किन सेलाए बालेन शाह ?

केही समय अत्याधिक चर्चामा छाएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह पछिल्लो समय सुस्ताएका छन् । ‘बालेन कहाँ हराए ?’ भनेर जनतामाझ बहस चलेको छ । बाटोमा डोजर देख्नेबित्तिक जनतालाई ‘बालेनको डोजर’ याद आउँथ्यो । तर, अहिले उनको डोजर कहाँ छ ? केही अत्तोपत्तो छैन । डोजर बिग्रियो कि बालेनले जानाजान लगेर ग्यारेजमा थन्काए ? यतिखेर बहसको विषय बनेको छ ।

बालेन ‘एक्सन’ मा उत्रिएपछि गलत काम गर्नेहरूको रातको निद्रा हराइसकेको थियो । सरकारी, सार्वजनिक र गुठीको जग्गा मिचेर घर बनाउनेहरूलाई बालेनकै त्रास थियो । कुन दिन डोजरले आफ्नो घर भत्काइदिने हो ? भनेर धेरैजसो चिन्तित थिए । अण्डरग्राउण्डमा मापदण्डविपरीत पसल सञ्चालन गर्नेहरूको पनि दिनको चैन हराइसकेको थियो । त्यस्तै, बाटो मिचेर अनधिकृत संरचना निर्माण गर्नेहरूको पनि होस उडेको थियो ।

बालेनको काम देखेर काठमाडौँवासी मात्र नभई देशभरका जनतामा उनको ‘क्रेज’ चलेको थियो । उनले सबैतिर एक किसिमको छाप नै बनाएका थिए । एकथरीले बालेनलाई पृथ्वीनारायण शाहको नाम दिएका थिए अर्कोथरीले बालेनलाई सुरक्षाको खाँचो छ भन्थे । चिया पसल, सार्वजनिक स्थान, चौताराहरूमा बालेनकै नाम सुनिन्थ्यो । माफियाहरूले बालेनलाई मार्छन् भन्नेहरू पनि भेटिन्थे ।

कोही भन्थे, बालेनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्दा धेरै सुरक्षा व्यवस्था मिलाउनुपर्छ । जे होस् हरेक जनताको मुखमा एउटै नाम थियो, बालेन । तर, केही समययता बालेनले आफ्नो कदम पछाडि हटाएका छन् । बालेनको नाम बिस्तारै हराउँदै गइरहेको छ । योसँगै जनताले दुईथरीका अड्कलबाजी लगाउन थालेका छन्,‘कि राजनीतिक दलको दबाबमा उनले काम रोकेको हुनुपर्छ कि त उनी चौतर्फी घेराबन्दीमा हुनुपर्छ ।’

बालेनको काम सुस्ताउँदाखेरि देशभरकै जनता पीरमा परेका छन् । कसैसँग नडराउने मेयर यतिखेर किन सेलाए ? चासोको विषय बनेको छ । काम नगर्ने नेताहरू अघिपछि सयौँ सुरक्षाकर्मी छन् । उनीहरू सुरक्षाकर्मीको घेराबन्दीभित्र हिँड्छन् । तर, बालेनको हकमा त्यस्तो छैन । उनको साथमा सुरक्षाकर्मी होइन, देशभरका जनता छन् । जनता नै साथमा भएपछि किन डराउने ?

बालेनको काम देखेर काठमाडौँका जनताको शिर उठेको छ । वर्षौँदेखि उठाउन नसकेको राजस्व बालेनले उठाएरै देखाए । राजस्व तीन गुणाले वृद्धि भएको छ । राजस्व छल्नेहरूलाई करको दायरामा ल्याए । दर्ता नगरी व्यवसाय सञ्चालन गर्नेलाई अनिवार्य दर्ता गर्न लगाए । फुटपाथ हटाएर पैदल यात्रीलाई सहज बनाइदिए । अतिक्रमण गरेका जग्गाहरू खोजतलास गर्न पनि उनी तातिए ।

टुकुचा खोला खोज्ने काम पनि शुरु भएको थियो । तर, अदालत र पुरातत्त्व विभागले रोकतोक लगायो । केही काम गर्न खोज्नेबित्तिकै माफियाको टोली अदालत र पुरातत्त्व विभाग पुगिहाल्छन् । अदालतले नभत्काउनु भनेर आदेश जारी गरिहाल्छ । यता, पुरातत्त्व विभाग आफू पनि काम नगर्ने अरूलाई पनि काम गर्न नदिने । माफियासँग अदालत र पुरातत्त्व विभागको मिलेमतो छ भनेर जनताले राम्रोसँग बुझेका छन् ।

सरकारी, सामुदायिक र गुठीको जग्गा फिर्ता ल्याउन खोज्यो कि अदालत तगारो बनिदिन्छ । हिजो खोलामाथि घर बनाउने बेला पुरातत्त्व विभाग के हेरेर बसेको थियो ? खोलामाथि घर बनाउन मिल्छ ? पुरातत्त्व विभागको काम ऐतिहासिक सम्पत्ति जोगाइराख्नु हो । तर, यहाँ त विभाग नै त्यसलाई मेटाउन लागिपरेको छ । टुकुचा खोज्नुपर्ने दायित्व त विभागको थियो । तर, विभागले त्यसो गरेन, बरु खोज्न अघि बढेका व्यक्तिलाई समेत रोक लगायो ।

अदालत र विभागका कर्मचारी जनताले तिरेको करबाट तलबभत्ता खान्छन्, अनि कामचाहिँ माफियाको गर्छन् । अदालतका न्यायाधीश, वकिल, सरकारी कर्मचारी र जग्गा दलालीको मिलेमतोमा सरकारी र गुठीका जग्गा व्यक्तिको नाममा गएको हो । यी सबै पैसामा बिकेका छन् । भनिन्छ नि,‘वकिलले पैसा पाएपछि कालोलाई सेतो र सेतोलाई कालो बनाइदिन्छ ।’

हाम्रो देशका नेता पनि उस्तै छन् । राजनीतिक दलका नेताहरू यतिखेर सुकुम्वासीको घरदैलोमा पुगेका छन् । सुकुम्वासी भनेर सरकारी जग्गा कब्जा गर्ने अनि राजनीतिक पार्टी को झोला बोक्ने । नेताहरू पनि तिनकै घरदैलोमा पुगेर लालपुर्जा बाँड्छौँ भनिरहेका छन् । आफ्नो घर जग्गाचाहिँ भाडामा लगाएर सरकारी जग्गा मिचेर बस्नेलाई लालपुर्जा बाँड्छौ भन्न नेताहरूलाई अलिकति लाज लाग्दैन ?

तिमीहरूको भोट चाहिँदैन, म निर्वाचित भएर आएपनि सुकुम्वासी हटाउँछौँ भनेर कुन नेताले बोल्न सकेको छ ? सरकारी सम्पत्ति आफ्नै होमजस्तै गरेर लालपुर्जा बाँडछौं भन्छन् । यस्ता नेताहरूले पनि देश बनाउलान् ? सरकारी सम्पत्तिको सदुपयोग यिनीहरूले गर्छन् ? राष्ट्रको सम्पत्ति मास्न नेताहरू नै लागिपरेका छन् । आफू चुनाव जितेर पदमा जान लागि सरकारी सम्पत्ति मास्न पाइन्छ ?

यस्ता नेताले भोलि देश नै बेचेर खाइदिन बेर लगाउँदैनन् । नेताहरूको यस्तै बानीव्यवहारका कारण बालेन काम गर्न पछि हटेको बुझिन्छ । महेश बस्नेत र मीन विश्वकर्माले त बालेनलाई खुल्ला चुनौती दिएका थिए । मिडिया र जनताको सामु बालेनलाइ थर्काउन उनीहरू पछि हटेनन् । यी दुईले बोलेको त जनतालाई स्पष्ट थाहा छ । भित्री रूपमा बालेनलाई कति दबाब दिएको होला ?

बालेनलाई केही भयो भने बस्नेत र विश्वकर्मालाई जनताले छोड्दैनन् । यिनीहरूको दबाबमा नपरीकन बालेन फेरिपनि ‘एक्सन’ मा आउनुपर्छ । जनता र राष्ट्रका लागि काम गर्ने व्यक्ति ढग्मगाउन हुँदैन । बालेनले काम गर्न ढिलो भइसकेको छ । बालेनले गरेको काम एकदम राम्रो छ । उनको दाहिने हात बनेर हिँडेका महानगर प्रहरी प्रमुख राजु पाण्डेको आँट पनि प्रशंसनीय छ ।

जनताले तिरेको करबाट तलब खाइसकेपछि डराउनु पाइँदैन, आफ्नो कर्तव्य पुरा गर्नैपर्छ । तर, ललितपुर र भक्तपुरको नगर प्रहरीहरू जनताले तिरेको करबाट तलबभत्ता खान्छन् अनि दिनभर घाम तापेर बस्छन् । दिन कटाउने र माना पचाउने काम भइरहेको छ । काठमाडौँ को महानगर प्रहरी त्यसरी खटिँदा अन्यलाई त लाज लाग्नुपर्ने हो । काम नगरीकन तलबभत्ता खान नैतिकताले दिन्छ ?

काम गर्न पनि नसक्ने, तलबभत्ता खान पनि नछोड्ने । भक्तपुरको सुर्यविनायक नगरपालिका अगाडिको श्रृजनानगर र सल्लाघारी जाने चोक पुरै फुटपाथ व्यवसायले ढाकिएको छ । सवारी दुर्घटना हुनेगरी फुटपाथ राखेपनि नगर प्रहरी चुइँक्क बोलका छैनन् । नगरपालिकाका मेयर वासुदेव थापाले फुटपाथ हटाउन निर्देशन दिएका छैन । वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार श्रेष्ठले पनि फुटपाथ हटाएका छैनन् ।

भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिकामा पनि उही समस्या छ । बरु, फुटपाथ व्यवसायसँग पैसा उठाएर खाइरहेका छन् । फुटपाथ खाली नगर्दा पैदलयात्री लाई साह्रो सास्ती भएको छ । सवारी दुर्घटना बढेको छ । यी चार नगरपालिकाका मेयरले सरकारी र गुठीको जग्गा खोजतलास गर्न चासो पनि देखाएका छैनन् ।

मोटो रकम लिएर मापदण्डविपरीत बनेका घरलाई सम्पूर्णताको प्रमाणपत्र दिइरहेका छन् । भक्तपुरका नगर प्रहरीहरू जतिखेर पनि गफ ठोकेर बसिरहेका हुन्छन् । घाम तापेर मस्तसँग गफिरहेका भेटिन्छन् । नगर प्रहरीले फुटपाथ नहटाउँदा शहर अस्तव्यस्त बनेको छ । जथाभाबी पार्किङ गरिरहेको देखिन्छ । भक्तपुर उपत्यकाभित्र पर्छ तर विकासमा निकै नै पछाडि छ ।

कतिलाई भक्तपुर जुम्लाजस्तै लाग्छ । यहाँका जनप्रतिनिधि र सांसदले केही पनि राम्रा काम गरेका छैनन् । खेतीयोग्य जमिन प्लानिङ गरेर बिक्रीवितरण गर्ने यहाँका जनप्रतिनिधिको मुख्य पेशा हो । दुई लाख आनामा किनेको जग्गा खण्डीकरण गरेर ५० लाखमा बेच्ने । यहाँ जति पनि वडाध्यक्ष, मेयर छन् सबै जग्गा दलालीबाटै आएका हुन् । जग्गा दलालीहरू वडाध्यक्ष, मेयर र सांसद बनेका छन् ।

अनि केको विकास हुन्छ ? यस्ताले सार्वजनिक काम गर्छ भनेर अपेक्षा राख्नु पनि गलत हो । भक्तपुर एकदमै फोहोरी जिल्ला हो । बाटोघाटो अत्यधिक फोहोर छ । अस्तव्यस्त बस्ती बसेको छ । दुई दशकअघिसम्म यहाँ हरियाली थियो । सबैतिर खुला ठाउँ थियो । खोलानाला पनि धेरै थिए । तर, अहिले त्यो कथाजस्तै भएको छ । खेतीयोग्य जमिन सबै मासेर घर ठड्याइयो ।

नदीनाला, कुवा, पोखरीपनि सबै मासिसकेका छन् । यो मास्ने यिनै राजनीतिक दलका नेता हुन् । काठमाडौँको सिको गर्दै अन्य नगरपालिका पनि अघि बढेको छ । तर, भक्तपुरका नगरपालिकालाई यसले केही फरक पारेको छैन । राम्रो काम गर्नेलाई जनताले जहिले पनि साथ दिन्छन् । नराम्रा काम गर्नेप्रति जनता जहिल्यै खनिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *