योगेश भट्टराई र बिना मगरलाई आयोगले स्पष्टीकरण सोध्यो

काठमाडौँ । निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा एमालेका उम्मेदवारका उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका नेकपा माओवादी केन्द्रका उम्मेदवार बिना मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड ख मा ‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने’ र खण्ड ण मा ‘निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने’ व्यवस्था छ ।
एमालेका सचिव भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका–३ सिकैचामा आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र उक्त विषय आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक भएको भनी उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो । माओवादी केन्द्रकी मगरले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा आचारसंहिता विपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको भनी उजुरी परेको थियो । ‘निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार भएको छैन भन्ने आधार कारण के छ ?’ स्पष्टीकरणमा भनिएको छ,।
‘तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको अवस्थामा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ३ र ४ बमोजिम कारबाही किन हुनु नपर्ने हो रु यो पत्र कुनै माध्यमबाट तपाईँलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्नुहुन निर्णयअनुसार अनुरोध छ ।’








