पीएम कप क्रिकेट : नेपाल पुलिस समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै कर्णाली प्रदेशलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा मधेश प्रदेशलाई १ सय ९१ रनले हराउँदै पुलिस समूह विजेता बनेको हो । पुलिसले दिएको २ सय ७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मधेशले २९ ओभर ३ बलमा अलआउट हुँदै ८२ रन मात्र बनायो । मधेशका लागि मोहमद आदील आलमले सर्वाधिक ४२ रन जोडे । मधेशलाई सस्तैमा समेट्न पुलिसका कुशल भुर्तेलले ५ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ७३ रन बनाएको थियो । पुलिसका लागि आरिफ शेख, अमित श्रेष्ठ र कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए । आरिफले ७३ रनको अर्धशतकीय इनिङ खेले भने अमित श्रेष्ठले ६५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५१ रनको अर्धशतकीय इनिङ खेले । मधेशका रुपेश सिंह र राजेश यादवले ३/३ विकेट लिए । आदील आलमले २ विकेट लिए । यस जितसँगै समूह ’बी’ को शीर्ष स्थानमा रहेको पुलिसले ४ खेलमा अपराजित रहदै ८ अंक जोड्यो । मधेशले ४ खेलमा ५ अंक जोड्यो । मधेशले पनि समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

त्यस्तै मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले दिएको २ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले २८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । यस समूहबाट एपीएफ ७ अंक जोडेर समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरिसकेको छ । आर्मीको जितले गण्डकी भने बाहिरिएको छ । कर्णाली पनि अंक विहीन रहदै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *