विश्वकप : समूह सी मा मेसी र लेवानडोस्कीमाथि नजर

काठमाडौँ । कतारमा हुने विश्वकप फुटबल नजिकिँदै गर्दा यस बारे विश्वभरका फुटबलप्रेमीहरुको चासो बढिरहेको छ । नोभेम्बर २० देखि शुरु हुने विश्वकप अन्तर्गत समूह सी मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड रहेका छन् ।

यस समुहको पहिलो खेल नोभेम्बर २२ मा अर्जेन्टिना र साउदी अरेबियाबीच नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि हुने छ । त्यस्तै दोस्रो खेल मेक्सिको र पोल्याण्डबीच राती ९: ४५ बजेदेखि हुने छ । त्यसैगरी यस समुहको तेस्रो खेल नोभेम्बर २६ मा पोल्याण्ड र साउदी अरेबियाबीच ६: ४५ बजेदेखि शुरु हुने छ भने चौथो खेल अर्जेन्टिना र मेक्सिकोबीच २७ नोभेम्बर राती १२: ४५ बजेदेखि हुने छ ।

त्यस्तै यस समूहको पाँचौँ खेल पोल्याण्ड र अर्जेन्टिनाबीच र छैटौं खेल साउदी अरेबिया र मेक्सिकोबीच डिसेम्बर १ मा राती १२: ४५ बजे हुने छ ।

अर्जेन्टिना
अर्जेन्टिना १८औँ पटक विश्वकप खेल्दै छ । अहिलेसम्म अर्जेन्टिनाले १९७८ र १९८६ मा दुई पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिना गत विश्वकपमा राउण्ड १६ सम्म पुगेको थियो । फिफा वरियतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिना लियोनेल स्कालोनीको प्रशिक्षणमा विश्वकप खेल्दै छ । अर्जेन्टिनाका पूर्व खेलाडी समेत रहेका ४४ वर्षीय स्कालोनी २०१८ देखि अर्जेन्टिनाको प्रशिक्षक रहेका छन् । उनको नेतृत्वमा अर्जेन्टिनाले अहिलेसम्म ४९ खेल खेलेको छ र ३३ खेलमा जित हासिल गरेको छ । स्कालोनीको नेतृत्वमा अर्जेन्टिनाले २०२१ को कोपा अमेरिकाको उपाधि जितेको थियो । अर्जेन्टिनालाई यस विश्वकपको प्रमुख दाबेदार मानिएको छ ।

अर्जेन्टिनाका लागि प्रमुख खेलाडी लियोनेल मेसी हुन् । सम्भवतः यो विश्वकप मेसीको अन्तिम विश्वकप हुनेछ । अर्जेन्टिनाको कप्तान समेत रहेका मेसीले अहिलेसम्म १६४ खेलमा ९० गोल गरेका छन् ।

साउदी अरेबिया
साउदी अरेबिया छैटौं पटक विश्वकपमा सहभागी हुँदै छ । अहिलेसम्म साउदी अरेबिया विश्वकप फुटबलमा १९९४ मा राउण्ड १६ सम्म पुगेको थियो । फिफा वरियतामा ५१औँ स्थानमा रहेको साउदी अरेबिया फ्रेन्च कोच हार्भे रेनार्डको प्रशिक्षणमा विश्वकप खेल्दै छ । रेनार्ड २०१९ देखि साउदी अरेबियाको प्रशिक्षक रहेका छन् । उनको नेतृत्वमा साउदी अरेबिया विश्वकपमा छनौट भएको छ भने अहिलेसम्म १८ खेलमा जित हासिल गरेको छ ।

साउदी अरेबियाका प्रमुख खेलाडीमा कप्तान सलमान अल फराज रहेका छन् । ३३ वर्षीय मिडफिल्डर सलमानले अहिलेसम्म ६८ खेलमा ८ गोल गरेका छन् ।

मेक्सिको
मेक्सिको १७औँ पटक विश्वकपमा सहभागी हुँदैछ । अहिलेसम्म मेक्सिको १९७० र १९८६ मा विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । हाल फिफा वरियतामा १३औँ स्थानमा रहेको मेक्सिको अर्जेन्टिनी प्रशिक्षक जेरार्डो मार्टिनोको प्रशिक्षणमा विश्वकप खेल्दै छ । मार्टिनो २०१९ देखि मेक्सिकोको प्रशिक्षक रहेका छन् । उनी यसअघि अर्जेन्टिना, बार्सिलोना, पराग्वे जस्ता टिमको प्रशिक्षक रहिसकेका छन् । उनको नेतृत्वमा मेक्सिकोले अहिलेसम्म ६१ खेलमा ४० जित हासिल गरेको छ ।

मेक्सिकोका प्रमुख खेलाडीमा नापोलीबाट खेल्ने फरवार्ड हिर्भीङ लोजानोलाई मान्न सकिन्छ । २७ वर्षीय लोजानोले मेक्सिकोका लागि ५९ खेलमा १६ गोल गरेका छन् ।

पोल्याण्ड
पोल्याण्ड नवौँ पटक विश्वकपमा सहभागी हुँदैछ । पोल्याण्डको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन सन् १९७४ र १९८२ विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । फिफा वरियतामा २६औँ स्थानमा रहेको पोल्याण्ड चेस्लव मिचनीएविन्चको प्रशिक्षणमा विश्वकप खेल्दै छ । उनी २०२२ देखि पोल्याण्डको प्रशिक्षक रहेका छन् ।

पोल्याण्डका लागि प्रमुख खेलाडी रोबेर्ट लेवानडोस्की हुन् । कप्तान समेत रहेका बर्सिलोनाबात खेल्ने ३४ वर्षीय लेवानडोस्कीले पोल्याण्डका लागि १३४ खेलमा ७६ गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *