‘आन्दोलनको भट्टीबाट जन्मेको नेता हुँ, कमजोर हुनेवाला छैन : महाजन यादव

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य इ महाजन यादव धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । गत निर्वाचनमा झिनो मतान्तरले तेस्रो भएका यादव यसपाली पुनः उम्मेदवार बनेका छन् । धनुषा क्षेत्र ४ मा नेकपा एमालेका सासंद रघुवीर महासेठ र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवसमेत उम्मेदवार रहेको छन् । दुई ‘हेभी वेट’ का नेताका बीच जसपाका उम्मेदवार यादवको स्थितमा जनताले चासो व्यक्त गर्न थालेका छन् । उम्मेदवारहरु खुलेर चुनावी प्रचारमा उत्रिसकेका छन् । चुनावी माहोल तातेको छ । चुनावको ‘रस टाइम’ मा चुनावसँग सम्बन्धित विषयमै केन्द्रित रहेर मकालु खबरले जसपा नेता महाजन यादवसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

धनुषा क्षेत्र ४ मा पुनः तपाईंको उम्मेदवारी परेको छ, गत चुनावमा तेस्रो हुनु भएको थियो, यसपाली जित्नेमा कति विश्वस्त हुनुहुन्छ ?
– सबैभन्दा पहिला गत निर्वाचनमा म तेस्रो भएको होइन, जनताले मलाई ‘फ्याक्टर’ मूल्याङ्कन गरेको हो । र चुनावी जित्ने आधारभन्दा पनि जनताले मलाई यसपाली न्याय गर्नेछन् भने म विश्वस्त छु । मैले र मेरो परिवारले यस क्षेत्रमा इमानदारी पूर्वक राजनीतिक गरेको छ । मधेस आन्दोलनको जगमा संघीयता आएको छ । उक्त मधेस आन्दोलनमा मेरो र मेरो परिवारको ३० वर्षे संघर्ष रहेको छ । उक्त संघर्षकै कारणले गत निर्वाचनमा तीनपक्षीय प्रतिस्पर्धामा थाेरै मत अन्तरले पराजित भएका थिए । तर पनि मैले यस क्षेत्रको जनताका लागि निरन्तर लागि रहे । अव मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने समय आएको छ । त्यसलाई मुख्य आधार मानेर उम्मेदवार बनेको छु । मेरो र मेरो परिवारको इमानदारिता राजनीतिक यात्राका लागि भए पनि यो निर्वाचन मेरो लागि महत्त्वपूर्ण हो ।

धनुषा क्षेत्र ४ मा के–कस्ता एजेन्डामा मत माग्दै हुनुहुन्छ ?
–म त्यहाँ मतदाताहरूको घरमा जाँदा विगतका जनप्रतिनिधिबाट ठगिएको गुनासो धेरै सुनेँ । जनप्रतिनिधिहरू चुनाव जितेर गएपछि जनताको घरदैलोमा फर्केर गएका छैनन्, मन्त्री भए पनि जनताका लागि कुनै किसिमको सहयोग छैनन् । विकास निर्माणका कामहरू सो क्षेत्रमा भएकै छैनन् । क्षेत्र जनप्रतिनिधिविहीनजस्तै भएको गुनासो मतदाताले गरेका छन् । क्षेत्रमा घुम्दा जनताको थुप्रै पीडाहरू मैले महसुस गर्न पाएँ । ती पीडाहरू कम गर्ने प्रयास गर्नेछु । र अर्को कुरा जनताले जितेर गएका सांसदको पनि व्यवहार देखिसकेका छन्, चर्चित नेताको पनि । जनताले विकासको ‘व’ पनि पाउन सकेकाे छैन भने व्यवहारको त कुरै नगरौँ ।

मेरो पहिलो प्राथमिकता भनेकै कृषि हो । यो क्षेत्रको जनताको अझै पनि कृषि कर्म मुख्य पेसाको रुपमा रहेको छ । म आफैँ पनि कृषि क्षेत्रबाटै सहसचिव भएर रिटायर्ड भएर होला । कृषि मेरो प्राथमिकतामा छ । सायद जितेर गएका सांसदको पनि हुनुपर्ने थियो । तर यसो भएन जितेर गएकाहरु झन्डावाला गाडीमा घुम्ने फुर्सद भएन ।

किसानका लागि सिँचाइको व्यवस्था गरी कृषि सडक बनाउनुको साथै किसानका लागि बजारको व्यवस्था गर्ने एजेन्डाका साथ जनतामाझ गएको छु । कृषिलाई आधुनिकीकरण तथा व्यावसायिकरण गर्दै त्यसलाई रोजगारसँग जोड्ने काम गर्नुपर्छ । यो क्षेत्र शिक्षा र उद्योग व्यापारका लागि एकदमै महत्त्वपूर्ण छ । शिक्षामा यस क्षेत्रलाई थप सबल बनाउँदै लग्ने छु । म जितेपछि जसरी पनि यो क्षेत्र शैक्षिक हब बनाउने छु । महिला सशक्तिकरण पनि मेरो प्राथमिकतामा पर्ने छ । भने कलकारखाना र उद्योग व्यापारलाई थप संस्थागत गर्ने प्रयास रहनेछ ।

धनुषा ४ मा दुईजना ‘हेभी वेट’ नेताहरू प्रतिस्पर्धामा छन्, मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
–‘हेभी वेट’ कसरी र कुन आधारमा भन्नुभएको छ । शीर्ष नेतालाई मात्रै खुसी पारेर उहाँ ‘हेभी वेट’ बनेर हुन्छ र ? जनताको मतबाट हेभी भए पो ‘हेभी वेट’ नेता भन्न मिल्छ । मन्त्री बनेर ‘हेभी वेट’ भएर पनि मात्रै भएन नि जनतालाई पनि आभास हुनुपर्यो नि ।

र म यो क्षेत्रको लागि नयाँ नेता पनि होइन । यहीँ काँग्रेसको एमालेको विरुद्धमा मेरो परिवारको सातौँ पटकको उम्मेदवारी हो । सुरुको चार पटक मेरो स्वर्गीय भाई श्री कृष्ण यादवले उम्मेदवारी दिए । पछि कुलेखानी सवारी दुर्घटनामा मृत्यु भएपछि, दुई पटक मेरो भाई बुहारी अनिता यादवले उम्मेदवारी दिइन् । यो मेरो दाेस्राे पटक । यो क्षेत्रको जनतालाई म र मेरो परिवारभन्दा राम्ररी को चिन्ह सक्छ र ? यस क्षेत्रका जनतालाई म भन्दा पनि कोही उपयुक्त उम्मेदवार छ र ? यद्यपि म आफूलाई ‘हेभी वेट’ नेता भन्दिनँ । यो आमजनताले मान्ने या नमान्ने कुरा हो । म जनताको छोरा हुँ, जनताकै बिचमा छु र जीवनभर जनताकै बिचमा रहन्छु । म ठूला कुरा पनि गर्दिनँ । गरिब, किसान, मजदुरको कुरा गर्छु । जनताबाट चुनिएको कारण जनपक्षीय कुरा गर्छु । केन्द्रलाई खुसी पारेर ‘हेभी वेट’ ‘हेभी वेट’ को रट मलाई लगाउनु पनि छैन । गत निर्वाचनमा तेस्रो धेरै मतले होइन थाेरै मतले भएका हो । यसपाली त्यो पनि हिसाब हुनेछ ।

महाजन यादव एमालेसँग मिलेर उम्मेदवारी दर्ता गराएको आरोप छ, तपाईंको रघुवीर महासेठसँग साँठगाँठ छ भने चर्चा छ ?
– (हाँस्दै) यो विपक्षीको आधारहीन र नैतिकविहीन आरोप छ । कमजोर विपक्षी खासगरी कांग्रेसले यो ‘टेक्निक’ लगाएको हुनुपर्छ । गत निर्वाचन पनि उनले हार्न थालेपछि महाजन यादवले आफूलाई समर्थन गरेको भनेर हल्ला फिँजाइएकाे थियाे । यो वर्ष पनि उनले यहीँ हत्कण्डा अपनाइएको छ । गत निर्वाचनमा यहीँ कु–प्रचारले मेरो केही भोट पनि डाईभर्ट गरिएका थियो । यद्यपि मेरो ‘विनिङ भोट’ आएको थियो । तर यसपाली विपक्षीको यो हत्कण्डा काम लाग्ने छैन जनताले सबै बुझिसकेका छन् । यसपाली विपक्षीको कुनै हत्कण्डा काम लाग्ने छ । कुरा रह्यो एमालेलाई मलाई समर्थन नै गर्नु थियो भने यहाँ गठबन्धन टुट्नुको कुनै अर्थ रहँदैनथ्याे । जसपा–एमालेको खुल्ला चुनावी तालमेल छ म खुल्ला रुपमा समर्थन गर्दा पनि कसैले रोक्न सक्ने अवस्था भने छैन । यो सबै हावा र तथ्यहीन कुरा हुन् एमाले आफ्नो तरिकाले उम्मेदवारी दिएका छन् जसपाले आफ्नो तरिकाले ।

यस क्षेत्रमा मत माग्न पैसाको ठूलो चलखेल हुने गरेका विषय पनि बीचबीचमा चर्चामा रहन्छ नि ?
– हो यो चर्चा हैन यथार्थ हो, यो क्षेत्रमा पैसाकै चलखेलका कारणले मत किनबेच भएको मानिन्छ । दुई खेमाका नेता यहाँ पैसाबाला छ, पटक पटक मन्त्री भएका छन्, उनीसँग पैसा हुनु स्वभाविक पनि हो । तर म यो खेलमा पर्न चाहन्न । म मध्यमवर्ग परिवारको मान्छे हुँ, मलाई कसैले नेता बनाएको होइन, आन्दोलनको भट्टीबाट आएको नेता हो । जनताले पैसा लिएर दिएको मतको परिणाम पाइसकेका छन् । जनतालाई कहीँ न कहीँ पश्चाताप पनि छ । तर यसपाली जनताले यो सबैको हिसाब–किताब भने गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *