सुदूरपश्चिम : भूकम्पमा परी मृत्यु हुने सबैको सनाखत

काठमाडौँ । डोटीमा भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । बुधबार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन् भने ६ जनाको मृत्यु भएको हो ।

भूकम्पमा परी सोही ठाउँका पदम बोहराको घर भत्किदा उनकी श्रीमती भगवतीदेवि बोहरा, उनको छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सिता बोहराको मृत्यु भएको छ । यस्तै सोही ठाउँका प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले बताए ।

बेपत्ता २ जनाको भने सकुशल उद्धार गरिएको उनले बताए । डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका ३ अधिकांश घर चर्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

भूकम्पमा परी ५ जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महावीर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीया चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *