई बनाउन यहाँका सचेत सम्मानित मतदाताले संघमा आफूलाई र प्रदेशमा अरु दुई जनालाई जिताउनेमा म विश्वस्त छु ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *