उपत्यकासहित पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद्ले जनाएका छन् । जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको मौसमविद्ले जनाएका छन् । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार आज राति देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । काठमाडौँ उपत्यकामा आज छिटपुटदेखि न्यून वर्षाको सम्भावना रहेको छ । ‘काठमाडौँ उपत्यकामा आज दिउँसो वर्षाको सम्भावना छ । छिटपुटदेखि न्यून वर्षा आज दिउँसोको समयमा काठमाडौँ उपत्यकामा हुने सम्भावना रहेको छ’, मौसमविद् श्रेष्ठले भने ।








