विश्वकप फुटबल : ब्राजिल स्पष्ट दाबेदार

काठमाडौँ । मध्यपूर्व राष्ट्रले पहिलो पटक आयोजना गर्न लागेको विश्वकप फुटबल विगतका संस्करणभन्दा धेरै अर्थमा फरक र विशेष हुनेछ । तर, मध्यपूर्वको एउटा सानो देशले सधैंभन्दा फरक हिउँदको समयमा गर्न लागेको विश्वकपमा एउटा कुरा भने विगतकै जस्तो हुनेछ । त्यो हो, यसपालि पनि उपाधिको दाबेदारमा विगतकै महारथीहरू स्थापित छन् । र, त्यसैमध्ये पनि ब्राजिल मुख्य दाबेदारका रूपमा कतार भ्रमणमा निस्कँदै छ । जहाँ दक्षिण अमेरिकी टोलीले फ्रान्सबाट उपाधि खोस्दै दुई दशकदेखिको युरोपेली दबदबामा पूर्णविराम लगाउन प्रयास गर्नेछ ।

८० हजार दर्शक क्षमताको लुसाइल रंगशालामा नोभेम्बर २० मा हुने उद्घाटन खेल तथा डिसेम्बर १८ मा हुने फाइनलमा मैदानी अवस्था कस्तो होला ? प्रतिस्पर्धी को होलान् ? उपाधि कसले जित्ला भन्ने विषय अहिले विश्वभरका फुटबल समर्थकको चासोको विषय बनेको छ ।

युरोपका सीमित धनी क्लबहरूले विश्वभरका उत्कृष्ट खेलाडीलाई अनुबन्ध गरेका छन् । विश्वकप खेल्न विभिन्न ३२ देशको प्रतिनिधित्व गर्दै कतार आउनेमा पनि तिनै युरोपेली क्लबका खेलाडीको बाहुल्य हुनेछ । यही कारण हो, हिउँदमा गरिन लागेको विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्नुभन्दा एक साताअघि मात्र युरोपको क्लब सिजनले विश्राम लिनेछ ।

विश्व खेलकुदकै सबैभन्दा आकर्षक महोत्सवको रूपमा स्थापित पुरुष विश्वकप मध्यपूर्वमा पहिलो पटक हुन लागेको हो । यस अर्थमा एसिया र मध्यपूर्वका लागि यो विशेष र विगतभन्दा फरक छ । तर २२औँ फिफा विश्वकपको विशेषता र फरकपन यत्तिमै सीमित हुने छैन ।

यो पहिलो पटक अंग्रेजी वर्षको अन्त्य (हिउँद याम)मा हुँदै छ । यसअघि १९३० को पहिलो संस्करणदेखि नै विश्वकप फुटबल वर्षको बीचमा अर्थात मेदेखि जुलाई बीचमा (वर्षा याम)मा हुने गरेको थियो ।

तर, वर्षको बीचमा कतारी मरुभूमिको प्रचण्ड गर्मीका कारण विश्वकप गर्न सम्भव देखिएन । यसलाई हिउँदमा सार्न फिफा सहमत भयो । हिउँदमा सार्ने विषयमा युरोपका ठूला क्लब तथा विभिन्न महादेशीय फुटबल महासंघ र राष्ट्रिय फुटबल संघहरूबीच पनि सहमति जुटाउनुपथ्र्यो । जुन काम फिफा र कतारी आयोजकले बडो धैर्यपूर्वक पूरा गरे ।

विश्वकप हिउँदमा सार्ने चुनौती पार लगाए पनि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा सहभागिता जनाउने टोलीहरूले तयारीका लागि विगत संस्करणहरूमा जस्तो लामो समय पाएनन् । विगतका संस्करण सबै देशका लिगहरू सकिएर दुई महिने विश्रामको समयमा हुने भएकाले राष्ट्रिय टोलीले तयारीका लागि पर्याप्त समय पाउँथे ।

क्लब फुटबलको सिजन चलिरहेकै कारण राष्ट्रिय टोलीले तयारीका लागि एक साताको मात्र समय पाउँदा यसपालि विश्वकपअघि निकै कम संख्यामा मात्र मैत्रीपूर्ण खेलहरू हुनेछन् ।

क्लबबाट खेल्दाको थकानमा कतारसम्म पुग्दाको लामो हवाई यात्राको थकाइ पनि थपिएपछि खेलाडीहरू विश्वकपमा घाइते हुने सम्भावना उत्तिकै बढ्ने छ । केही दिनपछि विश्वकपका कठिन खेलको थप थकानपूर्ण अनुभव बोक्दै क्लबमा फर्किनुपर्ने भएकाले खेलाडीमा घाइते हुनबाट जोगिनुपर्ने चुनौती हुनेछ ।

ब्राजिलले सन १९५८ मा बाहेक युरोपमा अहिलेसम्म भएका ११ संस्करणमा कुनै पनि युरोपबाहिरका टिमले विश्वकप जितेको इतिहास छैन । ठिक विपरीत युरोपबाहिर भएका १० संस्करणमा दुई पटक मात्र युरोपेली टिमले उपाधि जितेका थिए । अर्को महादेशमा गएर पनि उपाधि जित्ने युरोपेली टिम स्पेन र जर्मनी हुन् । स्पेनले २०१० मा दक्षिण अफ्रिका तथा जर्मनीले २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उपाधि उचालेका थिए ।

विश्वको सर्वाधिक लोकप्रिय खेलमा युरोप विश्वको बलियो शक्ति हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा गरेको विश्वकप ब्राजिलले जितेयताका सबै संस्करणमा उपाधि युरोपेली टिमले नै उचालेका छन् ।

चार वर्षअघि रुसमा बाजी मारेको फ्रान्स उपाधि रक्षाको लक्ष्यसहित कतार पुग्नेछ । जबकि थुप्रै समस्यासँग जुधिरहेको टोलीले २००२ को जस्तै नियति भोग्नुपर्न सक्नेमा समेत फुटबल पण्डितहरूले सचेत बनाएका छन् । २० वर्षअघि साबिक विजेताका रूपमा दक्षिण कोरिया पुगेको टोली पहिलो खेलमै सेनेगलसँग स्तब्ध भएको थियो । समूह चरणमा एउटै गोल समेत गर्न नसकेको फ्रान्स पहिलो चरणबाटै घर फर्किएको थियो ।

फ्रान्सेली टोलीमा प्रतिभाको कमी भने छैन । केलियन एमबाप्पे विद्युतीय गतिमा आक्रमण गर्नसक्ने विश्वकै सबैभन्दा प्रभावकारी आक्रामक खेलाडी हुन् । करिम बेन्जेमा भर्खरै जितेको बालोन डी’अर अवार्डबाट उत्साहित छन् ।

तर १९६२ मा ब्राजिलपछि विश्वकपमा कुनै पनि टिमले उपाधि रक्षा गर्न सकेका छैनन् । यो इतिहास फ्रान्सको पक्षमा छैन । साथमा खेलाडीहरूको चोट फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पसको ठूलो समस्या हो । चोटकै कारण डेसच्याम्पसले मुख्य मिडफिल्डरद्वय एनगोलो कान्टे र पाउल पोग्बाको अनुपस्थितिमै विश्वकपमा उपाधि रक्षा अभियानको नेतृत्व गर्नुपर्नेछ ।

युरोपका अन्य परम्परागत महारथीहरू पनि थुप्रै प्रश्नले घेरिएका छन् । युरो २०२० जिते पनि इटाली विश्वकपका लागि छनोट हुन सफल भएन ।

इंग्ल्यान्ड र जर्मनीको टोलीमा पछिल्लो समय फर्म र फिटनेसको समस्या छ । तर स्पेनलाई भने रक्षापंक्ति र आक्रमणमा तालमेल मिलाउन सकेको खण्डमा गम्भीर दाबेदार मान्न सकिन्छ ।

पोर्चुगललाई क्रिस्टियानो रोनाल्डोको साथ हुनेछ । तर, ३७ वर्षको उमेरमा उनीबाट ठूलो अपेक्षा गर्नु पक्कै उचित हुँदैन । बरू उनी आफ्नै टिमका लागि बोझमात्र साबित हुन सक्छन् ।

युरोपेली टिमको तुलनामा नेइमारको प्रेरणाका साथ कतार पुग्ने पाँच पटकको च्याम्पियन ब्राजिलको सशक्त टोली विश्वकपको बलियो दाबेदार हुनसक्छ । सँगै ब्राजिलको पुरानो प्रतिद्वन्द्वी अर्जेन्टिना पनि उत्कृष्ट तालमेलसहितको संगठित टिमका रूपमा कतार पुग्दैछ ।

‘अर्जेन्टिना र ब्राजिल यसपालि विश्वकपमा सहभागी हुने अरू टिमभन्दा धेरै माथि देखिन्छन्,’ हालैमात्र स्पेनका प्रशिक्षक लुइस इनरिकेले भनेका थिए ।

अर्जेन्टिना पछिल्ला ३५ खेलमा अपराजित छ । कतार विश्वकपमा दुवै टोली आ–आफ्नो समूहबाट शीर्षस्थानमा रहेर अगाडि बढे अर्जेन्टिना र ब्राजिलको भेट सेमिफाइनलमा मात्र हुनेछ ।

३५ वर्षको उमेरमा रहेका सुपरस्टार लियोनल मेसीका लागि विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि उचाल्नका लागि यो अन्तिम अवसर हुनेछ ।

‘३५ वर्षको भएर पनि विश्वकपमा जान पाउनु भनेको मेरो भाग्यको कुरा हो,’ क्लबका लागि असाधारण फर्म प्रदर्शन गरिरहेका पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार मेसीले भने, ‘म गत वर्षभन्दा अहिले शारीरिक रूपमा राम्रो अवस्थामा छु । फिट छु । तर ब्राजिल र फ्रान्स नै प्रतियोगिताका मुख्य दाबेदारहरू हुन् ।’

प्रतिक्रिया

One thought on “विश्वकप फुटबल : ब्राजिल स्पष्ट दाबेदार

Leave a Reply

Your email address will not be published. Required fields are marked *